मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

हिमपातको प्रभाव : मनाङमा ढुवानी ठप्प

  • प्रकाशित मिति : मङ्लबार, माघ २२, २०७५



  • लमजुङ — करिब २ सातादेखि हिमपात रोकिए पनि हिउँ पन्छाउन नसक्दा स्थानीयको जनजीवन अझै कष्टकर छ । हिमपातले गएको पहिरो, खसालेको ढुंगा, ढालेको रूख पन्छाउन नसक्दा मनाङमा खाद्यान्न आपूर्ति २ सातायता ठप्प छ ।
    मनाङको चामेस्थित सरकारी कार्यालयबाट बजारतर्फ आउने बाटोको हिउँ हटाउँदै सशस्त्र प्रहरीलगायत । तस्बिर : कान्तिपुर
    अघिल्लो मंगलबारदेखि हिउँ पर्न थालेको मनाङमा त्यसयता सवारी आवागमन ठप्प भएको हो । हिमपात भइरहेको समय दानाक्यु, धारापानीसम्म बेंसीसहरदेखि सवारीसाधन चलेकोमा आइतबार मुस्किलले एउटा जिप तिमाङ पुगेको थियो ।

    तिमाङ र थान्चोकबीचको स्याक्र्यु खोला नजिकै हिमपातले ठूलो ढुंगा पल्टाएर बाटो अवरुद्ध बनाएको छ । माथिल्लो क्षेत्रका कुनै पनि ठाउँमा सवारीसाधन चल्ने अवस्था नरहेको स्थानीयको भनाइ छ । कतिपय ठाउँमा हिँड्न मिल्ने बाटोसमेत छैन । गाडी नचल्दा मनाङ ङिस्याङ, चामे र नार्पाभूमि गाउँपालिकाका बासिन्दाले सास्ती खेप्नुपरेको छ ।

    मनाङ ङिस्याङ गाउँपालिका ४, मनाङ गाउँस्थित होटल सञ्चालक छिरिङ लोप्साङ गुरुङले यसअघिका मौज्दात खाद्यान्न उपभोग गर्दै आएको बताए । ‘हिउँ पर्न रोकियो । पग्लन बाँकी छ । दिनमा १०/१२ जना पर्यटक आउने गर्छन् । उनीहरूले चाहेजस्तो पुर्‍याउन सकिएको छैन । सामान ल्याउन पाइएन,’ उनले भने । मानिस जसोतसो हिँडेर आए पनि सवारीसाधन आउन नसकेको उनले बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका पर्यटन सहायक क्षेत्र गुरुङका अनुसार मानिस बाध्यताले हिँड्नुपरेको छ । ‘चामेदेखि मनाङसम्म सवारीसाधनमा साढे २ घण्टामा आउनेहरू अहिले २ दिन हिँड्न बाध्य छन् ।

    मानिस हिँड्नै गाह्रो छ । कसरी सामान ल्याउने, केले ल्याउने ?’ बाटो तथा गोरेटोको हिउँ अझै पग्लिएको छैन । चामेकी बिनु गुरुङका अनुसार हिउँदका लागि खाद्यान्न ल्याएर नराखेको भए भोकै बस्नुपर्ने स्थिति आउन सक्थ्यो । बजारमा भने खाद्यान्न पाउन छाडेको छ । ‘हिउँले बाटो रोकियो । अहिलेसम्म खुलेको छैन । तिमाङबाट यता गाडी आएको छैन,’ उनले भनिन् ।

    पहिले ग्रिनहाउस (प्लास्टिक टनेल) बनाएर गरिएको खेतीले हरिया सागपात खाने गरिएकामा ती सबै हिमपातले भत्काएको उनले सुनाइन् । ‘ग्रिनहाउसकै हरिया तरकारी खान्थ्यौं । नभए बेंसीसहरबाट ल्याउँथ्यौं । २ साता भयो हरियो तरकारी नदेखेको,’ उनले भनिन् ।

    मनाङस्थित सशस्त्र प्रहरीको ३२ नम्बर गुल्मका डीएसपी नीलकमल आचार्यका अनुसार चामेदेखि तिमाङसम्मका सडक पूरै हिउँले ढाकेको र यसबीचमा २ जिप अलपत्र परेको बताए । ‘हिँड्न सक्ने अवस्था छैन । सवारीसाधन तत्काल गुड्न सक्ने अवस्था छैन । २/४ दिन मज्जैले घाम लाग्यो भने केही सहज हुन सक्छ,’ उनले भने । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार सडक कार्यालय दमौलीको सहयोगमा स्याक्र्यु खोलाको ढुंगा फुटाएर पहिरो हटाउने तयारी गरिएको छ । तर दमौलीबाट आएका इन्जिनियर तत्काल हटाउन नसक्ने भन्दै फर्किएको उनले बताए ।

    हिमपात हटाउन सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिए पनि सकिएको छैन । ‘हिउँ अझै कति छ कति । सडकको हिउँ फाल्न सकिँदैन । कार्यालय क्षेत्रबाट चामे बजारसम्म हिउँ फालेर बाटो बनाएका छौं,’उनले भने ।

    उनले मनाङमा खाद्यान्न ढुवानी रोकिए पनि अभाव नभएको बताए । ‘तल्लो क्षेत्रसम्म गाडीमा ल्याए पनि केहीले भने बोकेरै सामान ल्याउने गरेका छन् ।गाडीबाट भने ल्याउन सकिएको छैन । गाडी नचल्दा ढुवानी रोकिएको हो,’ उनले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij