प्रकाशित मिति : बिहिबार, फाल्गुन २, २०७५
बेझाड । सात वर्ष अगाडि निकै कष्टसँग जीवन गुजारा चलाउन बाध्य रामपुर नगरपालिका–६ बस्ने विष्णुदेवी गैरेलाई अहिले गाईपालन व्यवसाय अर्थोपार्जनको माध्यम बनेको छ। आफ्नोे परिवारमा कमाउने कोही व्यक्ति थिएन, व्यवसाय गर्न आफन्त, साथीभाइकहाँ ऋण सापटी माग्न पुग्दा सबै टाढिए।
कसैको सहयोग र साथ नपाएपछि लालपुर्जा बैंकमा धितो राखेर सात वर्ष अघि नवलपरासीबाट रु ८० हजारमा होलस्टिन र जर्सी जातका गाई खरीद गरेर व्यवसाय शुरु गरेकामा गोठमा गाई बाध्न थालेको दिनदेखि आम्दानी गर्ने गतिलो माध्यम बनेको उनले जानकारी दिन।
दूध बिक्रीबाट राम्रो आम्दानी हुँदै गएपछि व्यवस्थित गोठ निर्माण र गाईको सङ्ख्या पनि थप गर्दै जाँदा अहिले उनको फार्ममा छ वटा माउ गाई र छ वटा कोरली बाँच्छी छन्। “चार गाई ब्याउने छन् अहिले दुई दुहुना गाईबाट ३० देखि ३५ लिटरसम्म दूध उत्पादन भइरहेको छ”, गैरेले भने। दूध बिक्रीबाट खर्च कटाएर मासिक रु ३५ हजार बराबर उनी आम्दानी गर्छन्।
दूध बिक्रीका लागि बजार सहज भएकाले पनि व्यवसायमा हौसला झन बढ्दै गएको गैरेले बताए। प्रतिलिटर रु ५५ मा दूध बिक्री भइरहेको छ। “पहिला निकै दुःख थियो आयस्रोत नहुँदा गाईपालन व्यवसाय चलाएपछि अहिले दिनहुँ हातमा दाम परिरहेको छ”, उनले भने। गैरे जिल्लामै नमूना गाईफार्म सञ्चालन गर्ने एक अगुवा महिला कृषक हुन्।
रु सात लाख खर्चिएर व्यवसाय शुरु गर्नुभकामा यसलाई विस्तार गर्दै जाँदा अहिलेसम्म रु १५ लाख जति लगानी गरिसक्नुभएका गैरले दुई चार पैसा आवश्यक परेका बेला समाजमा ऋण माग्दा पैसा सापटी नदिनेका अगाडि अहिले अरूलाई ऋण दिनसक्ने हुनाका साथै पाँच जनाको परिवार अहिले सुखसँग पाल्न, घर व्यवहार चलाउन र दुई छोरालाई उच्च शिक्षा पढाउन सजिलो भएको बताए।
गोठको क्षेत्रफल बढाएर ५०/६० वटा सम्म गाई पाल्ने लक्ष्य रहेको उनले उल्लेख गरे। मेहनत गरियो भने अवस्य पनि सफलता मिल्दो रहेछ भन्ने अनुभव म आफैँले लिएकी छु उनले भने।
भवन निर्माणका लागि आर्थिक सहयोग
क्रियाशील मगर उत्थान समूहको भवन निर्माणका लागि आर्थिक सहयोग प्राप्त भएको छ। समूहका सदस्य हीराबहादुर रानाले रु ७५ हजार १५५ भवन निर्माणका लागि सहयोग गरेका हुन्। समूहले थालनी गर्ने काममा सहयोग पु-याउनका भवन निर्माणमा सहयोग गरेको उनले बताए। किसानबारी खेलमैदान अगाडि भवन निर्माण भइरहेको छ।
समूहको कोषबाट रु १० लाख र अन्य सहयोगीको थप सहयोग रकमबाट दुईतले भवन निर्माण शुरु गरिएकोे उक्त समूहका अध्यक्ष रामबहादुर हिस्की थापाले बताए। बैठक, भेला, छलफल गर्न सजिलो होस् भन्ने उद्देश्यले भवन निर्माण थालिएको उनले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij