प्रकाशित मिति : बुधबार, भदौ १, २०७३
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेको बङ्गलादेशका सुरक्षा अधिकारीको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा प्रधानमन्त्रीले गत वर्षको भूकम्पको क्रममा बंगलादेशले गरेको सहयोगप्रति आभार व्यक्त गरे ।
नेपालीहरु विपद्मा रहेको अवस्थामा राहत तथा उद्धारमा बङ्गाली जनता, बङ्गलादेश सरकार र त्यहाँको सुरक्षा संयन्त्रले गरेको सहयोग र समन्वयप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भने, ‘छिमेकी र मित्रको हैसियतले बङ्गलादेश सरकार र बङ्गाली सरकारको तर्फबाट प्राप्त भएको सहयोगमा म उच्च प्रशंसा गर्दछु । नेपाली जनता र नेपाल सरकार बङ्गाली मित्रलाई हार्दिक धन्यवाद र आभार प्रकट गर्दछ ।’
प्रधानमन्त्रीले नेपाल र बङ्गलादेश दुवैले प्राकृतिक विपत्तिको सामना गर्नुपरिरहेको भन्दै उद्धार, राहत र पुनःनिर्माणमा एक अर्काका अनुभव आदानप्रदान गर्न नेपाल सरकार इच्छुक रहेको बंगलादेशी प्रतिनिधिलाई जानकारी दिएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले बताए ।
बङ्गलादेशका सुरक्षा अधिकारीले पनि दुई देशको सम्बन्ध र विपत्तिको सामनामा बङ्गलादेशको सुरक्षा संयन्त्र मिलेर काम गर्न इच्छुक रहेको बताएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij