प्रकाशित मिति : शुक्रबार, बैशाख १, २०७४
चन्द्रौटा (कपिलवस्तु) । आगलागीबाट सर्वस्व गुमाएका कपिलवस्तुको शिवराज नगरपालिका– १० शितलापुरका अग्नीपीडित यतिबेला विचल्लीमा परेका छन् । आगलागीले उनीहरुको बासस्थान नै खरानीमा परिणत भएको छ ।
वर्षभरिलाई थन्क्याएर राखेको अन्नपात सबै जलेर नष्ट भएको छ । जीउमा लगाएको एकसरो बाहेक घरभित्रको सम्पूर्ण सम्पत्ति नष्ट भएको छ ।
त्यहाँका तीन परिवारको त झनै बिजोग बनेको छ । छोरीको विवाहको तयारीमा रहेका तीन जना अग्नीपीडित परिवारले छोरीको विवाह कसरी गर्ने भन्ने चिन्तामा छन् । नन्हे रैदासले एकसातापछि बैशाख ६ गते छोरीको विवाहको तयारी गरेका थिए ।२ सय बढी घरधुरी रहेको उक्त बस्तीमा बीस वर्षअघि पनि आगलागी हुँदा पूरै बस्ती नै सखाप भएको थियो ।
“आगोले सर्वस्व लुट्यो, अब के गर्ने, बहिनीको विवाह कसरी सकाउने भन्ने पिरलोले सताएको छ”–दाजु पुजारी रैदासले चिन्ता व्यक्त गरे । रैदास परिवार जस्तै मन्नु पासी र मन्नान मियालाई पनि छोरीको विवाहका लागि जुटाएको सामान सबै आगोले छिनेपछि चिन्तित बनेका छन् । छोरीको विवाहका लागि सहयोग गरिदिन उनीहरुले प्रशासन तथा संघसंस्थासँग हारगुहार मागेका छन् ।
बुधबार दिउँसो साढे ११ बजे हावाहुरीसँगै मन्नान मियाको घरबाट सल्किएको आगोले शितलापुरबासीलाई रुवाउनु रुवायो । आगोले शितलापुरको दक्षिणी टोलको ५९ घरगोठ जले पनि वास्तविक ३५ घरपरिवार रहेको प्रशासनले अन्तिम डाटा निकालेको छ । प्रशासनको प्रारम्भिक तथ्यांकअनुसार ५० लाख बढीको क्षति भएको बताइएको छ ।
आगलागीबाट स्कूले बालबालिकाहरुको सम्पूर्ण किताब, कापी, विद्यालय पोशाक समेत जलेर नष्ट भएको बताइएको छ । २ सय बढी घरधुरी रहेको उक्त बस्तीमा बीस वर्षअघि पनि आगलागी हुँदा पूरै बस्ती नै सखाप भएको थियो । पुनः बीस वर्षपछि आगलागी हुँदा ३५ घरपरिवारको ५९ घरगोठ जलेर नष्ट भएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij