मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बाघलाई डीप बोरिङको पानी !

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २१, २०७५



  • नेपालगन्ज : विश्वमै लोपोन्मुख पाटेबाघ बाँके राष्ट्रिय निकुञ्जमा पाँच वर्षको अवधिमा पाँच गुणा वृद्धि भएको छ। असोज ७ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको तथ्यांकमा बाँकेमा बाघको संख्या २१ पुगेको छ। सन् २०१३ को गणनामा निकुञ्जमा ४ वटा मात्र बाघ भेटिएका थिए।

    सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेरा ट्र्यापिङ विधिबाट बाघ गणना गरेको थियो। गणनापछि निकुञ्जले गरेको स्थलगत अनुगमनमा डमरुसहित बाघ भेटिएकाले यो संख्या बढेको आकलन गर्न सकिन्छ। निकुञ्जमा पाटेबाघ वृद्धिमा अहिले पानी बाधक बनेको छ।

    वर्षातको समयमा निकुञ्जमा जसोतसो आकाशे पानी जम्मा हुने भए पनि हिउँदमा भने वन्यजन्तुका लागि पानी अभाव हुने गरेको छ। निकुञ्जको पूर्वीभेगमा सुक्खा क्षेत्र बढी भएकाले वनस्पति पनि सुक्ने गरेका छन्। डिप बोरिङ गाड्न सके निकुञ्जमा डढेलो नियन्त्रण गर्न मद्दत पुग्नेछ। बाघको आहारका रूपमा रहेका मृग, चौका, बँदेलका लागि पनि पानी र चरिचरनको समस्या छ।

    पानी र घाँसेमैदानको व्यवस्था गरेर निकुञ्जले त्यसको उचित व्यवस्थापन गर्ने तयारी गरिरहेको छ। निकुञ्जका सूचना अधिकारी विष्णु थपलियाका अनुसार पानीको वैकल्पिक व्यवस्थाका लागि कृत्रिम पोखरी खन्न यस वर्ष मात्रै एक करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ। यसअघि दुई दर्जनभन्दा बढी पोखरी खनिसकिएको छ। यस वर्ष २० वटा कृत्रिम पोखरी खनिएका छन्।

    ४० वटा पोखरी खन्ने तयारी छ। उनले भने, ‘२० वटा कृत्रिम पोखरी त मध्यवर्ती क्षेत्रका सात वटा सामुदायिक वनमा खन्न लागिएको छ। वनलाई दुई÷दुई लाखका दरले रकम दिइनेछ। त्यसमा कम्तीमा पनि १० प्रतिशत श्रमदान थपिनेछ।’

    कृत्रिम पोखरीमा आकाशे पानी संकलन गर्ने र मूल वा खोलाको पानी पाइपबाट खसाल्ने काम पनि भइरहेको छ। यस्ता पोखरीमा ट्यांकरबाट कम्तीमा १५ दिन र बढीमा एक महिनामा एक पटक निकुञ्जले पानी हाल्छ। ‘चुरेको खोंचमा ठूला जनावरका लागि पानीको कुनै समस्या छैन’, निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) युवराज रेग्मीले अन्नपूर्ण पोस्ट्सँग भने, ‘तल्लो तटीय (भावर) क्षेत्रमा भने पानीका स्रोत चाँडो सुक्ने भएकाले पानीका वैकल्पिक स्रोतको खोजी भइरहेको छ। राजमार्गको बाटो हुँदै पानीको खोजीमा निस्कँदा गाडीको ठक्करबाट जनावरको मृत्यु हुने गरेको छ।’ बर्सेनि औसत ५० वटा जनावरको गाडीको ठक्करबाट ज्यान गइसकेको छ।

    वार्डेन रेग्मी वन्यजन्तुलाई पानीको जोहो गर्न यही वर्ष कम्तीमा एउटा डिप बोरिङ र पुरानो सोलार पम्प मर्मत गरेर सञ्चालन गर्ने बताउँछन्। उनले भने, ‘निकुञ्जभित्र ५÷६ वटा डिप बोरिङ गाड्नुपर्ने हाम्रो योजना छ। यसबारे केन्द्रलाई जानकारी गराएका छौं।’ सिक्टा गाउँभन्दा केहीमाथि गोठेरीमा निकुञ्ज क्षेत्रबाट २६ वटा घर उठाएर खाली गरिएको क्षेत्रमा पाइलट प्रोजेक्टका रूपमा डिप बोरिङ खन्ने तयारी छ। यसअघि निकुञ्जमा जडान गरेको सोलार पम्प हात्तीले क्षति पुर्‍याएको थियो। त्यो मर्मत हुँदै छ।

    निकुञ्जको तल्लो तटीय क्षेत्रमा परुवा, सुखार र मुगुवा खोला छन्। यी खोलाको पानी पनि पर्याप्त हुँदैन। निकुञ्जको पूर्वीभेगमा पानीको समस्या बढी भएको निकुञ्जका सहायक संरक्षण अधिकृत पुरुषोत्तम शर्मा बताउँछन्। ‘पश्चिममा पानीको खासै समस्या छैन। पूर्वी भेगमा भावर क्षेत्रमा पानीको समस्या छ’, उनी भन्छन्, ‘दक्षिणी भेगमा पानीको स्रोत कम भएकाले दिगो समाधानका लागि डिप बोरिङ हुन सक्छ।’

    सरकारले बाघ संरक्षण गर्न अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २८ असार ०६७ मा देशकै १० औं निकुञ्जका रूपमा बाँके निकुञ्ज स्थापना गरिएको हो। निकुञ्जमा बाँके, दाङ र सल्यान जिल्लाको ५ सय ५० वर्गमिटर क्षेत्रफल समेटिएको छ। निकुञ्ज पाटेबाघ र हात्तीको महत्वपूर्ण वासस्थान भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।
    पानीको वैकल्पिक व्यवस्थाका लागि कृत्रिम पोखरी खन्न यस वर्ष मात्रै एक करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij