प्रकाशित मिति : आइतवार, भदौ १२, २०७३
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू जनतालाई प्रत्यक्ष राहत र सुशासनको प्रत्याभूति हुने काममा केन्द्रित भएको बताएका छन् ।
आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेकपा ९माओवादी केन्द्र० सम्वद्ध नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघका पदाधिकारीहरुसँगको भेटमा उनले यस्तो बताएका हुन् ।
उनले भर्खरै सरकारले पूर्णता पाएको उल्लेख गर्दै अब सरकार रफ्तारमा अघि बढ्ने बताए । उनले भने भने, ‘सरकारले पूर्णता पाएको छ, अब गेयर चेञ्ज गर्नेतिर सोच्दैछु । सरकार रफ्तारमा अगाडि बढ्छ ।’
राष्ट्रिय अर्थतन्त्रको विकास सरकारको प्राथमिकता भएको भन्दै त्यसका लागि नीजि क्षेत्रको सहयोग र साझेदारी आवश्यक रहेको समेत प्रचण्डले सो अवसरमा बताए ।
भेटमा महासंघका प्रतिनिधिहरुले राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान केन्द्रित गर्न, कृषि, पर्यटन, जलविद्युतजस्ता क्षेत्रलाई अर्थतन्त्रको प्राथमिकतामा राख्न, सिण्डिकेटको अन्त्यका लागि ठोस कदम चाल्न, युवा लक्षित कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
सो अवसरमा प्रतिनिधि मण्डलले नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघको तर्फबाट प्रधानमन्त्री राहत कोषमा १ लाख १ हजार रुपैया प्रदान गर्ने घोषणा गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij