प्रकाशित मिति : आइतवार, माघ २७, २०७५
शनिबार साँझसम्म घलेगाउँमा हिउँ सेताम्ये थियो । बिहानदेखि अबेरसम्म घलेगाउँ जानेको लर्को लागेको थियो । जनप्रतिनिधि, कर्मचारी, सरकारी तथा गैसरकारी संस्थाका प्रमुख लगायत विभिन्न पेशामा आवद्ध घलेगाउँ पुगे । उनीहरुले दिनभरी हिउँ खेले । बालबालिकादेखि वृद्धवृद्धासम्मले हिउँ खेलेर आनन्द लिए । करीब १ दशकपछिको हिमपातले स्थानीयको दैनिक प्रभावित भएको थियो नै । पर्यटक ओइरिएपछि घलेगाउँबासी स्वागतमा आतुर थिए । गुरुङ फिल्मका कलाकार खेमराज घले उनका साथीभाइलाई लिएर घलेगाउँ पुगे । ‘घलेगाउँमा पहिलोपटक हिउँ खेल्दैछु’ उनले भने । उनले घलेगाउँबाटै फोटो र भिडियो साथीभाइलाई पठाए ।
साथी भाइ साँझसम्म घलेगाउँ आइपुगे । कलाकार भारती घलेले गाउँलाई फन्को मारेर फोटो खिचिन् । फेसबुक लगायत सामाजिक सञ्जालमा अपलोड गरिन् । ‘साँच्चीकै स्वर्ग जस्तै हो घलेगाउँँ घलेगाउँको पर्यटन प्रवद्र्धनका लागि तयार पारिएको गीत उनले सम्झिइन् । बेंसीसहर नगरपालिका ७, हाइस्कुलचोकका बलराम खत्रीले परिवारसंग घलेगाउँ आएको बताए । पर्यटकसंगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङ अन्तर्गतको बेंसीसहरस्थित पर्यटक सूचना केन्द्र तथा प्रवेश शुल्क काउन्टरका पर्यटन सहायक बालकृष्ण घलेले घलेगाउँ पुगे । एकैदिन १ हजार ५ सय पर्यटक घलेगाउँ आएको उनले बताए । साथीसंगीसंगै उनले हिउँ खेले । ‘हिउँ खेल्न पाउनु हाम्रो लागि सौभाग्यको कुरा हो । यो मौका सित्तिमित्त आउँदैन’ उनले भने ।
उनका अनुसार पर्यटकीय गाउँहरु घलेगाउँ, सिउरुङ, घनपोखरा लगायत ठाउँमा एक दशकपछि हिमपात भयो । स्थानीयको जनजीवन कष्टकर बन्यो । तर, पर्यटकले निकै आनन्द लिए । क्व्होलासोंथर गाउँपालिका ४, भुजुङमा करीब २० वर्षपछि हिमपात भएको स्थानीयले बताएका छन् । हिमपातपछि आन्तरिक पर्यटक बढेको उनीहरुको भनाई छ । वडाअध्यक्ष खिमबहादुर गुरुङका अनुसार यसअघि करीब १ हजार ७ सय मिटरको पिढिन्हें सम्म हिमपात हुन्थ्यो । अहिले १ हजार ६ सय मिटरको गाउँमै बाक्लो हिमपात भयो । ‘हिमपातपछि जनजीवन प्रभावित त भएको छ । त्यो भन्दा पनि पर्यटक आएका छन् । गाउँले हिउँ खेलेका छन् । रमाइलो मानेका छन् ।’ हिमपातपछि गाउँका जग्गाजमीन सिञ्चित भएको र खेतीबाली राम्रो हुने उनले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij