बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

अन्नपूर्ण गापाले दलितसम्बन्धी पाठ्यक्रम लागू गर्ने

  • प्रकाशित मिति : शुक्रबार, असार २९, २०७५



  • कास्की, २९ असार (रासस)- कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा दलित र सिमान्तकृतका विषय समेटेर स्थानीय पाठ्यक्रम निर्माण र लागू गर्ने भएको छ ।

    गाउँपालिकाका निर्वाचित पदाधिकारी, सहयोगी विद्यालयका शिक्षक, पाठ्यक्रम विकास केन्द्रका विज्ञ, अनुसन्धानकर्ता र सरोकारवालाबीचको कार्यशाला गोष्ठीबाट सो निष्कर्ष निकालिएको हो ।

    समता फाउण्डेसन काठमाडौँको सहकार्यमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयको सामाजिक तथा सांस्कृतिक मानवशास्त्र अध्ययन संस्थानको अध्ययनबाट नमूना पाठ तयार गरी कास्कीका तीनवटा विद्यालयमा परीक्षण गरिएको थियो । अक्सफोर्ड विश्वविद्यालयबाट सञ्चालित उक्त परियोजनाको नेतृत्व प्रा डेविड गेल्नरले गर्नुभएको छ ।

    अन्नपूर्ण गाउँपालिकाको विशेष अनुरोधमा नयाँ पाठ परीक्षण भई सोको नतिजामाथि छलफल सम्पन्न भएको छ ।

    गोष्ठीमा अध्ययनको नतिजा, नीतिपत्र एवं अनुभव साटासाट गरिएको थियो । अक्सफोर्ड विश्वविद्यालयबाट अध्ययनलाई सहनेतृत्व गर्नुभएका डा कृष्ण अधिकारीले यसअघि सम्पन्न जात, वर्ग र संस्कृति अध्ययनको नतिजा प्रस्तुत गर्दै नेपालमा जातीय अन्तरसम्बन्धमा व्यापक परिवर्तन भएको र सार्वजनिक क्षेत्रमा छुवाछूत धेरै घटेको भए तापनि निजी मामलामा परिवर्तन हुन धेरै बाँकी रहेको बताउनुभयो ।

    नेपालमा दलितसम्बन्धी नीति दलित सशक्तीकरण, आरक्षण र सेवामा पहुँच बढाउनेतर्फमात्र केन्द्रित रहेको तर भेदभाव र छुवाछूत विषयका सामाजिकरूपले बहुआयामिक र बहुपक्षीय चरित्रमाथि न्यून ध्यान गएका कारण समस्या लम्बिन सक्ने अध्ययनले देखाएको डा अधिकारीको भनाइ छ । उहाँका अनुसार बहुआयामिक समस्याको बहुआयामिक समाधान खोजिनुपर्ने र जातीय भेदभाव र छुवाछूत हटाउन आम शिक्षामा जोड दिनुपर्ने निष्कर्षका साथ विद्यालय तहको पाठ्यक्रममै दलितसम्बन्धी पाठ परीक्षण गरिएको हो ।

    पाठ्यक्रम विकास केन्द्रका विज्ञद्वय सुरेशकुमार जोशी र विष्णुप्रसाद अधिकारीले स्थानीय पाठ्यक्रमसम्बन्धी विद्यमान सैद्धान्तिक तथा नीतिगत व्यवस्था, गुणस्तरीय शिक्षाका लागि संघीयतामा स्थानीय तहको बढ्दो भूमिकासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पाठ्यक्रमसम्बन्धी विकेन्द्रीकरणको नीतिगत व्यवस्था भएको धेरै वर्ष भए पनि हालसम्म अपवादबाहेक स्थानीय पाठ्यक्रमका अवधारणा राम्रोसँग लागू हुन सकेको छैन । संघीयता कार्यान्वयनमा आएसँगै पाठ्यक्रम निर्माणमा स्थानीय तहको भूमिका बढ्ने अपेक्षा गरिएको छ ।

    सो अवसरमा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले गोष्ठीको निचोड प्रस्तुत गर्दै नीतिगत प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अन्नपूर्ण क्षेत्रमा दलितको संख्या कूल जनसंख्याको आधा जति रहेकाले पनि दलितसम्बन्धी पठनपाठन गर्नु आफ्नो प्राथमिकता भएको अध्यक्ष कुँवरको भनाइ छ ।

    अध्यक्ष कुँवरले दलित तथा पहिचान गरिएका अन्य पाँच विषय (गुरुङ मातृभाषा, गाउँगत स्थानीय संस्कृति, पर्यटन, वैदेशिक रोजगार र कृषि तथा पशुपालन) मा क्षेत्रगत विशिष्टताका आधारमा पाठ्यक्रम विकास केन्द्र, अक्सफोर्ड विश्वविद्यालय र समता फाउण्डेसनको प्राविधिक सहयोग लिएर स्थानीय पाठ्यक्रम तयार गरी लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    समता फाउण्डेसनका अध्यक्ष प्रदीप परियारले अन्नपूर्ण गाउँपालिकाको अग्रसरता प्रशंसनीय भएको भन्दै दलित नेतृत्व विकासमा ठोस कदम चाल्न सुझाव दिनुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij