मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

देशभरि कुचो लिएर हिँड्ने कीर्तिपुरे

  • प्रकाशित मिति : शुक्रबार, माघ ४, २०७५



  • काठमाडौँ — केही महिना अघिसम्म ४३ वर्षीया सुशीला महर्जनलाई घर छोडेर जान समस्या थिएन । कीर्तिपुर नगरपालिकाको बाघभैरव टोलमा जन्मेर विवाहपछि ठां बहा: आइपुगेकी सुशीलालाई श्रीमान् र छोरीको भरमा घर छोडेर उपत्यका, उपत्यका बाहिरका विभिन्न ठाउँ र देशबाहिरै सरसफाइ गर्न पुग्थिन् ।
    कीर्तिपुरमा सरसफाइ अभियानमा जुट्दै सुशीला महर्जन र राजमान मानव । तस्बिर : बिजु महर्जन/कान्तिपुर
    घर सम्हाल्न श्रीमान् विकास महर्जन थिए नै, उनले केही चिन्ता लिनुपर्थेन । तर विकासको स्वास्थ्यमा भने निकै पहिलेदेखि समस्या थियो । गएको साउन २२ गते विकास बिते ।

    २०७० असोजतिर पहिलोपल्ट सरसफाइ अभियानका लागि घरबाट बाहिर बस्ने गरी हिँडदा गाली गर्ने र असहमत हुनेमा उनकी छोरी श्वेतासँगै श्रीमान् विकास पनि थिए । तर समयक्रमसँगै सुशीलाको चर्चा पत्रपत्रिका र स्थानीयबीच देखेपछि उनले आफ्नो गल्ती महसुस गरे । विकासको मृत्युले सुशीलालाई निकै दु:खी बनायो । तर अभियानमा निरन्तर लागिरहेकीछन् । भर्खरै मात्र सुशीला र अर्का अभियन्ता राजमान मानव वीरगन्ज, जनकपुर लगायतका सहर सफा गरेर कीर्तिपुर फर्किएका छन् ।

    उनीहरू छिमेकी हुन् । हालसम्म उनीहरूले विभिन्न जिल्लाका ६२ वटा नगरपालिका सरसफाइ गरिसकेका छन् । बुटवल, पोखरा, वीरगन्ज, नेपालगन्ज, कञ्चनपुर जस्ता स्थानमा पुगेर सरसफाइ गरिसकेका छन् । उनीहरू केही स्थानमा दुई/तीन पल्टै पनि पुगेका छन् । ‘गर्मीमा हामी उपत्यकाकै विभिन्न स्थानमा सरसफाइ गर्न निस्किन्छौं । जाडो याममा यहाँ बाहिरका विभिन्न स्थानमा सफा गर्छौं,’ राजमानले थपे, ‘पहिले त पालमा बस्ने गथ्र्यौं । अहिले सबैले चिन्ने भएकाले खाने बस्ने व्यवस्था प्राय: हामी गएकै स्थानका संस्था वा व्यक्तिले गरिदिन्छन् ।’ उनीहरूकोड्रेस नै सेतो भेस्ट, क्वार्टर पाइन्ट र खुट्टामा स्पोट्र्स सुज भइसकेको छ । सँगै हुन्छ गुलाफी रंगको सडक बढार्ने कुची ।

    कीर्तिपुरमा ५ दिने महोत्सव हुनुअघि नगर सरसफाइका क्रममा पहिलोपल्ट २०६७ साल माघमा राजमान र सुशीलाले कीर्तिपुरका विभिन्न स्थान सफा गरे । त्यसबेला २९ महिला समूहले सरसफाइको नेतृत्व गरेका थिए । ‘सुरुमा पुरुषहरूले घरका महिलालाई गाली गरे । तर पछि ४० वर्षदेखिको डम्पिङ साइट एक घण्टामा सफा गरेपछि पत्याए,’ राजमानले भने, ‘त्यसबेला ५५ सय महिला सफा गर्न जुटेका थिए । त्यसपछि त गाउँका भद्र भलाद्मी, पाका मान्छे सबै खुसी भए ।’

    त्यही खुसीले आफूहरूको हौसला बढाएको उनीहरू बताउँछन् । टोलका ज्येष्ठ नागरिकले उनीहरूलाई भनेको ‘क्याबात’ नै आफूहरूको प्रेरणा रहेको महर्जनले बताए ।

    नगरको रिंगरोडभित्रको फोहोर उठाउन भनी राजमानले ट्रयाटर किनेका थिए । भित्री बस्तीबाट पनि फोहोर उठाउँथे र सुन्दरीघाटमा फाल्थे । त्यसबापत ५० रुपैयाँ लिन्थे । जसमा महिला समूह र ट्रयाक्टर चालकलाई भाग लाउँथे । ‘त्यो घरअगाडि फोहोर गर्नुभन्दा पनि फोहोर जम्मा गरेर फाल्नुपर्छ भनेर चेतना जगाउन र बानी बसाउन थियो,’ राजमानले भने । ५ वर्षपछि नदी किनारमा फोहोर गर्न नपाइने भनेपछि उनले ट्रयाक्टर बेचे ।

    उनीहरू दुई जना मात्र होइन, कीर्तिपुरका महिलाले सरसफाइमा उनीहरूलाई साथ दिइरहेका छन् । २०६८ सालमा तीन जनाको टोली लोमान्थाङ पुग्यो । एक जना ललिता महर्जन पनि सरसफाइका लागि पुगेकी थिइन्, जो राजमानकी श्रीमती हुन् । त्यहाँको दरबार क्षेत्र, मुक्तिनाथ मन्दिरवरपर उनीहरूले सरसफाइ गरे । दोलखाको जिरी पुग्दा ४ जनाको समूह थियो । नानी र कमला महर्जन पनि साथै पुगेका थिए । २०७० वैशाखमा गोसाइँकुण्ड पुगे ।

    उनीहरू ६ जनाको सरसफाइ टोली त्यहीँ टेन्टमा सुतेर सरसफाइ गरी फर्किए । राजमानले सोही वर्ष ‘वनवास’ लिएका थिए । दुई छोराका बाबु उनले नेवारी परम्पराका अनुसार टोललाई भोज खुवाएर वनवास लिएका हुन् । उनी भन्छन्, ‘असोज १९ गतेबाट औपचारिक वनवास लिएँ । सरसफाइका लागि बाहिरै बस्नुपर्ने भएकाले आफ्नो सम्पूर्ण जीवन यसैमा समर्पित गर्ने चाहना छ । अन्तिम साससम्म पनि फोहोर सफा गरिरहन पाउँ जस्तो लाग्छ,’ राजमानले भने ।

    यतिका वर्ष परिवारले पनि साथ दिएकोमा सुशीलालाई गर्व थियो । तर आज जुन समाजले साथ दिन्थ्यो त्यसैले कुरा काट्छ । श्रीमान् गुमाउँदाको मानसिक पीडा उनलाई त छँदै छ, झन् समाज र आफ्नै परिवारको कटाक्षले उनको चित्त दुखाउँछ । ‘वहाँलाई केही दिनदेखि सन्चो थिएन । त्यसैले म वहाँसँगै बस्छु भनेँ,’ भावुक हुँदै सुशीलाले भनिन्, ‘वहाँले नै म ठिकै छु, तिमी आफ्नो काममा जाऊ भन्नुभयो । तर म बनेपामा सफाइसम्बन्धी कार्यक्रममा भएका बेला वहाँ बित्नुभयो ।’

    घर छोडेर परपुरुषसँग हिँडेको भन्दै उनका छिमेकी र साथीहरूले नै कुरा काट्छन् । श्रीमान् बितेपछि सधैं सरसफाइ अभियानमा साथ दिएका घरका सदस्य अहिले बिरानो बनेका छन् । र परिवार साथ नभएपछि छरछिमेकले पनि नराम्रो दृष्टिले हेर्ने गरेको उनको अनुभव छ । ‘सबैले रिस गर्ने, पुरुषसँग हिँडेको भन्दै कुरा काट्ने गर्दा रहेछन्,’ उनले भनिन् । यद्यपि यस्ता घटनाका बाबजुद सरसफाइ अभियानलाई निरन्तरता दिने दृढ संकल्प गरेकी छन् । उनी र उनका अर्का अभियानी साथी राजमान मानव ।

    गतवर्ष मंसिर १४ देखि माघ १४ सम्म उनीहरू बंगलादेशको राजधानी ढाकामा थिए । त्यहाँ पनि पालमै बसेर सरसफाइ गरे । बिहान ७ देखि ५ बजेसम्म सडकका फोहोर बढारेर छेउ लाइदिने गरेका थिए । केहीले सुशीलालाई बुर्का लगाउन भने केहीले अचम्म मानेर हेरिरहे । बिस्तारै त्यहाँका सञ्चारमाध्यम र सर्वसाधारणले पनि उनीहरूको उद्देश्य बुझेपछि उनीहरूलाई साथ दिन थाले । त्यसपछि श्रीलंका जान चाहे पनि कानुनी कारणबाट उनीहरू जान सकेनन् ।

    ‘ढाका सबैभन्दा फोहोर ठाउँ हो । देश मात्र होइन, विश्व सरसफाइ गर्न हिँडेका हौं । कसैले आफ्नो वरपर फोहोर नगरोस् भन्ने हाम्रो चाहना हो,’ सुशीला भन्छिन् । वि.सं. ०७८ सम्ममा कसैले जथाभावी फोहोर नगरून् भन्ने आफूहरूको उद्देश्य भएको उनले बताइन् । सन् २०२८ बाट विश्वका मानवले जथाभावी फोहोर नगरून् भन्ने अभियानमा उनीहरू लागेका छन् ।

    राजमानले भने, ‘अब निकै कम देश मात्र फोहोर छन् । बाहिरका मान्छेले उनीहरूको ठाउँ सफा गरिदियो भने उनीहरू पनि उत्प्रेरित हुन्छन् र आफ्नो ठाउँ सफा राख्छन् ।’ आफूले लगाएको फोहोर मान्छेले सडक वा सार्वजनिक ठाउँमा फाल्नुको साटो आफैंले व्यवस्थापन गर्ने वा सम्बन्धित संस्थाको जिम्मा लगाउने गर्नुपर्ने उनी बताउँछन् । यसरी उपत्यकाबाहिर वा देशबाहिरै गए पनि खर्च राजमान आफैं व्यहोर्छन् । समुदायले लगानी गरेको रेस्टुरेन्ट व्यवसायबाट आएको मुनाफा नै उनीहरूको खर्चको स्रोत हो ।

    अहिले राजमानकी श्रीमती र छोरा पनि उक्त रेस्टुरेन्टमा काम गर्छन् । राजमानकी श्रीमती ललिता भन्छिन्, ‘एकता भएकाले सरसफाइमा कठिनाइ हुन्न । हामी यहीँ बस्छौं र कीर्तिपुरभित्रै सरसफाइ गर्छौं । वहाँ बाहिरै बस्ने भनेपछि हाम्रो परिवारको एउटा हात नै गुमेको जस्तो लागिरहेको छ ।’ उनी पनि उक्त रेस्टुरेन्टमा काम गर्छिन् । खर्चको जिम्मेवारी उनकै हो । यता सुशीला पनि जीवनमा जे–जस्तो परे पनि आफू सरसफाइमा लागिरहने बताउँछिन् । उनीहरूको अब एउटै सपना छ, सफा नेपाल र विश्व बनाउने ।

    आफूलाई सरकारी संघ–संस्थाको समन्वयको खाँचो भएको उनीहरू बताउँछन् । ‘सरकारी निकायबाट सहयोग पाउने हो भने हामी सरसफाइको नेतृत्व लिन तयार छौं,’ राजमानले भने, ‘समन्वयको मात्र खाँचो छ । फोहोर बढार्ने भन्दा पनि हामी सामाजिक अभियानको नेतृत्व गर्न चाहन्छौं ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij