आइतबार एन्फिल्डमा भएको खेलमा वेस्ट ह्यामलाई ४-०ले हराएर आफ्नो मर्सिडिजमा फर्किदा उनका प्रशंसकले भिडियो खिचेका थिए।
सो खेलमा उनले पहिलो गोल गरेका थिए।
फेसबुकमा भाइरल भएपछि सोमबार प्रहरीले उनको भिडियोबारे आफूलाई जानकारी आएको बताएको छ। लिभरपुलले सो घटनाको पुष्टि गर्दै सलाहसँग कुरा गरेर क्लबले आफैं भिडियोबारे छानबिन गर्न प्रहरीलाई अनुरोध गरेको जनाएको छ।
बेलायती कानुनअनुसार गाडी चलाउँदा, जाममा पर्दा वा ट्राफिक लाइटमा रोकिँदा मोबाइल चलाउन पाइँदैन।
भिडियोमा सलाहले सुरूमा एक हातले स्टेरिङ र अर्को हातले मोबाइल चलाएको देखिन्छ भने पछि ट्राफिक लाइटमा कुर्दा दुबै हातले मोबाइल चलाएका छन्।
लिभरपुलका प्रवक्ताले सलाहसँगको सल्लाहपछि मर्सिसाइड प्रहरी चौकीमा भिडियोको अनुसन्धान गर्न भनिएको र यसको फ्लोअप पनि गर्ने बताएका छन्।
प्रहरीले भिडियो फुटेज सम्बन्धित शाखामा पठाइसकिएको जनाएको छ।
बेलायतमा गाडी चलाउँदा मोबाइल चलाएको कसुरमा २ सय पाउन्ड जरिवाना हुन्छ।
इजिप्टका स्टार सलाहले यो वर्ष लिभरपुलसँगको सम्झौतालाई पाँच वर्षका लागि नवीकरण गरेका थिए। उनी लिभरपुलका सबैभन्दा धेरै कमाउने खेलाडी हुन्।