प्रकाशित मिति : मङ्लबार, फाल्गुन २१, २०७५
काठमाडौं। संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ‘विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५’ परिमार्जनसहित पारित गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले ‘विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५’ लाई परिमार्जनसहित पारित गरेको हो। विशेष आर्थिक क्षेत्र संचालनका लागि गठित प्राधिकरणमा एक जना प्रतिनिधि मजदुर संगठनबाट पनि प्रतिनिधित्व गराउने गरी सो विधेयक परिमार्जनसहित पारित गरिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए।
विधेयकमा विशेष आर्थिक क्षेत्र संचालनका लागि गठित प्राधिकरणमा मजदुरको पनि प्रतिनिधित्व गराउनुपर्ने समितिका सदस्यहरुको मागलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव सहमति जनाएका थिए। उनले सांसदहरुले माग गरेपछि आफू पनि सो प्राधिकरणमा मजदुरहरुको प्रतिनिधित्व गराउन सहमत भएको जानकारी समितिमा गराएका थिए।
बैठकमा समितिकी सदस्य विन्दा पाण्डेले भने विशेष आर्थिक क्षेत्र प्राधिकरणमा मजदुरहरुको तर्फबाट महिला प्रतिनिधित्व हुने प्रतिनिधित्व हुने मजदुर महिला अनिवार्य प्रतिनिधित्व हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेकी थिइन्।
परिमार्जित विधेयकमा विशेष आर्थिक क्षेत्रबाट उत्पादित बस्तु तथा सेवा ६० प्रतिशत अनिवार्य रुपमा निर्यात गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यसैगरी सो क्षेत्रमा उद्योगीहरुले जग्गा खरिद गर्न पाउने व्यवस्था पनि गरिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij