प्रकाशित मिति : मङ्लबार, अशोज ४, २०७३
काठमाडौं । मुटुको उपचारमा ख्याति कमाएको काठमाडौको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले काठमाडौ वाहिर पनि सेवा विस्तार गर्ने भएको छ ।
गंगालाल अस्पतालको नामले चिनिने केन्द्रले अञ्चल अस्पतालहरुसँग समन्वय गरेर मुटुरोगको सेवा काठमाडौं वाहिर विस्तार गर्ने भएको हो ।
केन्द्रको संचालक समितिको मंगलबार बसेको बैठकले सेवा विस्तारका लागि आवश्यक काम अगाडि बढाउने निर्णय गरेको छ । संचालक समितिका अध्यक्ष रहेका स्वास्थ्यमन्त्री गगन थापाले मुटुरोगका विरामीहरुले काठमाडौ आउँदा धेरै खर्च व्यहोर्नुपर्ने भएकाले गंगालाल अस्पतालको सेवा जिल्लाहरुमा विस्तार गर्ने निर्णय गरेको जानकारी दिए ।
गंगालाल अस्पताललाई प्रतिष्ठानको स्वरुप समेत दिइने भएको छ । संचालक समितिका सदस्यहरुले मुटुरोगको उपचारका लागि दक्ष जनशक्ति उत्पादन गर्न अस्पताललाई प्रतिष्ठान बनाइनुपर्ने बताएपछि बैठकले यस विषयमा अवधारणा तयार पार्ने निर्णय गरेको छ । अस्पतालले तयार पार्ने अवधारणा अध्ययन गरेर आवश्यक निर्णय लिइने मन्त्री थापाले बताए ।
बैठकमा मुटुरोगको उपचारका क्रममा विरामीले सेवन गर्ने औषधीको मूल्य घटाउने विषयमा समेत छलफल भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij