प्रकाशित मिति : बुधबार, अशोज २६, २०७३
शासकीय कौशलको अभाव र अति महत्त्वाकांक्षाले गर्दा नेपाली राजनीतिको बाटो कहिल्यै सरल रेखामा हिँड्न सकेन। त्यस्तै महत्त्वाकांक्षी र अदूरदर्शी बडामहारानी थिइन् राजा राजेन्द्रविक्रम शाहकी कान्छी महारानी राज्यलक्ष्मी। विसं १८९८ मा सौता साम्राज्यलक्ष्मीको मृत्यु भएपछि उनी युवराज सुरेन्द्रलाई हटाएर आफ्ना छोरा रणेन्द्रविक्रमलाई राजा बनाउने अभियानमा लागिन्।
३१ भदौ १९०३ को कोतपर्वमा जंगबहादुरलाई सहयोग गरेकी राज्यलक्ष्मी आफ्ना छोरालाई राजा बनाउने अभियानमा जंगबहादुरले सहयोग नगरेपछि क्रुद्ध थिइन्। त्यसैको बदला लिन उनले १७ कात्तिक १९०५ मा भण्डारखाल पर्व रचिन्। आफूविरुद्धको षड्यन्त्र थाहा पाएका चतुर प्रधानमन्त्री जंगबहादुरले त्यसपछि रानी राज्यलक्ष्मी, राजा राजेन्द्रविक्रम र छोराहरू रणेन्द्रविक्रम र वीरेन्द्रविक्रमलाई काशी निर्वासनमा पठाइदिए।
बनारस निर्वासनमा पुगेकी नेपालकी रानीले कतिसम्म दुःख भोगिन् भन्ने तथ्यको प्रमाण नेपालले फेला पारेको छ, १ सय ६२ वर्षअघिको हस्तलिखित पत्र। साउन १९०८ मा निर्वासनमा रहेका बेला रानी राज्यलक्ष्मीले तत्कालीन प्रधानमन्त्री जंगबहादुरलाई लेखेको पत्रमा आफ्ना काहिँला छोरा वीरेन्द्रको विवाह भारतीय राज्य तुलसीपुरका शाही खलककी छोरीसँग गर्न आँटेको प्रसंग पत्रमा उल्लेख छ। पत्रमा उनले त्यति बेला जति मितव्ययी हुँदा पनि महिनाको नौ सय रुपियाँ खर्च हुने गरेको र आफूसित पैसा सकिनै लागेको उल्लेख गरेकी छन्। लेखेकी छन्, “यहाँ पानी पनि किनेर खानुपर्ने रै’छ।”
पत्रको सिरानमा श्री ५ महाराज १ भनेर पदच्यूत राजा राजेन्द्रविक्रम शाहलाई भनिएको छ भने श्री ५ महाराजधिराज ३ भनेर वहालवाला राजा सुरेन्द्रविक्रम शाहलाई भनिएको छ। त्यस्तै श्री साहेवज्यादा ४ भनेर वीरेन्द्रविक्रम शाहलाई भनिएको छ। छोराको बिहेका लागि आवश्यक खर्च जंगबहादुरसँग माग्नु नै पत्रको मूल उद्देश्य हो। रानी राज्यलक्ष्मीले बिहेमा बन्दुक र तोप पड्काउनका लागि आवश्यक बन्दुक तत्कालीन भारतमा शासन गररिहेका अंग्रेज शासकसित मागेर उपलब्ध गराइदिन अनुरोध गरेकी छन् भने जन्ती जानका लागि चाहिने २० देखि २५ वटा हात्ती नेपालबाटै पठाइदिनसमेत अनुरोध गरेकी छन्। उनले त्यतिका धेरै हात्ती बिहेपछि आफूले पाल्न नसक्ने हुँदा नेपाल नै फिर्ता पठाइदिने कबुल पनि गरेकी छन्।
हस्तलिखित यो पत्रको सिरानमा ‘श्रीष्ट देवताचरण श्री राज्यलक्ष्मीदेवी शरण’ लेखिएको छाप देख्न सकिन्छ, जसले यो पत्रको आधिकारकिता पुष्टि गर्छ। बिहेमा भनेजति खर्च गर्न नसके र हिन्दुस्तान अर्थात् तत्कालीन भारतमा आफ्नो इज्जत नरहने चिन्ता रानीको देखिन्छ। त्यसैले उनले याचनाको भावमा जंगबहादुरलाई लेखेकी छन्, ‘तिमीसँग मात्रै मेरो भरोसा छ, तिमीले पनि सहयोग गरेनौ भने हाम्रो इज्जत रहने छैन।’
श्री ५ महाराज श्री ५ महाराजधिराज
१ ३
श्रीसाहेबज्यादा राजा
४ २
स्वस्ति श्रीगिरिराजचक्रचूडामणि नरनारायणेत्यादि विविधविरुदावलिविराजमानमानोन्नत् श्री श्री श्री श्री श्री मन्महाराजाधिराजपटराज्ञी ———- स्वस्ति श्रीमहाराजकुमारकुमारात्मज श्री प्राईममिनिष्टर यान कम्यान्डर ईनचिफ जनरल जंगबहादुर कुवर राणाजीके आसिष उप्रान्त काहिला नानीको कुमारग्रह पनि उत्र्याको थियेन र कन्याको तलास गर्न लाग्याका थिञ्युं तुल्सिपुर वल्लंपूर माडा विजैपूरका राजाहेरुका मैया बढिरहृयाछन उस्मा पनि तुलसिपुरबाट ता तिलक साहिपाटालाई तगादा चाडै लागिहृयाछन नेपालका नाउलेार धाकले लाष रुपैयाको षर्च लाईकन पनि बात्साहि नेपालसितको साधि हो भनि तयारि गर्न लागिरहृयाछन् —१— का चार पुत्र हुन एक ता गिद्यनिसीं भया, अरु ३ जना ता बरोबर षर्चले षाधि भयोथ्यो कालले गर्दामा काहिला नानिको ता हिन्दुस्थानमा साधि हुन लाग्यो। नेपालमा भन्या अघि साबिकबमोजिमले नेर्भाह चल्दो हो यो हिन्दुस्थान त्यो नेपाल, तिमिजस्त्ाा बजिरका नेकनामीमा ञाहां भन्या पानि पनि षरिद गर्न पन्र्या देस अघिको साबिकभन्दा षर्चबर्च नवढाईदियेता ईज्जत हुर्मत रहन्याछैन ञहां मसितको गहना पोशाक कलहरिमा लिलाम नभयाको भया मामुलिभन्दा बढताको झिजो गन्र्या थिईन ञहां भन्या मैन्हाको नौ सय रुपैयाका भागले चाडबाड पनि बंद गरि साज बिहानको षर्चलाई कठिन पर्दा तिमिसित बारंबार झिजो गर्दैछौं –२— भन्याका बाबा मुल बजिर भन्याका आंमा यस्तो लौकित चल्याको छ ञहां मसित भयाको र नभयाको सबै तिमिदेषि छप्याको छैन षर्च गहना पोसाक तांहांबाट तिमिले ताकिति गरि नपठाईदिया ईज्जत रहृन्याछैन । साहेबान् राजा बाबु जानपैचानवालाहेरुलाई नआउ भन्नु हुन्याछैन जन्त जानालाई बिस पचिसवटा बढिया लायेकका हाति पठाईदिया काम सकियापछि हामी पालन सकन्याछौन ताही पठाईदिउला साधिमा चाहिन्या कुराको सिपाहि सवार पर्माना बढाईलाई तोप बन्धुक अंरेजसितको तिमिले भनि पर्माना गराईदिया बढिया होला दसैको टिकाको सायेत गरी तिलक साहिपाटा लाग्न्याछ माघमा बिभा हुन्या छ यस्तो षत्तम् भईरहेको छ । तिमिले सैइ सम्भार राषि यो साधि गरिदिनुपर्यो नतरता ईज्जत रहन्याछैन मेरो वजिर हो भनि भोरषा राष्थ्यौं षोई तव भनि मानिसहरुले भन्न नपाउन् मैले ता तिमिलाई मात्र लेष्या हुन्याछ भोरसा फगत तिम्रो मात्र छ तर –१— का छोरा –३— का भाई तिमिजस्ता वजिरका –४— ईज्जत राष्नु र नराष्नु तिम्रा हातमा छ बहुत क्या लेषु, तिमि जान्यैछौ
ईतिसम्वत्र १९०८ साल मिति श्रावणशुुदि ११ रोज ५ मुकाम बनारस् शुभम्
महत्त्वाकांक्षाको परिणाम
– दिनेशराज पन्त, इतिहासकार
आफ्ना मान्छेलाई सत्तामा पुर्याउनका लागि नेपालको इतिहासमा अनेक खेल मञ्चन भएका छन्। राजेन्द्रलक्ष्मी अत्यन्तै महत्त्वाकांक्षी रानी थिइन्। रोलक्रममा रहेका जेठी महारानीका छोरा सुरेन्द्रविक्रमलाई राजा हुन नदिएर आफ्नो छोरालाई राजा बनाउने उनको आकांक्षा थियो। त्यही उद्देश्यका लागि माथवरसिंह थापा आदिलाई शक्तिमा ल्याउने र आफ्नो अनुकूल नहुँदा तिनको अवसान गराउने काममा पनि राज्यलक्ष्मी लागिन्।
विसं १९०३ को कोतपर्वपछि जंगबहादुर राणाबाट त्यो काम गराउने लक्ष्यमा लागेकी राज्यलक्ष्मीले यथोचित सहयोग नपाएपछि भण्डारखाल पर्वको योजना बनाइन्। हनुमानढोका दरबार अन्तर्गत रहेको भण्डारखालमा जंगबहादुरलाई बोलाई मार्ने काममा राज्यलक्ष्मी लागेको कुरा चतुर जंगबहादुरले थाहा पाए र राज्यलक्ष्मीका मान्छेलाई मार्दै उनलाई २६ कात्तिक १९०३ मा निर्वासनमा पठाइदिए।
राज्यलक्ष्मीले सुरेन्द्रविक्रमको क्रमपूर्वकको राज्याधिकार स्वीकार गरेको भए त्यस बेला बहालवाला श्री ५ महाराजधिराज राजेन्द्रविक्रम शाहकी बडामहारानी भई नेपालमा शासन गर्न पाउने थिइन्। तर, उनको महत्त्वाकांक्षाले उनलाई सिध्यायो र आफ्ना नोकर जंगबहादुर राणालाई निर्वासनबाट याचनाका भाकामा चिट्ठी लेख्ने हैसियतमा उनलाई पुर्यायो।
यो पत्रबाट नेपाली शासक खलकमा आफ्नो हित राम्ररी बुझ्ने सामथ्र्य छैन र तिनमा सानातिना लोभ मात्र छ भन्ने प्रस्ट हुन्छ। राज्यलक्ष्मीले आफ्नो हैसियतभन्दा बाहिरको काम नगरेको भए १ सय ४ वर्षको राणा शासन आउने थिएन र शाह वंशका मानिस अधिकारविहीन भएर बस्नु पर्दैनथ्यो। यो ऐतिहासिक पत्र शाहवंशका मानिसले आफ्नै महत्त्वाकांक्षाका कारण कतिसम्म दुःख पाएका थिए भन्ने तथ्यको बलियो प्रमाण हो।नेपाल राष्ट्रिय साप्ताहिकबाट साभार
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij