प्रकाशित मिति : बुधबार, पुस २५, २०७५
स्याङ्जा — स्याङ्जाकी लोकगायिका विष्णु माझीले किन मुख ढाकिन् ? धेरैले यतिबेला प्रश्न गरेका छन् । उनी गुमनाम भएको समाचार आएसँगै जिल्ला प्रहरीले खोजी गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा आएकी लोकगायिका विष्णु माझी । तस्बिर : प्रतीक्षा/कान्तिपुर
आइतबार स्याङ्जा प्रहरीको सम्पर्कमा आएकी उनले मुखमा कालो मास्क र कालो पछ्यौराले टाउकोसम्म छोपेकी थिइन्। अपराध गरेका व्यक्तिको भन्दा उनको व्यवहार फरक थिएन। ओभरकोट र लुङ्गीमा सजिएकी उनको अनुहार कसैले चिन्न सकेन। सेलिब्रेटी गायिका विष्णु हो भनेर सँगै ओहोरदोहोर गर्ने प्रहरीले समेत चिन्न सकेनन्। अनुहार छोपेको उनको फोटो कान्तिपुर पत्रिका र अनलाइनमा छापिएसँग प्रश्न उठ्न थालेको हो।
सामाजिक सञ्जाल फेसबुकमा चारैतिर माझीकै चर्चा छ। उनी गायिका हुन् कि अपराधी? सञ्चारकर्मी राजकुमार सिग्देल फेसबुकमा लेख्छन्, ‘विष्णु माझी अभियुक्त जसरी पुलिसकहाँ पुगिछन्, मास्क लगाएर। उनी पीडित भनिएकाले पछिल्लो सार्वजनिक फोटोले धेरै प्रश्न अनुत्तरित लागे।’
स्याङ्जाकै एलपी ढकाल लेख्छन्, ‘उनी स्वेच्छाले भन्दा पनि दबाबमा अपराधीजस्तै बनेर हिंडिछन्। मुख देखाएर हिंड्न उनलाई स्वतन्त्रता छैन।’ उनी स्वरकी धनी छन्। उनले स्वर दिएका हरेक गीत चर्चाको शिखरमा पुग्छन्। यसो त उनलाई सार्वजनिक भइदिए, बाहिर आइदिए हुन्थ्यो भन्ने सबैको माग छ। सामाजिक सञ्चालमार्फत उनका फ्यानले सार्वजानिक गर्न यत्रतत्र माग गरिरहेका छन्। उनी भने यो कुरामा सरोकार राख्दिनन्।
उनी सार्वजनिक नहुनुमा स्याङ्जाका ज्ञानेन्दु पौडेलको बुझाइ छ, ‘सुन्दरमणि अपराधी हुन्। अहिलेको समयमा पनि केही जान्दिन भनेर बन्धक बनाउनु अपराधशिवाय अरू केही हुन सक्दैन। कलाकारलाई अंग्रेजी सिकाएर, आईटीमा पोख्त बनाएर अघि बढ्ने कि जान्दिन भनेर बन्धक बनाउने? कताकता धम्की पनि दिने गरेका छन् कि जस्तो लाग्न थाल्यो। सत्यतथ्य प्रकाश पार्न निरन्तर कान्तिपुर लागिरहोस्।’
विष्णु आइतबार स्याङ्जा आउँदा आफू खुसी र सुखी रहेको बताएकी थिइन्। आफू अनपढ भएकाले सुन्दरमणिको साथ लिनुपरेको उनको भनाइ थियो। गुमनाम हुनु आफ्नै खुसी रहेको उनले बताइन्। लक्ष्मण सापकोटाले फेसबुकमा यस्तो लेखे, ‘विष्णु माझीले व्यक्तिगत जीवन भन्न मिल्दैन, ऊ राष्ट्रको गहना हो। उसका बारेमा सबै कुरा नागरिकले थाहा पाउनुपर्छ।’ सबैको चासोको विषय बनेकाले पनि विष्णुको सत्यतथ्य बाहिरियोस् भन्ने सबैको माग छ।
आइतबार भएको छलफलमा प्रहरीले आवश्यक परे पुन: सम्पर्क गर्ने सर्तमा माझी दम्पतीलाई छाडेको थियो। विष्णुका श्रीमान् सुन्दरमणिले आफ्नो छुट्टै लक्ष्य भएकाले पूरा नहुँदासम्म सार्वजनिक नहुने बताएका थिए।
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला र जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालसँग कुराकानी गर्ने क्रममा समेत विष्णुले मुखबाट मास्क र टाउकोबाट पछ्यौरा उतारिनन्। एसपी लम्सालले अनुहारप्रति शंका लाग्यो भन्दै मास्क र पछ्यौरा हटाउन लगाएका थिए। अनुहारमा चाहिँ कुनै चोट, खत नभएको लम्सालले कान्तिपुरलाई बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij