आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बदल्ने होइन, बदलिन जरूरी कमरेड

  • प्रकाशित मिति : शुक्रबार, भदौ १७, २०७३



  •  कुनै कुरा लेखेरमात्र नेताले सुनिहाल्छन् भन्ने त मलाई लाग्दैन । तर पनि मेरो विगत र वर्तमानले सिकाएको पाठले लेख्न प्रेरित गरिरहेको छ । मनमा भन्न नसकिने व्यथाले च्यापेर जिउ दुखेको दुख्यै गर्छ । भाइरलले च्याप्दा बरू यस्तो गाह्रो पर्दैन होला, जति दुःख गणतन्त्रका ६०१ नेताले दिएका छन् ।

    जतिबेला नेपालमा माओवादी युद्ध चलिरहेको थियो, त्यतिबेला लाग्थ्यो– माओवादी नेतृत्व विश्वकै सबैभन्दा महान् र शक्तिशाली नेतृत्व हो । जसरी डाँडामा पीपलको वृक्षले तल खोल्सासम्म जरा गाडेर बसेको हुन्छ, त्यसैगरी आफ्नो ओज र छवि बनाएर बसेको पार्टी, विशाल लाग्थ्यो । अहिले आएर पानीका फोकाजस्तै बिलाउन लाग्दा नेतृत्वसँग आस्था राख्ने कमरेडहरुलाई त परै जाओस् अन्य विचारधारा समर्थन गर्नेलाई पनि अस्ताउन लागेको सूर्यझैं लाग्नु स्वाभाविक थियो । तर, विडम्बना माओवादी पार्टीमै काम गर्ने कमरेडहरुलाई नै सपना हो कि विपना छुट्याउनै गाह्रो हुन थाल्यो । यो विषयमा म र मेरा कमरेडले भोगेको सत्य कुरा हो । सत्यलाई कसैले पनि काट्न सक्दैन् ।
    कक्षा आठको बोर्ड परीक्षा उत्तीर्ण भई कक्षा नौमा अध्ययन गर्दै थिएँ । माओवादी युद्ध चरम रुपले अगाडि बढिरहेको थियो । गाउँ, सहर, भीरपाखा, खोल्साखोल्सी नभनी एउटा रफ्तारको गतिमा जनयुद्ध अगाडि बढिरहेको थियो । मेरो गाउँ पनि माओवादी आधार किल्ला बन्न पुगेको थियो । सरकारी संरचना सबै ध्वंसात्मक नीतिबाट परिवर्तन गरी जनसत्तामा रुपान्तरण गरिएका थिए । म सानै उमेरको भएकाले सरकारी संरचना र जनसत्ताबीचको अन्तर के हो भनी छुट्याउन सक्ने मानसिकता विकास भइसकेको थिएन । माओवादी आधार किल्ला भइसकेपछि माओवादीले आफ्ना रणनीतिक क्रियाकलाप अगाडि बढाउँदै गयो । स्कुलमा माओ स्कुलिङ पाठ सिकाउन थालियो । संस्कृत गुरूपाठशाला बन्द गरिन थाले । जुवातास खेल्नेहरु जनकारबाहीमा पर्न थाले, गाउँमा अराजक स्थिति निम्त्याउनेलाई कारबाही गरिन थालियो, जनताका निम्ति कुनै कसुर नराखी युद्धमा आफ्नो ज्यानको बलिदान दिन्थे । माओवादी कार्यकर्ता, त्यसकै परिणाम होला । म पनि एक कम्युनिस्ट योद्धा भई माओवादी युद्धमा होमिएको, विद्यार्थी जीवनलाई थाती राखी जनताको मुक्तिका लागि अग्रसर भएर युद्धमा लागें ।
    घरपरिवारको मायामोह, स्नेह सबै त्यागियो । छापामार युद्धमा लालसिपाही भएर काम गरियो । अनवरत रुपमा पार्टी सिद्धान्तमा हिँडियो । विद्यार्थी मोर्चामा काम गरियो तर आज कमरेडहरुले चिन्नै छाडे । ममात्रै होइन सबै कार्यकर्ताको कथा–व्यथा यस्तै छ । आफ्नो स्वार्थ परिपूर्तिमै रूमलिएर बसिराखे । कर्मलाई बिर्से । नीति, नियम, पार्टी सिष्टम पद्धति सबै तोडेर आफ्नो तरिकाले चल्न थाले । जसको परिणाम आज संगठनको यो हालत हुन पुग्यो । योगदानको कुनै मूल्य रहेन । निराशामा बाँच्नुपर्ने स्थिति पैदा गर्यो ।

    सिद्धान्तविनाको व्यवहार अन्धो हुन्छ । व्यवहारविनाको सिद्धान्त लंगडो हुन्छ । हामी कतै लंगडो पो भयौं कि विचार गरौं । बदल्ने होइन बदलिन जरूरी छ । बदल्यो भने फेरि पहिलेकै जस्तो हुन सक्छ तर तपाईं र म बदलियौं भने हामी फेरि बदलिनुपर्ने छैन । प्रश्न रह्यो बदलिने अथवा नबदलिने त्यो तपाईंको हातमा छ ।

    कमरेडहरु, आफू मरेर अरुलाई बचाउने कसम खाएर युद्धमा होमिएका होइनन् र ? पछिल्लोपटक ओलीवादले देखाएका सपनाको खुबै खण्डन गर्यौं । के हामीले देखाएका सपना कम्तीका थिए । विकट गाउँहरुलाई स्वीट्जरल्यान्ड बनाउने, आलु फल्ने ठाउँहरुमा हीरा, मोती फलाउने, स्वदेशमै रोजगारी ग्यारेन्टी हुने, बिदेसिनुपर्ने स्थिति अन्त्य हुने सपना थिए । तपाईं र मेरो आमाजस्ता हजारौं, लाखौं आमाहरु हँसाउने भनी युद्धमा होमिएका होइनौं र ? देशमा सामन्ती फटाहा राजको अन्त्य हुने समुन्नत राष्ट्र नेपालको सपना देखाएका होइनौं र ?

    ओलीवादले त हामीबाट सिकेर उखान–टुक्का शैलीलाई सरकारमा गइसकेपछि कलात्मक तरिकाले प्रस्तुत गर्दा ती कुरा बाहिरिएका हुन् । जो कुरा हावा भए पनि नेपालको विकासको मोडलका लागि आवश्यक थिए । जसलाई पृष्ठपोषणका रुपमा लिनुपर्छ । के आमकार्यकर्ता वा आममानिसको जीवनमा परिवर्तन आएको छ ? जसले नेपालको राष्ट्रिय झन्डालाई पर राखेर पार्टी झन्डालाई राष्ट्रिय झन्डा बनाई आफ्नो जीवन समर्पित गरे । आज उनीहरुको जीवन हेरौं कस्तो छ । भौंतारिरहेको भँगेराजस्ता जनयुद्धकालमा सँगैै लडेका कमान्डरहरु आज पार्टीको उच्च ओहोदामा पुग्दा कार्यकर्तालाई बिर्सने परम्पराले गर्दा सिंगो पार्टी अभियानको हालत यो बेहोर्नुपरेको हो । कमरेडले साइनो भुले । नातावाद, कृपावादको साइनो जोडन् थाले । हिजोका कमरेड, दाजुभाइ, अंकल–आन्टीका साइनोमा जोडिए । त्यो त छँदै थियो, अर्काे साइनो पनि भित्र्याए सर । खै माक्र्सवादको अनुुुशरण गरेका साथीहरु आफ्नो मूल्यांकन आफैं गर्नुहोला ।

    कमरेडहरु, हामीले १० वर्ष लड्यौं । हामीलाई लडाउने कमरेडको १० वर्षे जनयुद्धयताको जीवनशैली हाम्रै आँखाअगाडि कहाँ पुग्यो । के यही हो त परिवर्तन भएको ? हामीलाई त केही नचाहिने । न पद, न दाम, न काम, न त प्रतिष्ठा नै । उहाँ कतिका इमानदार कमरेडहरु ।
    सगरमाथा चढ्नका लागि सहयोग माग्ने कमरेडले सहिदका परिवारलाई कतिको सहयोग गरे ? पार्टी सरकारमा हुँदा सहिद, बेपत्ता परिवार, अपांग, घाइतेको माग सम्बोधन गर्न नसक्ने । प्रतिपक्षमा बस्दा ठुल्ठूला भाषण खोक्ने ? आफू सत्तामा हुँदा काम नगर्ने । काँग्रेस, एमालेले सरकारमा बस्दा कत्तिको आस बोक्दा होलान् हाम्रा नेता कमरेडहरुले । म त भन्छु– यिनीहरुको कामै छैन । काम छ त भाषण गर्ने । अरुको कुरा काट्नु । गुट, उपगुट निर्माण गर्नु । के यो नै होइन त यथार्थ ?
    अहिले पार्टी सरकारमा छ । विगतका काम गराइ हेर्दा त आस छैन । अहिले भूत, वर्तमान र भविष्य पनि बदलिएको छ । यिनीहरु पनि बदलिए होलान् भन्ने झिनो आशा पलाएको छ । खै, पार्टीलाई एक नम्बर बनाउँछु भन्ने कमरेड वर्तमान सरकारका प्रधानमन्त्री छन् । पार्टीलाई एक नम्बर बनाउँछन् कि उत्तानो फर्काउँछन् हेर्न बाँकी छ । देशको मुहार फेर्न ज्यान दिने कमरेडहरुले त जीवनको बलिदानी गरेर सहिद बनेका थिए । तर, ती हामीमाझ मात्रै सहिद बने राष्ट्रका लागि बनेनन् । बरू पार्टीका सहिद बने होलान्, सबैका होइनन् । अलि पहुँच हुनेका लागि होइन र ?

    सहिद भइन्छ भनेर छाती फुलाउन बेकार छ कमरेड । तिमीहरुले देखेको सपना त पाँचतारे होटलको बन्द कोठाको बन्द बोतलभित्र बन्द हुने अवस्थामा छ । विश्वका धेरै देश उन्नति गरेर ग्रह–उपग्रहमा पुगिसके अनि हामी पार्टीको झन्डा बोकेर गल्ली–गल्ली हल्लेर देशलाई ठप्प पार्न तयार हुने ? यसरी हुन्छ त देशको विकास ?
    विकास त भाषणले हुँदैन, कामले हुन्छ कमरेड । जो कर्म गरिरहेका छन् उनीहरुको देश प्रगतिमा दौडिरहेको छ । यो कुरा सत्य हो भन्ने थाहा हँुदाहुँदै पनि तिनीहरुको भाषणमा मख्ख पर्नु मुर्खता हो । पाखुरी बल हुँदा देशलाई ठप्प पार्ने, भएभरिका संरचना ध्वस्त पार्ने, विकासका नाममा कथित राजनीति गरेर देशलाई डुबाउने अनि सुन्दर राष्ट्र नेपालको परिकल्पना गर्नु पागलपना हो ।

    कुनै बेला युद्ध आवश्यक थियो, जो गरिसकियो । फेरि युद्धमा होमिनुपर्छ भन्नु त अल्पबुद्धि भएकाले मात्र विश्वास गर्ने कुरा हो ।
    कमरेडहरु देशको मुहार फेर्नु छ भने हामीले बदलिन जरूरी छ । अरुलाई बदल्छु भनेर लाग्यौं भने भूलमात्र हुनेछ । सम्भव पनि छैन । देश बदल्न सम्भव छ । त्यसका लागि सर्वप्रथम तपाईं स्वयम् बदलिनुपर्छ । प्रश्न यो रह्यो तपार्इं बदलिन हुन्छ या हुन्न ? देशको माया गर्छु भनेर प्रमाणित गर्ने हो भने नेताको ढोका पुग्न छाडेर आ–आफ्नो काम इमानदारीसाथ गर्नुपर्छ ।

    भाषण होइन काम गरौं । हामीले सिद्धान्त धेरै सिकेका छौं । धेरै नेताहरुका नाडीसमेत छामेका छौं । देश विकासका लागि पार्टीको झन्डा हल्लाएर सम्भव छैन । काम गर्नुपर्छ । हामीलाई राम्रोसँग थाहा छ– सिद्धान्तविनाको व्यवहार अन्धो हुन्छ । व्यवहारविनाको सिद्धान्त लंगडो हुन्छ । हामी कतै लंगडो पो भयौं कि विचार गरौं । बदल्ने होइन बदलिन जरूरी छ । बदल्यो भने फेरि पहिलेकै जस्तो हुन सक्छ तर तपाईं र म बदलियौं भने हामी फेरि बदलिनुपर्ने छैन । प्रश्न रह्यो बदलिने अथवा नबदलिने त्यो तपाईंको हातमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij