मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पञ्चकोटमा एकै दिन हजार बढी पर्यटकले हिउँ खेले

  • प्रकाशित मिति : आइतवार, माघ २७, २०७५



  • गलकोट । जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलको रुपमा विकास भइरहेको पञ्चकोटमा शनिबार करिब एक हजार आन्तरिक पर्यटक अवलोकनका लागि आएको पञ्चकोटले जनाएको छ।

    मनै लोभ्याउने पञ्चकोटका धार्मिक कलाकृतिका संरचना हेर्न र धेरै वर्षपछि परेको हिउँमा खेल्नका लागि जिल्लाका अधिकांश पर्यटक त्यहाँ पुगेका हुन्।

    बागलुङ नगरपालिका–६ स्थित पञ्चकोटमा शनिबारको फुर्सदिलो समयमा परेको हिउँ तथा पञ्चकोटमा रहेका धर्मिक संरचनाको अवलोकनका लागि एक हजार भन्दा बढी पर्यटक आएको स्थानीय गकुल सापकोटाले बताए।

    जिल्ला सदरमुकामबाट अत्यन्तै नजिक तथा पक्की सडकका कारण आन्तरिक पर्यटकको रोजाइ पञ्चकोट भएको छ।

    जिल्लाको अधिकांश स्थानमा हिमपात भए पनि जिल्ला सदरमुकामबाट आठ किलोमिटरको यात्रामा पञ्चकोट आउन सकिने भएकाले हिउँ खेल्न र घुम्नका लागि आएको पर्यटक राजेन्द्र सुवेदीले बताए।

    वार्षिक एक लाख पर्यटक भित्र्याउने लक्ष्यकासाथ अहिले धमाधम पञ्चकोटको पूर्वाधार निर्माण भइरहेको छ।

    बागलुङ जिल्लाकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थलका रुपमा विकास भइसकेको पञ्चकोटमा दैनिक ४०० देखि ५०० सम्म आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरे पनि शनिबार पर्यटकको सङ्ख्यामा दोब्बरले वृद्धि भएको विश्व शान्ति सर्वसिद्धिधाम पञ्चकोटका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताए।

    स्वामी कमलनयन आचार्य (मुक्तिनाथ बाबा) को पहलमा पञ्चकोटमा विभिन्न धार्मिक तथा पर्यटकीय संरचना निर्माणका लागि विसं २०७१ देखि वर्षेनी महायज्ञ सञ्चालन गरी आर्थिक सङ्कलन गरिदै आएको छ।

    पञ्चकोटमा यही फागुन ९ गते देखि १५ गते सम्म पाँचौ महायज्ञ हुन लागिरहेको विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटले जनाएको छ।

    दक्षिण भारतीय शैलीमा निर्माण भएका मन्दिर र पूर्वाधार निर्माण भइरहेको अवस्थामै अध्ययन तथा अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो।

    तीन वर्षदेखि निर्माणाधीन पञ्चकोटमा झण्डै रु २० करोडका संरचना निर्माण भइसकेका छन् भने मुख्य संरचनाका रुपमा निर्माण हुने विश्वशान्ति कलशको रु ६० करोड लागत लाग्ने विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भइसकेको छ।

    बागलुङ नगरपालिकाभित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोट मिलाएर पञ्चकोटको नामकरण गरिएको यस क्षेत्रमा संसारकै अग्लो विश्व शान्ति कलश निर्माण गरिने लक्ष्य रहेको छ।

    समुन्द्री सतहदेखि एक हजार १०० मिटरको उचाइमा अवस्थित पञ्चकोटबाट अन्नपूर्ण, धौवलागिरि, निलगिरिलगायतका दर्जन बढी हिमशृङ्खलाहरु देख्न सकिन्छ। पञ्चकोटलगायत जिल्लाको ढोरपाटन, थामाको नेटा, गाजाको दहमा हिउँ खेल्ने पर्यटकको घुइँचो नै लागेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij