प्रकाशित मिति : सोमवार, अशोज १९, २०८३
काठमाडौँ। गत भदौ १० गते आएको विनासकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी गरी चार वटा विद्यालय भवन पूर्ण रूपमा ध्वस्त हुनुका साथै ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्।
शिक्षा तथा समन्वय इकाई धुन्चेका अनुसार बेपत्ता हुनेहरूमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका २५, मालिकादेवी आधारभूतका ११, मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङका ८ र चिप्लेटी आधारभूतका १ जना विद्यार्थी रहेका छन्।
बाढीबाट प्रभावित अन्य विद्यार्थीको पढाइ निरन्तरताका लागि नजिकैका अन्य विद्यालयहरूमा बसोबासको प्रबन्धसहित वैकल्पिक पठनपाठनको व्यवस्था मिलाइएको छ। बाढीका कारण गोसाइँकुण्ड, आमाछोदिङ्मो, उत्तरगया र कालिका गाउँपालिकाका विद्यालयहरू प्रभावित भए पनि नौकुण्ड गाउँपालिकामा भने भदौ ११ गतेदेखि नै पठनपाठन नियमित रूपमा सञ्चालन भइरहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij