प्रकाशित मिति : मङ्लबार, चैत्र १, २०७३
पोखराका किरण परियार र तारा घले गुरुङबीच सोमबार मण्डपबाटै विवाह भएको छ । दलित समुदायका किरण र जनजाति समुदायकी ताराको परिवारकै सहमतिमा विवाह भएको हो । पोखरा चाउँथेका किरण र सिर्जनाचोककी ताराले लामो समयदेखिको प्रेमलाई विन्ध्यवासिनी मन्दिरमा विवाहमा परिणत गरे ।
बेहुलीका बुबा तुलसी र आमा कृष्णकुमारी घले गुरुङले हिन्दु धर्मअनुसार सबै रीत पुर्याएर छोरीलाई अन्माए । बेहुलीकी आमा कृष्णकुमारीले समाजलाई सन्देश दिने कामको सुरुवात गर्न पाएकामा खुसी व्यक्त गरिन् । ‘मलाई सहजै लागेको छ,’ उनले भनिन्, ‘छोरीलाई आफ्नो घरबाट बिदाइ गर्दा दु:ख लागे पनि जातपातमा कुनै विश्वास छैन ।’ बेहुलीका बुबा तुलसीले छोरीको खुसीमा आफ्नो पनि खुसी मिसिएको बताए । बेहुलाका बुबा रामबहादुर परियारले आफूले चाहेकै कुरा पूरा भएको सुनाए । ‘अन्तरजातीय विवाह पनि मागी नै होस् भन्ने चाहेको थिएँ,’ उनले भने, ‘चाहेको कुरा पूरा हुँदा असाध्यै खुसी छु ।’
विद्यालयमा पढ्दा नै किरण र ताराको प्रेम बसेको थियो । एसएलसीपछि छुट्टाछुट्टै क्याम्पस पढेपनि निरन्तर भेटघाट हुँदै जाँदा प्रेम गाढा भएको किरणले बताए । होटल म्यानेजमेन्ट पढेका किरणले हाल टुर्स एन्ड ट्राभल्स चलाउँछन् । तारा जनप्रिय बहुमुखी क्याम्पसमा व्यवस्थापन विषयमा स्नातकोत्तर प्रथम वर्षमा अध्ययनरत छिन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij