मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कतै तपाईंलाई मिर्गौलाको पत्थरी छ कि ?

  • प्रकाशित मिति : बिहिबार, माघ ३, २०७५



  • पछिल्लो समय मिर्गौलाको पत्थरीका बिरामी बढिरहेको अवस्था छ । यसबारे आम सर्वसाधारणलाई सही जानकारी नभएको मात्रै होइन, कतिपयलाई भ्रम पनि छ । मिर्गौलाको पत्थरीबारे डा. दिलजान मंसूरले मिर्गौला तथा मूत्ररोग विशेषज्ञ डा. कृष्ण काजी भूमिसँग गरेको कुराकानीको सम्पादित अंश :

    साधारण भाषामा पत्थरी भन्नाले मिर्गौला, मूत्रनली वा मूत्रथैलीमा जम्ने एक किसिमको ठोस पदार्थलाई बुझिन्छ । पत्थरी शरीरका धेरै भागमा जम्न सक्छन् । जस्तै, पित्तको थैली, मूत्रनली । आज हामी यहाँ पिसाबसँग सम्बन्धित मूत्रनली, मिर्गौला तथा मूत्रथैलीमा हुने पत्थरीको कुरा गर्दै छौं ।

    मानिसले खाएको खानाबाट पाचन क्रियामार्फत जुन विकार तत्व निस्कन्छन्, ती तत्व र शरीरको मेटाबोलिजमबाट निस्कने विकारजन्य तत्वहरु प्राकृतिक रुपमा पिसाबमा घोलिएर निस्कन्छ । यो प्रक्रियामा कहिलेकाहीं विकारजन्य तत्व नघोलिएर थिग्रिन पुग्यो भने त्यो ठोस पदार्थको रुपमा मिर्गौलादेखि नली अथवा पिसाबको थैलीमा जम्न पुग्छ, त्यसैलाई पत्थरी भनिन्छ ।

    पत्थरी विभिन्न प्रकारका हुन्छन् । किनभने, पिसाबको पत्थरी विभिन्न तत्व मिलेर बनेको हुन्छ । जस्तो : क्याल्सियम फोस्फेट, म्यानेसियम, फोस्फोरसलगायत तत्व । त्यस्तै, युरिक एसिडको पत्थरी छुट्टै खालको हो । सिस्टिनबाट बन्ने पनि छुट्टै पत्थरी हो ।

    पत्थरीको कारण
    अझ स्पष्ट भनौं, हामीले खाएको खानामा हुने विकार तत्वहरु पिसाबमा घोलिएर निष्कासन हुनुपर्ने तर नहुँदा पत्थरी हुन्छ । विकार पिसाबमा नघोलिएर ठोस पदार्थको रुपमा किन जम्न पुग्छ त ? यसको कारण हो, पिसाबमा आएका विकार तत्व र पानीको सन्तुलन नमिल्नु । विकार तत्वभन्दा पानीको मात्रा कम हुन पुग्यो भने थिग्रिन्छ ।

    योबाहेक पटकपटक पिसाबको संक्रमण भइराख्यो भने पनि पत्थरी हुने सम्भावना हुन्छ । जन्मजातै कसैलाई पिसाबको नलीसम्बन्धी समस्या छ भने पनि पत्थरी हुने वा कुनै–कुनै पहिचान भइसकेका रोगहरु जस्तो, हाइ युरिक एसिड हुनेहरुलाई पनि पत्थरी हुने सम्भावना हुन्छ ।

    कसलाई हुन्छ ?
    पत्थरी कसलाई हुन्छ भन्ने प्रश्नमा भौलोगिक अवस्था वा विशेष मौसमलाई पनि हेरिन्छ । गरम वा सुक्खा मौसममा बस्नेहरुलाई पत्थरी हुन सक्छ । घाममा लामो समय काम गर्ने, तर शरीरलाई आवश्यक पानी नपिउनेहरुलाई पनि पत्थरी हुने सम्भावना रहन्छ । त्यस्तै, इनडोर फ्याक्ट्रीहरु, जहाँ उच्च तापमा काम गर्नुपर्ने हुन्छ, त्यहाँ काम गर्ने र शरीरलाई आवश्यक मात्रामा पानी नपिउनेहरुलाई पनि पत्थरी हुन सक्ने सम्भावना रहन्छ ।

    उमेर समूह हेर्दा २० देखि ५० वर्षसम्मका मानिसलाई पत्थरी हुने सम्भावना हुन्छ । त्यस्तै, महिलाभन्दा पुरुषलाई बढी हुने सम्भावना हुन्छ । सानो बच्चालाई पनि हुन सक्ने सम्भावना रहन्छ, तर ठूलोलाई भन्दा कम ।

    लक्षण
    पत्थरी भयो भनेर थाहा पाउन अलि गाह्रो छ । किनभने, सबै खालको पत्थरीको लक्षण देखिँदैन । साधारण लक्षण भनेको दुखाइ नै हो । मिर्गौलामा पत्थरी छ भने प्रायः मानिसलाई ढाडको दायाँ वा बायाँ भागमा मन्द किसिमको दुखाइ हुन्छ । अर्को, त्यही पत्थर मिर्गौलाबाट निस्केर पिसाबको नलीमा आएर अड्केपछि एकदमै छटपटिने किसिमको दुखाइ हुन्छ । मिर्गौलाकै पत्थरीका कारण हुने दुखाइ ढाडकै दायाँ–बायाँ भागमा हुन्छ, यदि मिर्गौलाबाट निस्केर पिसाब नलीमा आएको अवस्थामा दुखाइ नाइटोमुनि सर्छ ।

    त्यो दुखाइका कारण कतिपय बिरामी इमर्जेन्सी नै अस्पताल आउनुपर्ने हुन्छ । दुखाइ नै पत्थरीको प्रमुख लक्षण हो । दुखाइ बढ्न थालेको अवस्थामा तत्कालका लागि पेन–किलर त खान सक्छौं, तर हस्पिटल आउनैपर्छ । योबाहेक कसै–कसैमा पटकपटक संक्रमण भइरहने, कसैकसैमा पिसाबमा रगत देखापर्ने, यी पनि पत्थरीका सामान्य लक्षण हुन् । पत्थरको कारण मिर्गौलाको नली बन्द भएर त्यसमा कीटाणु फैलियो भने त्यसले उच्च ज्वरो पनि हुन सक्छ । पत्थरको कारण संक्रमण भएर पनि ज्वरो आउने सम्भावना हुन्छ । तर, ज्वरो पत्थरको मुख्य लक्षण होइन ।
    कसरी रोग पत्ता लगाउने ?

    पत्थरीको शंका लाग्यो भने सबैभन्दा पहिले पेटको सिटिस्क्यान गर्न सकिन्छ । तर, हाम्रो सन्दर्भमा सिटिस्क्यान अलिकति महँगो र यसको रेडियसन हाजार्ड वा विकिरण खतराका कारण पनि हामीले सुरुमै सिटिस्क्यान गर्दैनौं । त्यसैले सजिलो, सस्तो भिडियो एक्सरे वा पेटको अल्ट्रा साउन्ड गर्छौं ।
    यसरी पनि पत्थरी हो, होइन पत्ता लगाउन सकिन्छ । अथवा, साधारण एक्सरेबाट पनि पत्ता लाग्न सक्छ । अथवा, आइभियु पनि गर्न सकिन्छ, यो एक प्रकारको इन्जेक्सन लिएर गरिने एक्सरे हो । त्यसपछि पत्थरी भएको थप सुनिश्चित गर्नलाई कहिलेकाहीं सिटिस्क्यान पनि गर्नुपर्ने हुन्छ । तर, यो पनि भ्रम छ कि पिसाब र रगतको जाँचबाट पनि पत्थरी पत्ता लाग्छ, यो सही होइन ।

    उपचार
    सर्वप्रथम त हामीले यो बुझ्नुपर्छ कि सबै पिसाबको पत्थरीको उपचार आवश्यक छैन । पाँच मिलिमिटरभन्दा कम साइजको पत्थर जसले पिसाबको नली बन्द गरेको छैन, जसले दुखाइ पनि दिएको छैन भने त्यस खालको पत्थरलाई निरीक्षण गर्न सकिन्छ । किनभने, यो साइजको पत्थरहरु आफैं पिसाबबाट जाने चान्स पनि हुन्छ ।
    त्यसैले सानो–सानो पत्थरको उपचार आवश्यक छैन । तर, त्यो सानो भए पनि पिसाबको नलीमा अड्किरह्यो भने उपचार आवश्यक छ । मिर्गौलामा पनि ठूलो खालको पत्थर देखियो भने उपचार आवश्यक हुन्छ ।

    पहिलेदेखि चल्दै आएको उपचार अप्रेसन हो । तर, अहिले अप्रेसन नै गर्नुपर्छ भन्ने छैन । अहिले अन्य उपचार पनि विकास भइसकेको छ । एक प्रतिशतभन्दा कम बिरामीलाई मात्रै अप्रेसन गरेर निकाल्नुपर्ने हुन्छ । अरु बिरामीलाई अप्रेसनबिना पनि नेपालमै उपचार गर्न सकिन्छ ।

    मिर्गौलाको पत्थरी छ भने अप्रेसन नगरी, घाउ नपारी उपचार गर्नुपर्ने हुन्छ । यसका लागि हामीसँग उपलब्ध उपचार विधिमा इएसडब्लुएल, यो बाहिरबाट रे वा किरणहरुले पत्थरी फुटाउने प्रविधि हो । अर्को, आरआइआरएस विधि, जुन पिसाब नलीबाट मसिनो दूरबिन छिराएर मिर्गौलाभित्र गएर लेजरले पत्थर फुटाउने । अर्को, पिसिएनएल विधि, जसअनुसार ढाडबाट सानो प्वाँल पारी मसिनो दूरबिन छिराएर पत्थर निकाल्न सकिन्छ ।

    यीमध्ये सबैभन्दा भरपर्दो उपचार पिसिएनएल विधि नै हो । यो कुरा विदेशमा लागू नहुन सक्छ । किनभने, उनीहरुले पत्थरको साइज सानो हुँदै नै पत्ता लगाइसकेका हुन्छन् । यो विधिको प्रयोग पत्थरको साइज ठूलो भएको अवस्थामा गरिन्छ । मूत्र नलीको पत्थरी फुटाउन इएसडब्लुएल विधिबाट पनि सकिन्छ ।

    यहाँ प्रश्न उठ्छ, औषधि खाएर पत्थरी पगाल्न सकिन्छ कि सकिँदैन ? संसारमा अहिलेसम्म पत्थरलाई पगाल्ने अचुक औषधि छैन । पिसाब नलीमा सानो पत्थरी अड्केको छ भने त्यसलाई बाहिर निकाल्न औषधिले अलिकति सहयोग गर्न सक्छ । तर, सबैमा यो लागू हुँदैन । लामो समय औषधिकै भर पर्नु पनि हुँदैन ।

    काठमाडौंमै पनि औषधि पसलबाट पत्थरीको औषधि बेचिएको पाउन सकिन्छ । तर, पत्थरीका बिरामीले औषधि लिनु भरपर्दो उपाय हुँदै होइन । र, आयुर्वेदिक औषधिले पत्थर पगाल्छ भन्ने पनि प्रमाणित भएको कुरा होइन । किनभने, पत्थरी धेरै किसिमले जम्छन्, तर एउटै औषधि दिइएको हुन्छ ।

    आयुर्वेदिकमा यो बुटीले यो प्रकारको पत्थरी पगाल्छ भन्ने छैन । पत्थरीको उपचार समयमा भएन भने मिर्गौला नै फेल हुन सक्छ । किनभने, त्यो पत्थरले यदि नली छेकेर पिसाब रोकियो भने मिर्गौलालाई प्रेसर हुन्छ र मिर्गौला बिग्रँदै जान्छ । दुई हप्ताभन्दा बढी पिसाब रोकिएर मिर्गौलालाई प्रेसर भयो भने काम गर्न छाड्दै जान्छ ।
    ०००
    सबै पत्थरीले दुखाउँदैन, तर धेरैजसोले दुखाउँछ । नलीमा पत्थरी आएर पिसाब बन्दै गरे पनि नदुखाउन सक्छ । यस्ता बिरामी पनि हामीकहाँ आउँछन्, दुवैतिर नलीमा पत्थरी अड्केर पूरै मिर्गौला बिग्रेर जिउँ सुन्निन थालेको हुन्छ, यस्तो बिरामीले पनि भन्छ, मलाई दुखेकै छैन । यसको मतलब नदुखाएको अवस्थामा पनि पत्थरी हुन सक्छ । पत्थरले मिर्गौलाको नलीलाई एकैचोटि बन्दै गर्यो भने छटपटिने गरी दुखाउँछ । बिस्तारै बन्द गरेको छ भने मान्छेलाई थाहै हुँदैन, मिर्गौलाले पूरै काम गर्न छाडेपछि मात्रै पत्ता लाग्छ ।

    रोकथाम
    मिर्गौलाको पत्थरी हुन नदिने एक मात्रै उपाय शरीरलाई आवश्यक मात्रामा पानी पिउनु हो । मानिसले खाएको खानाको विकारहरु शरीरबाट त्याग हुन दुई लिटरजति पिसाब बन्नुपर्छ । यसका लागि एउटा वयस्क मान्छेले कम्तीमा साढे दुईदेखि तीन लिटरसम्म झोल पदार्थ वा पानी पिउनुपर्छ । यसमा पनि एसीमा बसेर काम गर्नेले कम खाँदा पनि होला, घाममा काम गर्नेले योभन्दा बढी पनि खानुपर्ने हुन्छ ।

    हामीले कुनै बिरामीको पत्थर निकाल्यौं र त्यो पत्थरलाई जाँच्न पठायौं भने, त्यो कुन तत्वले बनेको भन्ने थाहा हुन्छ । त्यो तत्व भएको खानालाई हामीले अलिकति कम गर्यौं भने फेरि पत्थरी हुने सम्भावना कम हुन्छ । कति बिरामीले के सोच्छन् भने, शरीरबाट पत्थर निकालेपछि सब ठीक हुन्छ ।
    वास्तवमा यो होइन, फेरि पत्थरी हुने सम्भावना पनि हुन्छ, हामीले प्रशस्त पानी पिएनौं, कुन तत्वले पत्थर बनेको हो र त्यससम्बन्धी खानामा ध्यान दिएनौ भने । त्यस्तै व्यायाम नगर्ने, धेरै नहिँड्ने व्यक्तिलाई पनि पत्थरी हुने सम्भावना हुन्छ ।

    पत्थर एउटै तत्वले नबन्ने हुनाले कस्तो खाना खाने वा नखाने यसै भन्न सकिँदैन । खानामा सन्तुलित भोजन नै उत्तम भन्न सकियो । पत्थरी भइसकेपछि के खाने, के नखाने भन्नलाई पनि पत्थरी जाँच्न आवश्यक हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij