आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

त्रिदेशीय साझेदारीको रणनीतिबाट अगाडि बढ्नुपर्छः प्रम प्रचण्ड

  • प्रकाशित मिति : शनिबार, भदौ २५, २०७३



  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल, भारत र चीनबीचको त्रिदेशीय साझेदारीको रणनीतिबाट मात्रै शान्ति, स्थिरता, विकास र राष्ट्रिय स्वाधिनतालाई अगाडि बढाउन सकिने बताएका छन्  ।

    नेपाल इन्स्टिच्यूट अफ इन्टरनेसनल रिलेसन्सले आज यहाँ आयोजना गरेको ‘नेपाल भारत सम्बन्ध र प्रधानमन्त्रीको आसन्न भारत भ्रमण’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक समृद्धिका लागि विश्व राजनीतिमा शक्तिशाली दुई मुलुकको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने धारणा राखे ।

    प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको परिवर्तन र समृद्धिको आकांक्षालाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि दुई देशबीचको सम्बन्धलाई सन्तुलित गर्नुपर्ने धारणा राखे ।

    ठूलो चुनौती र जोखिमका बीचबाट मुलुक जनयुद्ध, शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा र संविधानसभाबाट संविधान जारी भएको उल्लेख गर्दै उनले भने, “नेताले नेतृत्व गर्ने हो, लकिरको फकिर हुने होइन, नेतृत्वले नेतृत्व गर्ने क्रममा जोखिम लिन्छ, त्यो छुट दिनुपर्छ । यदि जोखिम लिने छुट दिनुहुन्न भने नेता बनाउन सकिँदैन । पछिल्लो समय तराई र पहाडलाई एकताबद्ध गर्न नेताले नेतृत्व लिँदैछ, त्यसमा तपाइँहरुको सहयोग चाहिएको छ ।”

    दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पु¥याउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले भने, “नेपाल–भारत सम्बन्धमा दरार पैदा गर्दै जानेतिर होइन समस्या समाधान गर्नेतिर नेपालको हितमा अधिकतम कुटनीतिक र राजनीतिक पहल लिने आवश्यकतामा नेतृत्व गर्न खोजेको छु, यसमा सहयोग चाहिएको छ ।”

    उनले भारत भ्रमणका समयमा नेपाली जनताको आधारभूत हित र सार्वभौमसत्ता र भौगोलिक अखण्डताको विपक्षमा कुनै पनि काम नहुने स्पष्ट पार्दै संविधान जारी भएपछि दुई देशबीचको सम्बन्धमा आएको तिक्तताका विषयमा छलफल गर्ने र अब आइन्दा त्यस्तो अवस्था आउन नदिने वातावरण बनाउने विश्वास दिलाए ।

    प्रधानमन्त्री प्रचण्डले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम र समझदारी पैदा गर्ने दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पु¥याउने विश्वास व्यक्त गरे । उनले देशको आन्तरिक नीतिले विदेश नीतिमा असर पार्ने भन्दै त्यसमा मुलुकका सबै शक्तिले ध्यान दिनुपर्नेमा जोड दिए ।
    कार्यक्रममा प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा सुझाव दिँदै पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपाल भारतको सम्बन्ध नयाँ तरिकाबाट अगाडि बढाउने समय आएको बताए ।

    उनले भने, “नेपाल–भारत सम्बन्ध सन् १९६० को जस्तो होइन, सन् २०१६ को जस्तो हो, नेपाली जनताको भावनाअनुसार नै सम्बन्धलाई विकास गरिनुपर्छ ।”

    नेत्री कोइरालाले भारतसँगको सम्बन्धमा कुनै खोट देखिए त्यसलाई वार्ताबाट समाधान गरिनुपर्नेमा जोड दिँदै भने, “नेपाली जनताको भावनालाई कुल्चेर होइन, राष्ट्र र मुलुकप्रति जिम्मेवार भएर सम्बन्धलाई मजबुत बनाउनुपर्छ ।”

    नेकपा (माओवादी केन्द्र)का परराष्ट्र विभाग प्रमुख तथा पूर्व उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफूहरुले भारतसँग असल मित्रको सम्बन्ध बनाउन चाहेको बताए । उनले भने, “नेपाल भारत सम्बन्ध असल मैत्रीपूर्ण हुनुपर्छ, यो अनिवार्य कुरा हो, दुबै मुलुकलाई केन्द्रमा राखेर छलफल गर्नुपर्छ ।”

    नेता श्रेष्ठले मुलुकको परराष्ट्र मामिलामा सबै राजनीतिक दलबीच न्युनतम सहमति आवश्यक भएको बताउँदै राजनीति र कुटनीतिलाई सहीरुपले अगाडि बढाउनुपर्नेमा जोड दिए ।

    नेपाल भारत प्रबुद्व समुहका संयोजक तथा पूर्व राजदूत भेषबहादुर थापाले मुलुकको परराष्ट्र नीति राष्ट्रिय सहमतिका आधारमा तय गर्नुपर्नेमा जोड दिँदै सोहीअनुसार दुई देशबीच छलफल हुनुपर्ने बताए ।

    सीमाविद् वुद्धिनारायण श्रेष्ठले नेपाल–भारतबीचको सीमालाई छाडा छाड्न नहुने सुझाव दिँदै त्यस विषयमा प्रधानमन्त्रीको भारत भ्रमणका अवसरमा छलफल हुनुपर्नेमा जोड दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij