प्रकाशित मिति : शनिबार, अशोज १५, २०७३
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाइनुपर्ने मागसहित नवौं पटक आमरण अनसनमा वसेका शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौमा प्रदर्शन गरिएको छ ।
चिकित्सा शिक्षाका विद्यार्थी, विभिन्न पेशाकर्मी र सर्वसाधारणले शनिबार काठमाडौको माइतीघर मण्डलाबाट नयाँ वानेश्वरसम्म जुलुस प्रदर्शन गरेका हुन् ।
प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले स्वास्थ्य क्षेत्रको सुधारका लागि डा. केसीले उठाएका माग तत्काल सम्बोधन गरिनुपर्ने बताए ।
डा. केसीले चिकित्सा शिक्षा सम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाट पारित गरिनुपर्ने, अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग लगाइनुपर्ने, मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिइनुपर्ने र चिकित्सा शिक्षा सम्बन्धी कानून बनेपछि मात्र नयाँ मेडिकल कलेजको सम्बन्धन दिइनुपर्ने माग राखेका छन् ।
डा. केसीको माग अनुसार सरकारले मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संसद्बाट फिर्ता लिने निर्णय गरिसकेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij