प्रकाशित मिति : मङ्लबार, अशोज २७, २०८३
काठमाडौँ। बडादशैँ नजिकिएसँगै काठमाडौँ उपत्यकामा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायमा संलग्न मानिसहरू धमाधम आफ्नो घर फर्किन थालेका छन्। परिवार तथा आफन्तसँग हर्षोल्लासका साथ चाडपर्व मनाउन गाउँ फर्किनेहरूको लहर चलेसँगै उपत्यकाका विभिन्न नाकाहरूमा यात्रु तथा सार्वजनिक सवारीसाधनको बाक्लो चहलपहल र चाप बढेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार बिहानदेखि मङ्गलबार बिहानसम्मको २४ घण्टाको अवधिमा काठमाडौँका विभिन्न नाका हुँदै कुल ५६ हजार ८०९ जना यात्रुहरू उपत्यकाबाट बाहिरिएका छन्।
नाकागत विवरणअनुसार सबैभन्दा बढी नागढुङ्गा नाकाबाट २७ हजार ६४९ र भक्तपुर नाकाबाट २० हजार ६१५ यात्रु बाहिरिएका छन्। यस्तै फर्पिङ नाकाबाट ५ हजार ५१०, तीनपिप्ले नाकाबाट ९७२, भट्टेडाँडा नाकाबाट ८८६, साँखु नाकाबाट ६०८, भीमढुङ्गा नाकाबाट ५१३ र थानकोट नाकाबाट ५६ जना यात्रुले उपत्यका छाडेका छन्।
अर्कोतर्फ, दशैँको पूर्वसन्ध्यामा घर फर्किने यात्रुको सङ्ख्या ह्वात्तै बढे पनि देशका विभिन्न भागमा बिग्रिएका राष्ट्रिय राजमार्गका कारण यातायात व्यवस्थापनमा ठूलो चुनौती खडा भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले असोज २३ गते अग्रिम टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिँदा सवारीसाधन समयमा काठमाडौँ आइपुग्न नसकेकाले यात्रु व्यवस्थापनमा समस्या परेको बताएका छन्।
सडकको खराब अवस्थाका बिच महासङ्घले आम यात्रुहरूलाई अनिवार्य रूपमा टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको आधिकारिक भाडा दर मात्र तिर्न र सवारीसाधनको प्राविधिक अवस्था राम्रोसँग जाँचबुझ गरेर मात्र यात्रा तय गर्न आग्रह गरेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij