प्रकाशित मिति : बुधबार, साउन २३, २०७५
गौशाला, २३ साउन – महोत्तरी मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँका रञ्जीत ठाकुरले बालविवाह गरी यातना दिँदै आएका एक नाबालिकाको जिल्ला प्रहरी कार्यालयले उद्धार गरेको छ ।
ठाकुरले गत असार ११ गते जिल्लाकै जलेश्वर नगरपालिका–५ पर्सापतैलीबाट करिब १५ वर्षीया नाबालिकासँग भारतमा गएर दोश्रो विवाह गरेको थियो । विवाहपछि ठाकुरले ती नाबालिका पत्नीलाई कुटपिट, अश्लील गालीगलौजलगायत यातना दिँदै आएको थियो । मंगलबार पुनः चरम यातना दिएपछि नाबालिका उनको घर छोडी भागेको थियो ।
पतिको चरम यातना सहन नसकेर घर छोडी भागेकी नाबालिकालाई प्रहरीले उनकै छिमेकबाट उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । ती नाबालिकासँग सोधपुछ र आवश्यक अनुसन्धानको कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।
घटनापश्चात् नाबालिकाका पति रञ्जीत ठाकुर घरबाट भारततर्फ फरार भएका छन् । प्रहरीले ठाकुरको व्यापक खोजतलास गरिरहेको र उनीमाथि बालविवाहको मुद्दा चलाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।
यसअघि पनि रञ्जीतले भारतमा विवाह गरेको एक युवती (पहिलो पत्नी) लाई चरम यातना दिएपछि उनी घर छाडेर हिँडेको र उनको हालसम्म कुनै अत्तोपत्तो नरहेको स्थानीवासीको भनाइ छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij