प्रकाशित मिति : मङ्लबार, भदौ २८, २०७३
कमरेड खनाल, खुसी, खोकी, प्रेम र राजनीतिक अपराध धेरै दिन छोप्न सकिँदैन । दस महिनापछि प्रेमको पोको भुइँमै झर्छ । तपाईंका सकारात्मक पक्ष छन् तर नकारात्मक पक्ष पनि पंक्तिकारले देखेको छ । भदौ २६ गते गुटगत गतिविधि गरेर पार्टी विभाजन गर्न खोजिँदै छ भनेर एक कार्यक्रममा तपाईंले भनेको कुरा अखबारमा आएको छ । यो कुरा तपाईंले ओलीलक्षित गरेर भनेको भनेर जान्न धेरै निधार खुम्च्याउनुपर्दैन । नेताले झिनामसिना र खुद्रेकुरा गरेर हिँड्न हुँदैन भन्ने लाग्छ । कुशल र प्रभावकारी पार्टी नेतृत्वको कुरा गर्ने हो भने जननेता मदन भण्डारी बराबर तपाईंहरु कोही पनि देखिनुभएन ।
चौथो महाधिवेशनबाट महासचिव हुनुभएका र पाँचौँबाट पनि महासचिव हुनुभएका भण्डारी नेतृत्वका अत्यन्त दूरगामी कामलाई नियाल्दा छर्लंग हुन्छ । तर, तपाईंहरु पनि त्यसअघि र पछि पार्टी प्रमुख नेतृत्वमा आउनुभयो, कुनचाहिँ मदनले झैँ दूरगामी काम गरेर देखाउनुभयो ? मदनले उपर्युक्त दूरगामी काम र कदम नचालेको भए अहिलेसम्म पनि माले वा एमाले पार्टी एक कुनामा झोक्राइरहेको हुने थियो । हुनेखाने र समृद्ध परिवारमा जन्मेका तपाईंहरुका भित्री मनमा त्यो ताप्लेजुङको एक कुनामा जन्मेको, संस्कृत पढेको, अंग्रेजी नजान्ने केटोले के गर्ला भन्ठानेको र सामन्ती सांस्कृतिक अवशेष ग्रसित मानसिकतालाई नराम्रोगरी झस्काइदिनुभयो मदन कमरेडले ।
यस्तो हुन्छ, पार्टीको प्रमुख नेतृत्व होइन र ? पटक–पटक कुर्सीमा प्वाल पर्नेगरी बस्ने उत्कट चाहना गरेर नेता भइन्छ ? त्यसबेला पार्टीलाई भूमिगत वा अर्धभूमिगत राखेर अगाडि बढ्नुपर्छ, परिमार्जित जनवाद, नौलो जनवाद, सामाजिक जनवाद आदि नानाथरी भाँडबखान गरेर अल्मलिएका तपाईंहरुलाई जबजमार्फत माथि पुर्याएको र हिजो कटु आलोचना गरेको र मान्दा पनि मार्जिन राखेर स्वीकारेको जबजका आधारमा नौमहिने सरकार र त्यसपछि बनेका राजनीतिक र राजकीय उपल्लो तहको शुभलाभ तपाईंहरुले नै पाउनुभएको होइन ? तल्ला तहका तपाईंका आजीवन भर्याङ भएका आमकार्यकर्ताले के पाउने हो र ? पाउँदा पनि तपाईंका आसेपासे र बतासेले नपाउने हुन् । अनि किन घरीघरी होश नगरी बोल्नुहुन्छ ? के बोल्ने कुरा सकिए ? तपार्इंले ओलीलाई लक्षित गरेर गुटको रटान गर्नुभएको हो । ओली त पार्टीभित्र सबैभन्दा पीडित, प्रताडित, बलिदानी, संघर्षशील, सिद्धान्तमा प्रतिबद्ध, देशभक्त, सतिसालझैँ सय वर्ष लडापडा र खडा राजनेता हुनुहुन्छ ।
उहाँले पार्टीमा गुट र फुट गर्ने कुरा सपनामा पनि नसोचे हुन्छ । पंक्तिकार दैनन्दिनका पार्टी र नेतृत्वका आमभित्री र बाहिरी गतिविधि नियाल्छ र थाहा पाउँछ । ओली नेतृत्वमै संविधान पारित हुने र भारतीय सरकार प्रमुख मोदीको सातो उड्नुपर्ने कारण के होला, तपार्इंलाई थाहा होला ? इमान, जमान र कमान्ड भएको नेताले मात्र नबिराउनु र नडराउनुझैँ सही र दूरगामी काम गर्न सक्छ । सबैभन्दा ठूलो कुरा लोभ र लाभ हो । देश, दुनियाँ र देशवासीको दुःख मात्र निवारण गर्ने ध्येयको मानिस वा नेता मदन र ओलीजस्तै हुन्छन् । ती त सानाकाठले डढ्दैनन् । हेर्नुभयो नि नाकाबन्दी नखोली भारत भ्रमण गर्दिनँ भन्नुभयो ओलीले । जीवनको कुनै ठेगान नभएको नेतालाई व्यर्थमा किन घोचिरहनुहुन्छ ? तर, चुनौतीका पहाडसित लडेर विजय हासिल गर्ने क्षमताका नेतालाई यस्ता रून्चे र पिन्चे कुराको केही अर्थ रहँदैन । ओली देश, जनता, जनजीविका र राष्ट्रिय गौरवका लागि पनि अझै सशक्त र जीवन्त हुनुहुन्छ । झिँगाको सरापले डिंगा मर्दैन । दसौँ महाधिवेशनमा पनि ओली वा ओलीले पत्यार गरेको नेतामात्र अध्यक्ष हुनुपर्छ, नत्र यो पार्टी एमाले होइन कुमालेचाहिँ अवश्य हुन्छ । आकाशजत्रो छाती भएका ओलीले कुखुरेछातीलाई अवश्यै पत्यार गर्नुहुन्न । तर, केही कुमाई कमरेडबाट भने ओलीले बच्नुपर्छ । प्रबुद्ध एमाले नेता प्रदीप ज्ञवालीबाट अहिलेका माथिल्ला एमाले नेताले आफ्नो नेतृत्वलाई बहुआयामिक बनाउन धेरै कुरा सिक्न सक्छन् । उनको हालै प्रकाशित पुस्ताकार कृति
तिनले पढे हुन्छ ।
हिजै जननेता मदन भण्डारीलाई करिब एक्लो पारेर कटु र तिक्त आलोचना गरेर हैरान पारेको हामी पनि बुझ्छौँ । आदरणीय नेता जीवराज आश्रितमात्र मदनका सकारात्मक कुराका पक्षधर हुनुहुन्थ्यो । सारा भित्री र बाहिरी चुनौतीसित जुधेर अगाडि बढ्नु पो बढ्नु । यति कुरा पनि माक्र्सवादी र जबजको शिक्षाका आधारमा भन्न खोजिएको हो । माओले भूलहरुको आलोचना गर्नुपर्छ भन्नुभएको छ । मदनले प्राज्ञिक स्वतन्त्रताको जबजमा पक्षपोषण गर्नुभएको छ । माओले नै गलत विचार रुपी विषालु झारपात उखेल्नुपर्छ भन्नुभएको छ । यसको अर्थ आफ्नो घरबारी र आँगनमा उम्रिएका झारपातचाहिँ जोगाउनु र तिनलाई मलजल गर्नु त पक्कै भनेको होइन तर एमालेको शिक्षा र सिकाइ जबजअनुकूल पटक्कै भएको छैन । कतिपय नेता र कार्यकर्ता पार्टीका नेतालाई देउताजस्तो गर्न खोज्छन् । एमालेका कतिपय नेतालाई तपार्इंको अनुहारमा कालो दाग छ हेर्नुहोस् त ऐना भन्दा पनि जरक्क जर्किन्छन् । एमालेका कतिपय नेता र कार्यकर्ता बुद्धु छैनन् ।
पुच्छरमात्र बल्ने जूनकीरी मात्र छैनन् । सूर्यजस्ता तेजिला, रापिला र तापिला पनि छन् । होश गर्नुहोला नेतागण । घाम लागेपछि अँध्यारो भाग्नैपर्छ, भागेन भने त्यसले डढ्नैपर्छ र खरानी पनि हुनसक्छ । तर, घामसित जिस्किनचाहिँ हुँदैन । जान्दा घाम न्यानो हुन्छ, नजान्दा त्यसले डढाउँछ । शुक्रनीतिमा जनताको अहित गर्ने राजालाई डोरीले बाँधेर घिसार्दै लगेर माटामुनि पुरे हुन्छ भनिएको छ । यो आजको होइन अठारौँ शताब्दीको कुरा हो । अनि आजको बाइसौँ शताब्दीमा त्यसमा पनि कम्युनिस्ट पार्टीमा त्यसमा पनि जबज वा मदन भण्डारीले सिर्जना गरिदिएको र ओलीले हाल नेतृत्व गरेको राप, ताप र प्रतापसहितको यस पार्टीमा गलत, अवसरवादी र निजी स्वार्थमा लम्पट नेतालाई किमार्थ मानिदैन । यसरी मान्ने भए राणा, राजा, कांग्रेसलगायत अनेक उग्रतत्व थिए र छँदै छन् नि । तिनका पछाडि नलागेर देश, जनता, जनजीविकाका खातिर स्वत्व बचाउसहित लागेपछि झुम्राको पुतली बन्नु छैन । आखिर चाकरी, चाप्लुसी र चम्चागिरीबाटै अहिलेसम्म देश उँभो नलागेको हो । सबै पञ्च नेपाली, सबै नेपाली पञ्च, सबै नेपाली कांग्रेस भनेझैँ गर्दा तिनको बिल्लिबाँठ भएको होइन र ? त्यसैले एमाले नामो पार्टी र नेतृत्वले गरेका सबै नराम्रा कामलाई राम्रो, राम्रो भनेर भड्खालमा हाल्ने गति, मति भए राम्ररी गरौँ अनि छिट्टै यस पार्टीलाई भड्खालामा हालौँ । नवौँ महाधिवेसनबाट ओली अध्यक्ष भएकैले यो पार्टी मण्डलेकरण हुनबाट जोगिएको हो ।
अझै पनि एमालेमा माथिल्लो तहका कतिपय नेताहरु मात्र अवसर, सुविधा र स्वार्थका खातिर लागिरहेको देखिन्छ । नेता र कार्यकर्ताले उहिलेका, बीचका र अहिलेका झलनाथ खनाललाई राम्ररी बुझ्छन् । कृषिमन्त्री, पार्टी अध्यक्ष र प्रम हुँदाका सबै नालिबेली लिएर बसेका छन् । तपाईंका परिवार, पत्नी कति जनमैत्री छन्, के–कस्ता बेहोराका छन्, सबै–सबै थाहा छ । कमरेड युवराज ज्ञवाली कस्तो हुनुहुन्छ । कमरेड शंकर पोखरेलको कमजोरी के–के हुन् ? कमरेड विष्णु पौडेल आफ्ना समकालीन नेता र कार्यकर्ताप्रति मैत्री र विरोधी भावना राख्छन्, उनी कति अस्थिर र अररा छन् ? सबै थाहा पाइन्छ । जहाँ नपहुँचे रवि त्यहाँ पहुँचे कवि भन्ने हिन्दी उखान थाहै होला । अहिले सञ्चार सञ्जाल यति व्याप्त भएको छ कि कुनै पनि एमाले उपल्लो, माथिल्लो र मझौलो नेताले गल्ती कमजोरी दोहोर्यायो भने उनको घर, छरछिमेक, क्षेत्र र जिल्लाका सञ्चार माध्यमबाट पहिले सुधार्नेगरी, त्यसले पुगेन भने उधार्नेगरी अँध्यारो मास्नेगरी लेखिनेछ कमरेड होश गरौँ है ।
एमाले नेताद्वय ससुरा र ज्वाइँबीच के–कस्ता कुरामा झैभगडा हुन्छ र भयो ? राष्ट्रपतिका उम्मेदवार विद्या भण्डारीलाई कसले मत दिएन, खालीमत कसले खसायो, कसले क–कसलाई विद्या भण्डारीलाई मत नहाल्न कनसुत्ले गर्यो सबै थाहा पाइएको छ । तर, आफ्नै आमाले पोइल जाने नियतले गरेका तमाम गतिविधि थाहा पाएर पनि सार्वजनिकीकरण गरिहाल्न नमिलेझैँ एउटा जिम्मेवार जबजको जिन लेखकले जिब्रो चपाइदिएको मात्र हो । पोलै खोल्नुपर्ने दिन आयो भने यत्तिका समय, श्रम, पसिना र रगतले सिञ्चित यो आन्दोलन रक्षार्थ खुल्ला रुपमा मुख खोल्नुपर्ने दिन नआओस् झलनाथ कमरेड ?
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij