बुधबार महानगरीय ट्राफिक महाशाखाले सुन्धारामा विशेष कार्यक्रम गरी राजधानीमा भाडाका ट्याक्सी चलाउने ड्राइभरका लागि अँध्यारोमा टल्कने र टाढैबाट प्रष्ट देखिने ‘फ्लोरेसेन्ट ज्याकेट’ अनिवार्य लगाउनुपर्ने व्यवस्था लागू भएको जनाएको हो।
महानगरिय ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि ड्रेस लगाउनुपर्ने व्यवस्था सुरू भएको भए पनि पर्याप्त ड्रेस तत्काल संभव नहुने भएकाले एक महिनाको समय दिएको छ।
एक महिनाभित्र सबै ट्याक्सी ड्राइभरले ड्रेस नलगाए कारबाही हुने वरिष्ठ प्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिए।
उनले ड्रेसले व्यवसाय र व्यवसायीलाई अनुशासित बनाउनुको साथै यात्रुलाई पनि सुविधा पुग्ने विश्वास व्यक्त गरे।
यात्रुलाई गलत व्यवहार गरेको पाइएमा ट्याक्सीभित्र राखिएको नम्बरका आधारमा ट्रेस गरी त्यस्ता ड्राइभरलाई कानूनी कारबाहीको दायरामा ल्याइने उनले बताए।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अनिवार्यरूपमा ड्रेस लगायत पेशागत मर्यादा र अनुशासन देखाउन ट्याक्सी चालकहरूलाई निर्देशन दिए।
उनले पूर्वाधार, उपयुक्त पार्किङको व्यवस्था मिलाउन ट्राफिक प्रहरी र आवश्यक मिटर उपलब्ध गराउन सरकारसग माग गरे। माग अनुसारको मिटर उपलब्ध नगराइ मिटर नराखेको भन्दै ट्याक्सी चालकहरूलाई कारबाही गर्ने प्रवृत्तिको अन्त्य गर्न पनि उनले ध्यानाकर्षण गराए।
सरकारले ट्राफिक कार्यालयहरू र यातायात व्यवसायी राष्ट्रिय महासंघको समन्वयमा काठमाडौं उपत्यकासँगै देशभर भाडाका ट्याक्सी चलाउने सवारी चालकलाई ड्रेस कोड अनिवार्य गर्ने भएको छ।