प्रकाशित मिति : मङ्लबार, कार्तिक २५, २०८३
काठमाडौँ । भारतमा सोमबारदेखि क्यान्सरसम्बन्धी १३७ औषधिहरू सस्तो भएका छन् । औषधि उत्पादक कम्पनीहरूले यी १३७ औषधिअन्तर्गतका एक हजार ३६४ प्रकारका फर्मुलेसन (औषधि रूप) का लागि नयाँ मूल्य सार्वजनिक गरेका छन्।
६७९ ब्रान्डका औषधिहरूको मूल्यमा ५० प्रतिशतभन्दा बढी कटौती गरिएको छ, जसमा सबैभन्दा बढी ९६.४५ प्रतिशतसम्म मूल्य घटाइएको छ। मूल्यमा गरिएको यस कटौतीले बिरामीहरूलाई वार्षिक करिब ३,५४०.३८ करोड रुपैयाँ बचत हुने अपेक्षा गरिएको छ।
यो कदम सेप्टेम्बर २२ मा सर्वोच्च अदालतले व्यक्त गरेको टिप्पणीपछि आएको हो। उक्त समयमा अदालतले क्यान्सरका औषधिहरूको ‘खुद्रा विक्रेता मूल्य’ र ‘अधिकतम खुद्रा मूल्य’ बीचको अन्तर (मार्जिन) माथि प्रश्न उठाएको थियो। अदालतले टिप्पणी गर्दै भनेको थियो कि २,७०० रुपैयाँ पर्ने औषधि बिरामीलाई २७,००० रुपैयाँमा बेच्नु भनेको “खुलेआम लुट” र “सामूहिक हत्या” सरह हो।
सर्वोच्च अदालतको चिन्तापछि, ‘नेसनल फर्मास्युटिकल प्राइसिंग अथोरिटी’ ले अक्टोबर १७ मा एक आदेश जारी गर्दै क्यान्सरसम्बन्धी १३७ ‘गैर-सूचीकृत’ औषधिहरूमा कम्पनीहरूको नाफाको सीमा ३० प्रतिशतमा सीमित गरिदियो। यही निर्णयका कारण औषधिहरूको मूल्य घटेको हो।
यी औषधिहरूको मूल्य घटाउने सिफारिस ‘डाइरेक्टोरेट जनरल अफ हेल्थ सर्भिसेज’ अन्तर्गत गठित एक विज्ञ समितिले गरेको थियो। उक्त समितिमा देशभरका प्रमुख क्यान्सर रोग विशेषज्ञ (ओन्कोलोजिस्ट), चिकित्सा विज्ञ, अस्पतालका विशेषज्ञहरू र सरकारी अधिकारीहरू समावेश थिए।
समितिले नाफाको सीमालाई तार्किक बनाउने उद्देश्यले यी १३७ औषधिहरू पहिचान गरेको थियो। यो सूची समय-समयमा अद्यावधिक (अपडेट) गरिँदै लगिनेछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij