आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

होश गरेर बोल्नुहोला है झलनाथ कमरेड

  • प्रकाशित मिति : मङ्लबार, भदौ २८, २०७३



  • कमरेड खनाल, खुसी, खोकी, प्रेम र राजनीतिक अपराध धेरै दिन छोप्न सकिँदैन । दस महिनापछि प्रेमको पोको भुइँमै झर्छ । तपाईंका सकारात्मक पक्ष छन् तर नकारात्मक पक्ष पनि पंक्तिकारले देखेको छ । भदौ २६ गते गुटगत गतिविधि गरेर पार्टी विभाजन गर्न खोजिँदै छ भनेर एक कार्यक्रममा तपाईंले भनेको कुरा अखबारमा आएको छ । यो कुरा तपाईंले ओलीलक्षित गरेर भनेको भनेर जान्न धेरै निधार खुम्च्याउनुपर्दैन । नेताले झिनामसिना र खुद्रेकुरा गरेर हिँड्न हुँदैन भन्ने लाग्छ । कुशल र प्रभावकारी पार्टी नेतृत्वको कुरा गर्ने हो भने जननेता मदन भण्डारी बराबर तपाईंहरु कोही पनि देखिनुभएन ।

    चौथो महाधिवेशनबाट महासचिव हुनुभएका र पाँचौँबाट पनि महासचिव हुनुभएका भण्डारी नेतृत्वका अत्यन्त दूरगामी कामलाई नियाल्दा छर्लंग हुन्छ । तर, तपाईंहरु पनि त्यसअघि र पछि पार्टी प्रमुख नेतृत्वमा आउनुभयो, कुनचाहिँ मदनले झैँ दूरगामी काम गरेर देखाउनुभयो ? मदनले उपर्युक्त दूरगामी काम र कदम नचालेको भए अहिलेसम्म पनि माले वा एमाले पार्टी एक कुनामा झोक्राइरहेको हुने थियो । हुनेखाने र समृद्ध परिवारमा जन्मेका तपाईंहरुका भित्री मनमा त्यो ताप्लेजुङको एक कुनामा जन्मेको, संस्कृत पढेको, अंग्रेजी नजान्ने केटोले के गर्ला भन्ठानेको र सामन्ती सांस्कृतिक अवशेष ग्रसित मानसिकतालाई नराम्रोगरी झस्काइदिनुभयो मदन कमरेडले ।

    यस्तो हुन्छ, पार्टीको प्रमुख नेतृत्व होइन र ? पटक–पटक कुर्सीमा प्वाल पर्नेगरी बस्ने उत्कट चाहना गरेर नेता भइन्छ ? त्यसबेला पार्टीलाई भूमिगत वा अर्धभूमिगत राखेर अगाडि बढ्नुपर्छ, परिमार्जित जनवाद, नौलो जनवाद, सामाजिक जनवाद आदि नानाथरी भाँडबखान गरेर अल्मलिएका तपाईंहरुलाई जबजमार्फत माथि पुर्याएको र हिजो कटु आलोचना गरेको र मान्दा पनि मार्जिन राखेर स्वीकारेको जबजका आधारमा नौमहिने सरकार र त्यसपछि बनेका राजनीतिक र राजकीय उपल्लो तहको शुभलाभ तपाईंहरुले नै पाउनुभएको होइन ? तल्ला तहका तपाईंका आजीवन भर्याङ भएका आमकार्यकर्ताले के पाउने हो र ? पाउँदा पनि तपाईंका आसेपासे र बतासेले नपाउने हुन् । अनि किन घरीघरी होश नगरी बोल्नुहुन्छ ? के बोल्ने कुरा सकिए ? तपार्इंले ओलीलाई लक्षित गरेर गुटको रटान गर्नुभएको हो । ओली त पार्टीभित्र सबैभन्दा पीडित, प्रताडित, बलिदानी, संघर्षशील, सिद्धान्तमा प्रतिबद्ध, देशभक्त, सतिसालझैँ सय वर्ष लडापडा र खडा राजनेता हुनुहुन्छ ।jhalanath khanal

    उहाँले पार्टीमा गुट र फुट गर्ने कुरा सपनामा पनि नसोचे हुन्छ । पंक्तिकार दैनन्दिनका पार्टी र नेतृत्वका आमभित्री र बाहिरी गतिविधि नियाल्छ र थाहा पाउँछ । ओली नेतृत्वमै संविधान पारित हुने र भारतीय सरकार प्रमुख मोदीको सातो उड्नुपर्ने कारण के होला, तपार्इंलाई थाहा होला ? इमान, जमान र कमान्ड भएको नेताले मात्र नबिराउनु र नडराउनुझैँ सही र दूरगामी काम गर्न सक्छ । सबैभन्दा ठूलो कुरा लोभ र लाभ हो । देश, दुनियाँ र देशवासीको दुःख मात्र निवारण गर्ने ध्येयको मानिस वा नेता मदन र ओलीजस्तै हुन्छन् । ती त सानाकाठले डढ्दैनन् । हेर्नुभयो नि नाकाबन्दी नखोली भारत भ्रमण गर्दिनँ भन्नुभयो ओलीले । जीवनको कुनै ठेगान नभएको नेतालाई व्यर्थमा किन घोचिरहनुहुन्छ ? तर, चुनौतीका पहाडसित लडेर विजय हासिल गर्ने क्षमताका नेतालाई यस्ता रून्चे र पिन्चे कुराको केही अर्थ रहँदैन । ओली देश, जनता, जनजीविका र राष्ट्रिय गौरवका लागि पनि अझै सशक्त र जीवन्त हुनुहुन्छ । झिँगाको सरापले डिंगा मर्दैन । दसौँ महाधिवेशनमा पनि ओली वा ओलीले पत्यार गरेको नेतामात्र अध्यक्ष हुनुपर्छ, नत्र यो पार्टी एमाले होइन कुमालेचाहिँ अवश्य हुन्छ । आकाशजत्रो छाती भएका ओलीले कुखुरेछातीलाई अवश्यै पत्यार गर्नुहुन्न । तर, केही कुमाई कमरेडबाट भने ओलीले बच्नुपर्छ । प्रबुद्ध एमाले नेता प्रदीप ज्ञवालीबाट अहिलेका माथिल्ला एमाले नेताले आफ्नो नेतृत्वलाई बहुआयामिक बनाउन धेरै कुरा सिक्न सक्छन् । उनको हालै प्रकाशित पुस्ताकार कृति
    तिनले पढे हुन्छ ।

    हिजै जननेता मदन भण्डारीलाई करिब एक्लो पारेर कटु र तिक्त आलोचना गरेर हैरान पारेको हामी पनि बुझ्छौँ । आदरणीय नेता जीवराज आश्रितमात्र मदनका सकारात्मक कुराका पक्षधर हुनुहुन्थ्यो । सारा भित्री र बाहिरी चुनौतीसित जुधेर अगाडि बढ्नु पो बढ्नु । यति कुरा पनि माक्र्सवादी र जबजको शिक्षाका आधारमा भन्न खोजिएको हो । माओले भूलहरुको आलोचना गर्नुपर्छ भन्नुभएको छ । मदनले प्राज्ञिक स्वतन्त्रताको जबजमा पक्षपोषण गर्नुभएको छ । माओले नै गलत विचार रुपी विषालु झारपात उखेल्नुपर्छ भन्नुभएको छ । यसको अर्थ आफ्नो घरबारी र आँगनमा उम्रिएका झारपातचाहिँ जोगाउनु र तिनलाई मलजल गर्नु त पक्कै भनेको होइन तर एमालेको शिक्षा र सिकाइ जबजअनुकूल पटक्कै भएको छैन । कतिपय नेता र कार्यकर्ता पार्टीका नेतालाई देउताजस्तो गर्न खोज्छन् । एमालेका कतिपय नेतालाई तपार्इंको अनुहारमा कालो दाग छ हेर्नुहोस् त ऐना भन्दा पनि जरक्क जर्किन्छन् । एमालेका कतिपय नेता र कार्यकर्ता बुद्धु छैनन् ।

    पुच्छरमात्र बल्ने जूनकीरी मात्र छैनन् । सूर्यजस्ता तेजिला, रापिला र तापिला पनि छन् । होश गर्नुहोला नेतागण । घाम लागेपछि अँध्यारो भाग्नैपर्छ, भागेन भने त्यसले डढ्नैपर्छ र खरानी पनि हुनसक्छ । तर, घामसित जिस्किनचाहिँ हुँदैन । जान्दा घाम न्यानो हुन्छ, नजान्दा त्यसले डढाउँछ । शुक्रनीतिमा जनताको अहित गर्ने राजालाई डोरीले बाँधेर घिसार्दै लगेर माटामुनि पुरे हुन्छ भनिएको छ । यो आजको होइन अठारौँ शताब्दीको कुरा हो । अनि आजको बाइसौँ शताब्दीमा त्यसमा पनि कम्युनिस्ट पार्टीमा त्यसमा पनि जबज वा मदन भण्डारीले सिर्जना गरिदिएको र ओलीले हाल नेतृत्व गरेको राप, ताप र प्रतापसहितको यस पार्टीमा गलत, अवसरवादी र निजी स्वार्थमा लम्पट नेतालाई किमार्थ मानिदैन । यसरी मान्ने भए राणा, राजा, कांग्रेसलगायत अनेक उग्रतत्व थिए र छँदै छन् नि । तिनका पछाडि नलागेर देश, जनता, जनजीविकाका खातिर स्वत्व बचाउसहित लागेपछि झुम्राको पुतली बन्नु छैन । आखिर चाकरी, चाप्लुसी र चम्चागिरीबाटै अहिलेसम्म देश उँभो नलागेको हो । सबै पञ्च नेपाली, सबै नेपाली पञ्च, सबै नेपाली कांग्रेस भनेझैँ गर्दा तिनको बिल्लिबाँठ भएको होइन र ? त्यसैले एमाले नामो पार्टी र नेतृत्वले गरेका सबै नराम्रा कामलाई राम्रो, राम्रो भनेर भड्खालमा हाल्ने गति, मति भए राम्ररी गरौँ अनि छिट्टै यस पार्टीलाई भड्खालामा हालौँ । नवौँ महाधिवेसनबाट ओली अध्यक्ष भएकैले यो पार्टी मण्डलेकरण हुनबाट जोगिएको हो ।

    अझै पनि एमालेमा माथिल्लो तहका कतिपय नेताहरु मात्र अवसर, सुविधा र स्वार्थका खातिर लागिरहेको देखिन्छ । नेता र कार्यकर्ताले उहिलेका, बीचका र अहिलेका झलनाथ खनाललाई राम्ररी बुझ्छन् । कृषिमन्त्री, पार्टी अध्यक्ष र प्रम हुँदाका सबै नालिबेली लिएर बसेका छन् । तपाईंका परिवार, पत्नी कति जनमैत्री छन्, के–कस्ता बेहोराका छन्, सबै–सबै थाहा छ । कमरेड युवराज ज्ञवाली कस्तो हुनुहुन्छ । कमरेड शंकर पोखरेलको कमजोरी के–के हुन् ? कमरेड विष्णु पौडेल आफ्ना समकालीन नेता र कार्यकर्ताप्रति मैत्री र विरोधी भावना राख्छन्, उनी कति अस्थिर र अररा छन् ? सबै थाहा पाइन्छ । जहाँ नपहुँचे रवि त्यहाँ पहुँचे कवि भन्ने हिन्दी उखान थाहै होला । अहिले सञ्चार सञ्जाल यति व्याप्त भएको छ कि कुनै पनि एमाले उपल्लो, माथिल्लो र मझौलो नेताले गल्ती कमजोरी दोहोर्यायो भने उनको घर, छरछिमेक, क्षेत्र र जिल्लाका सञ्चार माध्यमबाट पहिले सुधार्नेगरी, त्यसले पुगेन भने उधार्नेगरी अँध्यारो मास्नेगरी लेखिनेछ कमरेड होश गरौँ है ।

    एमाले नेताद्वय ससुरा र ज्वाइँबीच के–कस्ता कुरामा झैभगडा हुन्छ र भयो ? राष्ट्रपतिका उम्मेदवार विद्या भण्डारीलाई कसले मत दिएन, खालीमत कसले खसायो, कसले क–कसलाई विद्या भण्डारीलाई मत नहाल्न कनसुत्ले गर्यो सबै थाहा पाइएको छ । तर, आफ्नै आमाले पोइल जाने नियतले गरेका तमाम गतिविधि थाहा पाएर पनि सार्वजनिकीकरण गरिहाल्न नमिलेझैँ एउटा जिम्मेवार जबजको जिन लेखकले जिब्रो चपाइदिएको मात्र हो । पोलै खोल्नुपर्ने दिन आयो भने यत्तिका समय, श्रम, पसिना र रगतले सिञ्चित यो आन्दोलन रक्षार्थ खुल्ला रुपमा मुख खोल्नुपर्ने दिन नआओस् झलनाथ कमरेड ?

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij