शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पुरूष शुक्रकीट संख्या घट्दो, मानव जाति लोप हुनसक्ने वैज्ञानिकको चिन्ता

  • प्रकाशित मिति : बिहिबार, साउन १२, २०७४



  • पुरुषको शुक्रकीट संख्या जुन अनुपातमा घट्दै गइरहेको छ, त्यही क्रम जारी रहने हो भने संसारबाट मानव जातिको अस्तित्व नै धरापमा पर्ने एक वैज्ञानिक अनुसन्धानले देखाएको छ।

    विभिन्न मुलुकका पुरुषको शुक्रकीट संख्यामाथि गरिएका करिब दुई सय अनुसन्धानका आधारमा वैज्ञानिकहरु यस्तो निष्कर्षमा पुगेका हुन्।

    मानव शुक्रकीटमाथि अहिलेसम्मकै ठूलो शोध मानिएको यो अनुसन्धान क्रममा उत्तर अमेरिका, युरोप, अस्ट्रेलिया र न्यूजिल्यान्डका पुरुषलाई समेटिएको थियो।

    उनीहरुले सन् १९७३ देखि २०११ सम्मको अवधिमा १ सय ८५ अनुसन्धान गरेका थिए। यस आधारमा अनुसन्धानकर्ता तथा वैज्ञानिकहरु के निष्कर्षमा पुगेका छन् भने, पुरुषहरुमा शुक्रकीट संख्या दिनप्रतिदिन घट्दै गइरहेको छ। यो घट्दो दर कायम रहे मानव जातिको अस्तित्व नै धरापमा पर्न सक्ने भन्दै अनुसन्धानकर्ता तथा वैज्ञानिकहरुले गम्भीर चिन्ता र चासो व्यक्त गरेका छन्।

    अनुसन्धानकर्ताहरुले विगत ४० वर्षको अन्तरालमा ती देशका पुरुषको शुक्रकीट संख्या झन्डै आधा कम भएको हुनसक्ने निष्कर्ष निकालेका छन्।

    कतिपय वैज्ञानिकले यो निष्कर्षमा शंका गरे पनि अनुसन्धान प्रमुख डा. हागाइ लेभिनले आफू यसमा गम्भीर भएको बताएका छन्।

    ‘जसरी अनुसन्धानले पुरुषको शुक्रकीट घट्ने क्रम देखाएको छ, यसले मानव जातिको अस्तित्व भविष्यमा के होला भन्नेबारे निकै चिन्ता जगाएको छ,’ डा. लेभिन भन्छन्।

    महामारी विज्ञानसम्बन्धी शोध गर्ने वैज्ञानिक डा. लेभिनले यो क्रम जारी रहे मानव जाति लोप नै हुन सक्ने बताएका छन्। ‘हामीले प्रयोग गर्ने रसायन, जीवन बाँच्ने शैली–तरिका र वातावरणबारे पुनर्विचार नगर्ने हो भने हाम्रो भविष्य के होला भनेर म निकै चिन्तित छु,’ उनले भने, ‘यसले अन्ततोगोत्वा हामीले प्रजनन् सम्बन्धी समस्याहरु भोग्नुपर्ने हुन सक्छ। त्यसले मानव जातिलाई नै लोपको संघारमा पुर्याउन सक्छ।’

    उक्त अध्ययनमा प्रत्यक्ष संलग्न नभएका वैज्ञानिकहरुको भने यसबारे फरक मत छ। उनीहरुले अनुसन्धान प्रशंसनीय भए पनि त्यसकै आधारमा यस्तो गम्भीर निष्कर्षमा पुग्न नसकिने टिप्पणी गरेका छन्।

    जेरुसलेमको हिब्रु विश्वविद्यालयका डा. लेभिनले अध्ययन अवधिमा पुरुषको शुक्रकीट ५२.४५ प्रतिशत कम भएको पत्ता लगाएका छन्। उत्तर अमेरिका, युरोप, अस्ट्रेलिया र न्यूजिल्यान्डका पुरुषको कुल शुक्रकीट संख्या भने ५९.३५ प्रतिशत कम भएको पत्ता लागेको छ। यसबाट ती देशका पुरुषको शुक्रकीट संख्या घट्ने दर बढ्दो रहेको अनुमान गरिएको छ।

    अध्ययन क्रममा दक्षिण अमेरिकी, एसियाली र अफ्रिकी पुरुषका शुक्रकीट संख्यामा भने कमी नआएको पाइएको छ। यी महादेशमा पर्याप्त अध्ययन नभएकाले कुनै निष्कर्ष दिन नसकिने अनुसन्धानकर्ताहरुले बताएका छन्।

    डा. लेभिन भने यसमा पनि चिन्तित छन्। पुरुषको शुक्रकीट संख्या घट्ने दर बढिरहेकाले अध्ययन कम भएका महादेशमा पनि यही कुरा लागू हुनसक्ने उनको आशंका छ।

    पुरुषको शुक्रकीट संख्या घट्दो रहेको यस्तो वैज्ञानिक नतिजा पहिलोपटक आएको होइन।

    यसअघि भएका अनुसन्धानबाट पनि शुक्रकीटमा लगातार कमी आइरहेको पाइएको थियो। त्यो आँकडामा धेरै त्रुटि भएको भन्दै केही अनुसन्धानकर्ताहरुले टिप्पणी गर्दै आएका छन्।

    उनीहरुका भनाइमा ती अनुसन्धानमा समेटिएको नमूना संख्या कम छ। यस्तो निष्कर्षमा पुग्न जुन स्तरको बृहत अनुसन्धान हुनुपर्छ त्यो हदसम्म गएर शोध हुन नसकेको उनीहरुको भनाइ छ। त्यसमा तुलनात्मक रुपले थोरै पुरुषको मात्र शुक्रकीट अध्ययन गरिएको थियो। कुनै अनुसन्धानमा त प्रजनन् स्वास्थ्य क्लिनिक गएका पुरुषको शुक्रकीट संख्या मात्र मापन गरिएको थियो। त्यस्ता पुरुषमा स्वतः शुक्रकीट संख्या कम हुने सम्भावना बढी हुन्छ।

    पहिलेको तुलनामा अहिले शुक्रकीट संख्या कम भयो भन्ने जाँच पनि विश्वसनीय मान्न कतिपय तयार छैनन्। पहिले र अहिलेको मापन तरिका र संशाधन फरक भएकाले भरोसायोग्य नतिजा नआउने तर्क केही अनुसन्धानकर्ताले गरेका छन्।

    यी सबै कारणले डा. लेभिनको हालको अनुसन्धानमा संदेह व्यक्त गरिएको छ। संदेह व्यक्त गर्ने केही अनुसन्धानकर्तालाई छाडेर अन्यले भने यो नतिजा विचारणीय भएको बताएका छन्।

    किन हुँदै छ शुक्रकीटको संख्या कम?

    वैज्ञानिकका अनुसार शुक्रकीटको संख्या कम हुनुका कारण किटान गर्न नसकिए पनि अनुमानसम्म गरिएको छ। रसायन र प्लास्टिकको प्रयोग तथा सिधा सम्पर्क, मोटोपन, धूमपान, तनाव, चिन्ता, असन्तुलित खानपान र धेरै समय टिभी हेर्नु यसका सम्भावित कारण मानिएका छन्।

    प्रतिसाता २० घन्टाभन्दा बढी टिभी हेर्ने पुरुषको शुक्रकीट संख्या आधा कम हुने ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित लेखमा उल्लेख थियो। त्यस्तै, तातो तथा गर्मी ठाउँमा धेरै समय बिताउने, लामो दूरीका गाडी चलाउनेमा पनि शुक्रकीट कम पाइएको छ।

    डा. लेभिनले यो विषयमा गम्भीर हुनपर्ने तर्क गर्दै यसका प्रमुख कारण यथाशीघ्र पत्ता लाउनुपर्नेमा जोड दिएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij