प्रकाशित मिति : सोमवार, फाल्गुन १३, २०७५
डा. प्रदीप पाण्डे
न्युरोलोजिस्ट
नेपालमा मानसिक रोग भन्नेबित्तिकै पागलपन भन्ने बुझिन्छ। तर, मानसिक रोगका विभिन्न चारण हुन्छन्। कतिपय मानिस मानसिक रोगको सिकार हुँदाहुँदै उसले त्यसबारे अनुभूति नगरेको हुन सक्छ। जसकारण विभिन्न गल्ती र अन्य अशोभनीय काम पनि गरिरहेको हुन सक्छ। अधिकांश मानिस मानसिक रोगको अन्तिम चरणमा पुगेपछि मात्र उपचारको खोजी गर्न थाल्छन्। मानसिक रोगबारे थाहा पाउनुपर्ने केही कुरा :
सम्भावित व्यक्ति
जाँड, रक्सी, चुरोट, गाँजा सेवन गर्ने व्यक्तिलाई मानसिक रोग लाग्ने सम्भावना बढी हुन्छ । ड्रग्स, ट्याब्लेट, इन्जेक्सन प्रयोग गर्ने व्यक्तिलाई समेत कुनै न कुनै मानसिक समस्या रहेको हुन्छ । यसबाहेक अन्य कारणले पनि मानसिक समस्या हुन सक्छ । टाउकोमा चोटपटक लागेर, एचआइभी संक्रमणका कारण, नियमित टाउकोदुखाइ, मुभमेन्ट डिसअर्डर हुने व्यक्तिलाई मानसिक समस्या हुन सक्छ ।
लक्षण
कतिपय मानिस बढी भावनामा बग्ने हुन्छन् । त्यस्ता मानिस मानसिक रोगको सिकार पनि भएको हुन सक्छ । निराशा, बढी खुसी वा दुःखी हुने, छटपटी भइरहने व्यक्तिमा पनि मानसिक समस्या हुन सक्छ ।
समस्या
मानसिक रोगी भएका व्यक्तिमा शारीरिक सम्बन्ध राख्दा समस्या आउने गर्छ । मानसिक रोगीमा कुनै ठाउँमा एड्जस्ट हुन नसक्ने, व्यक्तित्वमा समस्या देखिने, आत्महत्याको प्रयास गर्नेलगायतका समस्या देखिन सक्छ ।
कसरी बच्ने ?
मानसिक समस्या हुनेहरूका लागि सबैभन्दा ठूलो उपचार भनेको मनोपरामर्श पनि हो । बिरामीको मनोबल बढाउनका लागि पहल गर्नुपर्दछ । उनीहरूमा उत्साह थप्ने, मनोवैज्ञानिक उपचार गरेमा यस्तो समस्याबाट मुक्त गराउन सकिन्छ । अन्धविश्वासका कारण पनि कतिपय मानसिक बिरामीले सही समयमा उचित उपचार पाएका हुँदैनन् । कतिपय त थाहा पाउँदापाउँदै पनि मनोचिकित्सककहाँ जान डराउँछन् । यसो हुँदा बिरामीमा थप समस्या देखिन थाल्छ । त्यसैले मानसिक रोगको शंका हुनेबित्तिकै उपचारका लागि पहल गर्न जरुरी हुन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij