प्रकाशित मिति : बुधबार, फाल्गुन १, २०७५
प्रधानन्यायाधीश तथा न्यायपरिषदका अध्यक्ष चोलेन्द्र शम्सेर राणाले विराटनगर उच्च अदालतका दुई न्यायाधीशलाई काज सरूवा गरेका छन्।
सोमबार प्रधानन्यायाधीश राणाले विराटनगर उच्च अदालतका न्यायाधीश साधुराम सापकोटा र जनक पाण्डेलाई न्यायपरिषदमा हाजिर हुनेगरी तानेका हुन्।
उनीहरूलाई किन माथि तानियो? भन्ने कुरा भने परिषदले कुनै जानकारी दिएको छैन। यसअघि विराटनगर उच्च अदालतका मुख्य न्यायाधीशसहित ६ न्यायाधीशलाई परिषद् तानिएको थियो।
१० दिन अघि परिषदले तस्कारी ३३ किलो सुन र सनमहत्या प्रकरणका अभियुक्तको पुर्पक्षसम्बन्धी पुनरावेदनको पेशी तोक्ने मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ती पुनरावेदनमाथि सुनुवाइ गरेका पाँच न्यायाधीशलाई काजमा सरूवा गरेको थियो।
परिषद तानिएका विराटनगर उच्चका अरू न्यायाधीश नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, उमेशकुमार सिंह, उमेशराज पौड्याल र सारंगा सुवेदी हुन्।
सोमबार प्रधानन्यायाधीश राणाले परिषद् तानेका न्यायाधीश सापकोटा र पाण्डेले पनि तस्करीको ३३ किलो सुन र सनमहत्या प्रकरणका कतिपय अभियुक्तको पुनरावेदनमाथि सुनुवाइ गरेका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij