शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २१, २०८३



  • काठमाडौं। अमेरिकी डलर सस्तो मूल्यमा सटही गरिदिने प्रलोभन देखाएर लुटपाट तथा ठगी गर्ने एक जना अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी यस घटनाबारे विस्तृत जानकारी सार्वजनिक गरेको हो। प्रहरीद्वारा पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–8 मा बसोबास गर्दै आएका २८ वर्षीय तामाङ रहेका छन्।

    प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुले अनुसार तामाङले गत असोज २२ गते विभिन्न व्यक्तिहरूको मोबाइल नम्बरमा फोन सम्पर्क गरी आफूसँग ठूलो परिमाणमा अमेरिकी डलर रहेको र बजार मूल्यभन्दा निकै सस्तोमा सटही गरिदिने भन्दै प्रलोभन देखाएका थिए।

    पीडितहरूलाई पूर्ण रूपमा विश्वासमा पार्नका लागि उनले सुरुमा ५० अमेरिकी डलरको सक्कली नोटसमेत देखाउने गरेको पाइएको छ। सोही प्रलोभनमा परेपछि असोज २३ गते गोकर्णेश्वर नगरपालिका-१२ स्थित लसुनटार क्षेत्रमा बोलाई दुई जना पीडित व्यक्तिबाट आठ-आठ लाख रुपैयाँ गरी जम्मा १६ लाख नगद लिएर उनीहरू लुटपाट गरी नजिकैको जंगलतर्फ फरार भएका थिए।

    उक्त घटना लगत्तै फरार व्यक्तिको खोजी कार्यमा तल्लीन रहेको विशेष प्रहरी टोलीले कात्तिक १९ गते साँझ करिब ६ः४५ बजेको समयमा गोकर्णेश्वर नगरपालिका-३ गाम्चास्थित सडकखण्डमा तामाङलाई फेला पारेको थियो। पक्राउ गर्ने क्रममा अभियुक्त तामाङले कर्तव्य पालना गरिरहेका प्रहरी कर्मचारीमाथि नै चक्कु प्रहार गरी आक्रमण गरेका थिए, जसका कारण एक जना प्रहरी घाइते हुन पुगेका थिए।

    प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि चेतावनीस्वरूप एक राउण्ड हवाई फायर गरे पनि अभियुक्त कुनैपनि हालतमा नियन्त्रणमा नआएपछि तत्कालको गम्भीर परिस्थितिको मूल्यांकन गर्दै प्रहरीले उनको घुँडामुनि लक्षित गरी एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिन सफल भएको हो।

    गोली लागेर घाइते भएका तामाङलाई तुरुन्तै थप उपचारका लागि ट्रमा सेन्टर लगिएको र हाल उनको त्यहीँ उपचार भइरहेको प्रहरीले जनाएको छ।

    प्रहरीको रेकर्ड अनुसार तामाङ यसअघि पनि विभिन्न स्थानमा डलर देखाएर ठगी तथा लुटपाट गरेको गम्भीर आरोपमा आठ पटकसम्म पक्राउ परिसकेका र कानुनी कारባही भोगिसकेका रेकर्डेड अपराधी हुन्।

    उनीमाथि हाल काठमाडौंका स्वयम्भू, बुढानीलकण्ठ र साँखु लगायतका विभिन्न क्षेत्रमा सुन देखाएर सर्वसाधारणलाई ठगी तथा रकम लुटपाट गरेको आरोपमा समेत थप अनुसन्धान भइरहेको छ।

    प्रहरीका अनुसार तामाङले मुख्य योजनाकार भई एक संगठित समूह नै तयार पारेर उपत्यकाका विभिन्न स्थानमा यस किसिमका डलर ठगी तथा लुटपाटका घटनाहरू निरन्तर घटाउँदै आएका थिए। यस घटनामा संलग्न अन्य फरार व्यक्तिको खोजी कार्य पनि तीव्र पारिएको प्रहरीले प्रष्ट पारेको छ।

    यसरी गरिन्थ्यो योजनाबद्ध रूपमा ठगी

    प्रहरीको अनुसन्धानबाट यो गिरोहले ठगी धन्दा चलाउन अपनाउने अनौठो तरिका समेत बाहिर आएको छ। यो समूहले विभिन्न गेस्ट हाउस, रेस्टुरेन्ट, सुनचाँदी पसल, हार्डवेयर, मेडिकल, डेरी तथा होलसेल पसलहरूमा सञ्चारका लागि राखिएका होर्डिङ बोर्डका सम्पर्क नम्बरहरू संकलन गर्ने गरेका थिए।

    त्यसपछि पसल सञ्चालकहरूलाई फोन गरी पहिल्यैदेखि चिनजान भएजस्तो गरी मीठो बोलीमा कुराकानी गर्ने, आफ्नो व्यापारिक वा पारिवारिक समस्या देखाएर सहानुभूति बटulने र अन्त्यमा सस्तो मूल्यमा अमेरिकी डलर सटही गरिदिने भन्दै विश्वास दिलाउने गरेको पाइएको छ।

    यस गिरोहका सदस्यहरूले योजनाबद्ध रूपमा एक सदस्यलाई बोल्न नजान्ने वा लाटोको जस्तो भूमिका निर्वाह गर्न लगाएर पीडितलाई झन् बढी विश्वासमा पार्ने गरेका थिए।

    सुरुमा थोरै सक्कली डलर दिएर पठाएपछि उनीहरूले पीडितलाई प्रहरीको नजर नपुग्ने कुनै एकान्त क्षेत्र वा जंगल क्षेत्रमा बोलाउने गर्दथे। त्यहाँ पुगेपछि डलर सटही गर्ने बाहानामा उनीहरूले पीडितसँग भएको नगद खोसेर लुटेर भाग्ने गर्दथे।

    उनीहरूले डलर भनेर रुमाल वा कपडामा पोको पारी अगाडि र पछाडिको भागमा मात्र पाँच, दश र पचास अमेरिकी डलरका सक्कली वा नोटहरू राख्ने तथा बीचको भागमा भने डलरको आकारमा काटिएका सेता कागजका बन्डलहरू वा नेपाली २० रुपैयाँका नोटहरू राखेर ठग्ने गरेको प्रहरीले खुलाएको छ।

    यसरी ठगी तथा लुटपाट गरिसकेपछि उनीहरूले तत्कालै मोटरसाइकलको नम्बर प्लेट फेर्ने, आफ्नो हुलिया बदल्ने तथा निरन्तर रूपमा मोबाइल र सिमकार्डहरू समेत फेरिरहने गरेको अनुसन्धानबाट खुलेको छ।

    सीसीटीभी क्यामेराको पहुँच र निगरानीबाट टाढा रहेका नाङ्लेभारे, लप्सीफेदी, सुन्दरीजल, तारेभिर, शिवपुरी र नागार्जुन जस्ता एकान्त क्षेत्रलाई यो गिरोहले ठगीका लागि मुख्य रोजाइको क्षेत्र बनाउने गरेको पाइएको छ।

    मोटरसाइकल, नक्कली डलर र नक्कली सुन बरामद

    पक्राउ परेका तामाङको साथबाट प्रहरीले ठगी तथा लुटपाटको कार्यमा प्रयोग हुँदै आएको मोटरसाइकल र त्यसमा प्रयोग गरिने विभिन्न नक्कली नम्बर प्लेटहरू बरामद गरेको छ।

    यसका साथै नेपाली २० रुपैयाँका चार बन्डलहरू, अमेरिकी डलरको आकारमा काटी तयार पारिएको सेतो कागजको बन्डल, सो बन्डलको माथि र तल राखिएका पाँच अमेरिकी डलरका नोटहरू, एक किलो तौल भएको नक्कली सुनको ढिक्का तथा विभिन्न कम्पनीका मोबाइलहरू समेत फेला पारि बरामद गरिएको छ।

    तामाङ र उनीसँग आबद्ध अन्य व्यक्ति तथा आपराधिक घटनाहरूबारे जिल्ला प्रहरी परिसर काठमाडौंले थप अनुसन्धानलाई निरन्तरता दिइरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij