बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

चिकित्सा शिक्षा विधेयक परिमार्जनसम्बन्धी सहमति केलाउँदै सांसदहरु

  • प्रकाशित मिति : शनिबार, साउन १२, २०७५



  • काठमाडौँ, १२ साउन  –  राष्ट्रिय चिकित्सा शिक्षा विधेयक परिमार्जनबारे सरकार र चिकित्सक डा गोविन्द केसीबीच भएको नौ बुँदे सहमतिलाई सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले मसिनो गरी केलाउन थालेका छन् ।

    चिकित्सा शिक्षामा दीर्घकालीन प्रभाव पर्न सक्ने भएकाले उक्त कानून बनाउँदा केसीसँगको सहमति र मुलुकको आवश्यकतालाई विश्लेषण गरी आफ्नो सार्वभौम अधिकार प्रयोग गर्ने तयारीमा सांसद्हरु लागेका हुन् ।

    सरकार र डा केसीबीच बिहीबार चिकित्सा शिक्षा र स्वास्थ क्षेत्रका विषयमा भएको नौ बुँदे सहमतिमा उल्लेखित ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ उपत्यकाका मेडिकल, डेन्टल र नर्सिङमा स्नातक कार्यक्रम सञ्चालनका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान नगरिनेलगायत विषय संशोधनमार्फत् विधेयकमा समावेश भई कानूनीरुप लिनुपर्नेछ ।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सहमति टेबुल गरेपछि विधेयक पेस गर्ने अनुमति माग्नुभएको थियो । अब बस्ने संसद्को बैठकमा विधेयक पेस भई सैद्धान्तिक छलफल हुनेछ । त्यसको ७२ घण्टाका लागि सदस्यलाई संशोधनको समय दिइनेछ । त्यसपछि सम्बन्धित समितिमा दफाबार छलफलका लागि जानेछ तर हालसम्म सम्बन्धित समिति गठन भएको छैन ।

    सहमतिपछि डा केसीले अस्पतालमा आधारित २७ दिनको आमरण अनसन तोड्नुभएकाले सत्तापक्ष र प्रमुख प्रतिपक्षका सांसदले सहमतिको स्वागत गर्दै अबको संसदीय प्रक्रियामा आफूहरु सामेल हुने बताएका छन् ।

    दुईतिहाइ समर्थन प्राप्त सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामनारायण विडारीले प्रतिपक्षले विधेयक पेस नगर्न भनी दिएको विरोधको सूचना फिर्ता लिएकाले अब कानुन निर्माणको सामान्य प्रक्रिया प्रारम्भ भएको र त्यसमा तोकिएको समयमा सांसदहरूले सहमतिबमोजिम वा अन्य विषय भएमा संशोधन हाल्न सक्ने बताउनुभयो ।

    रासससँग कुरा गर्दै कानूनका समेत जानकार राष्ट्रियसभाका सदस्य विडारीले भन्नुभयो, “विधेयकलाई कुन रुपमा पारित गर्ने भन्ने सदनको अधिकार हो । यसमा सदन बाहिरका मान्छेको कुरा सुन्न हुँदैन भन्ने होइन तर सार्वभौम अधिकार सदनको हुनेछ ।”

    ऐन जारीभएपछि बन्ने चिकित्सा शिक्षा आयोगले सम्बन्धनका लागि मापदण्ड बनाएर निर्णय गर्न सक्ने विधेयकमा व्यवस्था भएका उहाँले बताउनुभयो ।

    प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले आयोगको कार्यक्षेत्रमा सम्बन्धन पर्न सक्ने देखिए पनि डा केसीजस्ता नागरिक अगुवाको सहमति र सुझावविपरीत अन्यथा निर्णय हुन नसक्ने बताउनुभयो । उहाँले विश्वविद्यालयमा पदाधिकारी नियुक्ति र सम्बन्धन दिँदा राजनीतिक हस्तक्षेप नभई विज्ञता र मापदण्ड लागू होस् भनेर विगतमा त्रिभुवन विश्वविद्यालयमा केदारभक्त माथेमा उपकुलपति हुँदा र आफूहरु नेपाल प्राध्यापक संघको पदाधिकारी हुँदा पहल गरेपनि काठमाडौँ विश्वविद्यालयले राजनीतिक दबाबमा नेपालगञ्जको मणिपाल अस्पताललाई मेडिकल कलेज सम्बन्धन दिएपछि यस क्षेत्रमा विसंगति आरम्भ भएको टिप्पणी गर्नुभयो ।

    सांसद प्रधानले विगतमा आशयपत्र लिइसकेका मनमोहन मेडिकल कलेजलगायतले सरकारलाई सम्पत्ति हस्तान्तरण गर्न सक्ने वा आयोगले निर्णय गरेमा सम्बन्धन पाउन सक्ने सुविधा सहमतिमा देखिएको जनाउँदै यसबारे सदनमा छलफल हुने जानकारी दिनुभयो ।

    नेकपाका सांसद रामवीर मानन्धरले केसीसँगको सहमतिले मुलुक बनाउने सवालमा राज्य गम्भीर छ भन्ने देखाएको बताउँदै यसलाई संसद्ले आवश्यकताअनुसार परिमार्जन गरेर पारित गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विधेयक पारित गर्दा कुनै व्यक्तिले के पाउँछ भन्दा पनि राज्यले के पाउँछ भन्ने सवाललाई ध्यानमा राखिनेछ । संविधानको मौलिक हकको कार्यान्वयन अहिलेको आवश्यकता हो, त्यसमा हामी सचेत छौँ ।”

    नेकपाकै सांसद यज्ञराज सुनुवारले स्वास्थ्य क्षेत्रको सुधारभन्दा काँग्रेसको राजनीतिक स्वार्थ बढी हावी हुने गरी अनशनलाई लिइएकाले अल्पकालीन समाधानका लागि सहमति भएको दाबी गर्दै आगामी दिनमा डा केसी अनशनमा बस्न नपर्ने र नमिल्ने गरी प्रबन्ध गर्नुपर्ने प्रतिक्रिया दिनुभयो । जनताको चाहनाअनुसार शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन सदनले गर्नुपर्ने भूमिका निर्वाहका लागि सांसद तयार रहेको उहाँले बताउनुभयो ।

    नेपाल कम्युनिष्ट पार्टीले शुक्रबारको संसदीय दलको बैठकमा सहमतिबारे सांसदहरुलाई अवगत गराएको थियो । (श्रव्य सामग्री उपलब्ध छ ।)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij