प्रकाशित मिति : बिहिबार, अशोज १३, २०७३
काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र कत्ति संख्यामा सामुदायीक कुकुर छन् भन्नेबारे महानगरपालिकाले यकिन तथ्यांक सार्वजनिक गरेको छ । काठमाडौं महानगरपालिका, ह््युमन सोसाइटी इन्टरनेशनल र द जेन गुडल इन्ष्टिच्युटको सहकार्यमा सञ्चालन भएको मनुमित्र कार्यक्रमले सहरका कुकुरको संख्या एकिन गरेको हो । तथ्याङ्क अनुसार महानगर क्षेत्र भित्र २१ हजार ८ सय ५६ वटा सामुदायिक कुकुरहरु छन् ।
तथ्याङ्कमा देखाइएका कुल कुकुरहरुको सङ्ख्यामध्ये ७ हजार ४ सय ३१ वटा पोथी कुकुर छन् । जसमा १ हजार ९ सय ६७ वटा पोथी कुकुरहरु बच्चालाई दुध चुसाउँदै गरेको अवस्थामा छन् । एउटा पोथी कुकरले एक सिजनमा १२ वटा सम्म बच्चा जन्माउने गरेको पाईएको छ । एकै सिजनमा यति धेरै बच्चा जन्माउन सक्ने क्षमताकै कारण तथा कुकुर व्यवस्थापनमा एकीकृत कार्यक्रम सञ्चालन हुन सकेको थिएन् ।
महानगरका ३५ वटा वडाहरुलाई ८ क्षेत्रमा विभाजन गरेर शुरु गरिएको मनुमित्र कार्यक्रमले पहिलो चरणमा सिंहदरवारलाई कुकुर व्यस्थित क्षेत्र घोषणा गरेको थियो । दोश्रो चरणमा भित्रि शहरका १४ वटा वडालाई समेटेर कुकुर ब्यवस्थापन कार्य शुरु गरिएको काठमाडौं महानगर पालिकाले जनाएको छ ।
दोस्रो चरण अन्तर्गत मनुमित्र कार्यक्रमले विभाजनन गरेको दुई नम्बर क्षेत्रमा ३ हजार २ सय ५१ वटा कुकुर छन् । त्यसमध्ये १ हजार ५ सय ६० वटा पोथी कुकुर रहेकोमा १ सय ९५ वटा बच्चालाई दुध चुसाउदै गरेका माउ कुकुर छन् । यस क्षेत्रमा महानगरका वडा नं. १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र ३० वडा समावेश छन् ।
महानगरका १३, १४ र १५ वडालाई क्षेत्र नं. १ मानिएको छ । यस क्षेत्रमा रहेका ३ हजार ५ सय २५ वटा कुकुरमध्ये ९ सय १६ वटा पोथी कुकुर छन् ।
त्यस्तै क्षेत्र नं. ३ मा, वडा नं. १, ११, ३१, ३२ र ३३ समाबेश छन् । यस वडामा रहेका २ हजार ८ सय ४४ कुकुरमध्ये ४ सय २६ वटा पोथी कुकुर छन् ।
वडा नम्बर १० र ३४ लाई समेटेर छुट््याइएको क्षेत्र नम्बर ४ मा भने १ हजार ९ सय १४ वटा साुमदायिक कुकुरहरु रहेकोमा ८ सय ६१ वटा पोथी कुकुर छन् ।
महानगरका वडा नम्बर ६, ७ र ८ लाई क्षेत्र नं. ५ मा राखिएको छ । यस क्षेत्रमा ३ हजार १ सय ३६ वटा कुकुरमध्ये ८ सय १६ वटा पोथी कुकुर छन् ।
क्षेत्र नम्बर ६ अर्थात् महानगरका वडा नं. २, ३, ४ र ५ मा रहेका २ हजार ३ सय १३ वटा कुकुरमध्ये ७ सय ४० वटा पोथी कुकुर छन् ।
महानगरको वडा नम्बर १६ र २९ अर्थात् क्षेत्र नम्बर ७ मा भने २ हजार ५ सय १६ कुकुर मध्ये ७ सय ८० वटा पोथी कुकुर छन् ।
क्षेत्र नम्बर ८ अर्थात वडा नंं. ९ र ३५ मा २ हजार ३ सय ५७ कुकुरमध्ये १ हजार १ सय ३१ वटा पोथी कुकुर छन् ।
यसरी हेर्दा ३,५२५ कुकुर रहेको क्षेत्र नं. १ सबै भन्दा बढी सामुदायिक कुकुर भएको क्षेत्रका रुपमा देखिन्छ भने, १,५६० पोथी कुकुर भएको क्षेत्र नं. २ सबैभन्दा वढी पोथी कुकुर भएको क्षेत्रका रुपमा देखिन्छ ।
अहिले महानगर क्षेत्रभित्र रहेका कुकुरमध्ये १ सय १० वटा कुकुर कुपोषणबाट र १ हजार १ सय ५९ वटा कुकुर छालाजन्य रोगबाट ग्रसित छन् । मानिस र कुकुरबीचको सम्बन्ध नजिक भएकोले रोगी कुकुरमा भएका रोग मानिसहरुमा सर्ने खतरा बढी छ । त्यसैले महानगरले सहरी व्यवस्थापनमा सामुदायिक कुकुरको कार्यक्रमलाई प्राथमिकता राखेको हो । यस अन्तर्गत सिंहदरबार क्षेत्रमा रहेका १२० वटा कुकुरलाई रेविज विरुद्धको खोप लगाएको र बन्ध्याकरण समेत गरिएको महानगरपालिकाले जनाएको छ ।
वडा नं. २०ः पहिलो कुकुर व्यवस्थित वडा
काठमाडौं महानगरपालिकाको २० नम्बर वडा पहिलो कुकुर व्यवस्थित वडा घोषित भएको छ । महानगरका ३५ वडाहरुमध्ये यो वडालाई दशौं विश्व रेविज दिवसको अवसर पारेर बिहीबार कुकुर व्यवस्थित वडा घोषणा गरिएको हो ।
घोषणा सभामा बोल्दै काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ्ले कुकुर व्यवस्थापनका लागि विगतमा अपनाइएको कुकुरको हत्या गर्ने कार्य गलत भएको धारणा राखे । कार्यक्रममा महानगरपालिकाका सहरी स्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले महानगरमा सामुदायिक कुकुरको संख्यालाई स्थिर बनाउन महानगर बहुबर्षिय योजनाबाट अघि बढेको बताए ।
कार्यक्रममावडा नम्बर २० कालागि वडास्तरीय पशु व्यवस्थापन समितिको संयोजक प्रशासकीय प्रमुख अञ्जली सिन्धुराकार, शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा. रमेशकुमार खरेल, नेपाल भेटेनरी काउन्सिलका रजिष्ट्रार्ड डा. नारायण घिमिरे, भेटनरी जनस्वास्थ्य कार्यालयका प्रमुख डा. बोधनाथ अधिकारीलगायतका वक्ताहरुले कुकुरबाट मानिस र मानिसबाट कुकुरलाई सुरक्षित बनाउन महानगरले थालेका कामलाइ दिगो बनाउनुपर्ने धारणा राखेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij