बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम मेलाको तयारी

  • प्रकाशित मिति : आइतवार, साउन ६, २०७५



  • बुटवल, ६ साउन (रासस)-रुपन्देहीको सैनामैना नगरपालिकाका– १ स्थित पर्रोहामा पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम (श्रावणी मेला ) को तयारी शुरु भएको छ ।

    प्राचीन एवं ऐतिहासिक शिव ज्योतिर्लिङ्गमा बोलबमको तयारीका लागि मन्दिर प्रवेशद्वारदेखि बजार व्यवस्थापन र जलार्पण गर्न विभिन्न उपसमिति निर्माण भएको पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामका अध्यक्ष रामबलि चौधरीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार फलफूल, नरिवल र पूजाआजाका सामग्री पाइने पसलका लागि रु ५०० देखि रु एक हजार ५०० सम्म शुल्क निर्धारण गरिएको छ । ज्योतिर्लिङ्ग नजीकै झण्डै २०० कक्ष तथा अन्य विभिन्न फुटकर पसल र ठेलासमेत रहने र उनीहरुका लागि रु १० देखि रु ५० सम्म शुल्क लिइने बताइएको छ ।

    मेलाका लागि २५० स्वयंसेवक परिचालन हुनेछन् । कृष्णपक्षदेखि श्रावण शुरु हुने भएकाले साउन ११ गते गुरुपूर्णिमादेखि श्रावण शुक्लपक्ष भदौ १० गते ऋषितर्पणी (जनैपूर्णिमा) सम्म एक महीना सञ्चालन हुने बोलबम मेलामा विशेष गरी भगवान् शिवजीलाई जलार्पण र रुद्राभिषेक गरिने पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामका मुख्य पुजारी चन्द्र नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार साउन महीना शिवको प्रिय महीना भएकाले शिवको पूजाआजा, आराधना र भजनकीर्तन गर्नाले रोगव्याधि नलाग्ने, संकट मोचन हुने र आयु लामो हुने धार्मिक विश्वास छ ।

    “रुद्राभिषेक भगवान् महादेवको मात्रै होइन सबै देवीदेवताको वैदिक मन्त्रमार्फत गरिन्छ”, उहाँले भन्नुभयो । पुजारी नेपालले शास्त्रीय प्रमाणका लागि ज्योतिर्लिङ्गको अध्ययनअनुसन्धान शुरु भएको उल्लेख गर्दै स्वयं उत्पत्ति भएको ज्योतिर्लिङ्गको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने तथा आरोग्य र ऐश्वर्य प्राप्त हुने बताउनुभयो ।

    सो ज्योतिर्लिङ्गमा भक्तजनले विभिन्न स्थानबाट वैदिक विधिले काँवर र कमण्डलुमा पवित्र गंगाजल उठाई बोलबम धाममा जलार्पण गर्ने प्रचलन छ । बोलबम जलार्पण एवं श्रावणी मेलाका लागि कपिलवस्तुका वाणगंगा, लक्ष्मणघाट, त्रिवेणीधाम र देवघाटधाममा पैदलयात्रा र रिडी रुरु क्षेत्रमा सवारी साधन यात्रा तय भएको छ । त्यहाँबाट जल उठाएर बोलबम धाममा जलार्पण गरिने छ ।

    सो ज्योतिर्लिङ्ग बोलबम धाममा शिव पाञ्चायन, गणेश पार्वती मन्दिर, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण मन्दिर, सन्तोषीमाताको मन्दिर, चन्द्रमा आकारको सरोवर, १०८ शिवलिङ्ग, ५.५ फिटको शिवमूर्ति र नागकुण्ड छन् । सो ज्योतिर्लिङ्ग बोलबम धाममा गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी, कपिलवस्तु, चितवन, काठमाडौँलगायत भारतबाट समेत भक्तजन सहभागी हुनेछन् । बोलबम धाममा चढाइएको भेटी एवं दान भौतिक पूर्वाधारका क्षेत्रमा खर्च हुने गरेको अध्यक्ष चौधरीले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij