प्रकाशित मिति : सोमवार, अशोज १०, २०७३
पोर्चुगल । डाक्टरहरुले गलत रोग भनेर खुट्याउँदा विगत ४३ वर्षदेखि ह्विलचेयरमा बस्न बाध्य पोर्चुगलका एक व्यक्ति फेरि हिँड्न थालेका छन् ।
मिडियामा आएको एक रिपोर्टका अनुसार रुफिनो बोरेगोलाई १३ वर्षको उमेरमा लिसबनस्थित अस्पतालले मस्कुलर डाइस्ट्रोफी नामक उपचार नहुने रोग लागेको बताएका थिए ।
त्यसपछि उनी ४ दशकसम्म ह्विलचेयरको साहरामा बाँच्न बाध्य भए । तर, सन् २०१० मा एक नशासम्बन्धि डाक्टरले उनलाई मांशपेशीसम्बन्धि अर्कै रोग म्यास्थेनिया रोग लागेको पत्ता लगाए ।
मांशपेशी कमजोर बनाउने यो रोगलाई दमका रोगीलाई दिइने उपचारले निको बनाउन सकिने ती डाक्टरले बताए । रोगपत्ता लागेको एक वर्षमा उनी पुनः पहिलो पटक हिँड्न सफल भए ।
‘हामीलाई त यो चमत्कारजस्तै लग्यो,’ एलान्ड्रोअलस्थित स्थानीय क्याफेका मालिक मानुएल मेलाओले भने ।
अहिले ६१ वर्षका बोरेगो अहिले सामान्य जीवन बाँची रहेका छन् । यद्यपि, उनले वर्षको दुईपटक भने फिजियो थेरापी गर्नुपर्ने हुन्छ ।
आफूलाई लामो समय ह्विलचेयरमा बस्न बाध्य बनाए पनि बोरेगो उक्त अस्पतालमाथि रुष्ट छैनन् । उनी भन्छन्, ‘सन् १९६० तिर म्यास्थेनिया रोगबारे कमैलाई थाहा थियो । अब म मेरो बाँकी जीवनको पूर्ण उपयोग गर्न चाहन्छु ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij