प्रकाशित मिति : बुधबार, असार ७, २०७४

योगको महत्वलाई दृष्टिगत गर्दै संयुक्त राष्ट्रसंघले तीन वर्षअघि हरेक वर्ष जुन २१ मा विश्व योग दिवस मनाउने घोषणा गरेको थियो ।
यूनेस्कोले समेत योगलाई आफ्नो अभौतिक सांस्कृतिक सम्पदाको रुपमा सन् २०१६ मा दर्ता गरेको छ ।
दिवसकै अवसरमा राजधानीको प्रदर्शनीमार्गमा आयोजित योग समारोहको शुभारम्भ गर्दै प्रधानमन्त्री शेरवहादुर देउवाले शारीरिक र मानसिक स्वास्थ्यको पूर्णताको लागि योगको अभ्यास आवश्यक रहेको बताए ।
बालबालिकादेखिनै योगको अभ्यास गराउन सकिए युवा पुस्ता कुलतमा फस्न सक्ने समस्याबाट जोगाउन सकिने प्रधामन्त्री देउवाले बताए ।
उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले योग शिक्षालाई नेपालको शिक्षामा अनिवार्य गर्न सरकारले गृहकार्य गरेको जानकारी दिए ।
नेपाल सरकार शिक्षा मन्त्रालय र पतञ्जली योग नेपालको अगुवाईमा गरिएको कार्यक्रममा विशिष्ट योग साधक, मन्त्री, सांसद, निजामती कर्मचारी, व्यवसायी, सर्वसाधारण सहभागि बनेका थिए ।
उपस्थित सबैलाई योगगुरु लवदेव मिश्रले योग सिकाएका थिए । यद्यपि, विहानैदेखि पानी पर्दा योगमा सहभागि भएकाले सास्ती ब्यहोर्नुपरेको थियो ।
योगको अर्थ जोड्नु हो । योग एक विशेष क्रिया हो, योगक्रियाले मानिसको चेतना र शरीरबीचको सम्बन्धलाई जोड्ने काम गर्दछ ।
मन र मस्तिष्कको सम्बन्धलाई योग भनिने र योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ ।
योगलाई ध्यानको आधार मानिन्छ, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्यता जस्ता योगका अनेकौं आयाम छन् ।
हजारौं वर्ष पहिले पतञ्जली नामका ऋषिले शुरुवात गर्नुभएको योगमा १९५ वटा योगसूत्र समाहित छन् ।
योगसूत्रको श्रेय भने आदियोगी भगवान् शिवलाई नै दिइन्छ ।
शिवबाट शुरुवात भएका योगविधाहरु क्रमशः सप्तऋृषिहरुमार्फत् पुस्तौं पुस्ता यात्रा गरेर हामीमाझ आइपुगेको विश्वास गरिन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij