प्रकाशित मिति : सोमवार, अशोज ३, २०७३
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संविधानको कार्यान्वयनमार्फत लोकतन्त्रको जगेर्ना र राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न देशका सबै राजनीतिक दल र सम्पूर्ण नेपालीलाई समर्पित हुन आब्हान गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले देशवासीको नाममा सन्देश दिँदै नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र प्रतीक्षापछि संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको दिन असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भनी हार्दिक शुभकामना व्यक्त गरेकी हुन् ।
आजको यस दिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत, समृद्ध, न्यायपूर्ण, सन्तुलित र समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत र बहुआयामिक विकासका लागि अघि बढ्न थप प्रेरणा दिनुपर्ने भन्दै यसप्रति सबै नेपाली कृत्सङ्कल्पित हुनुपर्ने सन्देशमा उल्लेख छ ।
नेपाली जनताले पटकपटक गरेका विभिन्न आन्दोलनपछि प्राप्त नेपालको संविधान, २०७२ ले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी सबै तह, तप्का, वर्ग, क्षेत्रका जनताको हक अधिकार प्रत्याभूत गरेको राष्ट्रपतिले सन्देशमा भनेकी छिन् ।
सन्देशमा भनिएको छ– ‘‘संविधानले लामो समयको राजनीतिक द्वन्द्व र सङ्क्रमणको विधिवत् अन्त्य गरी नेपाली जनतालाई पूर्ण सार्वभौम बनाई समृद्ध नेपालको सपना बोकी देशको भाग्य र भविष्य आफैँ निर्धारण गर्ने अभिभारा हामी सबैमाझ सुम्पेको छ ।’’
संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको सन्देशमा उल्लेख छ ।
सन्देशमा भनिएको छ–‘‘राजनीतिक अधिकार सुनिश्चित भएको वर्तमान परिप्रेक्षमा सिङ्गो मुलुक आन्तरिक स्रोत र साधनको अतिरिक्त बाह्य सहयोगसमेतको अत्याधिक सदुपयोग गर्दै कृषिको आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, वृहत्तर विकासका पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रबद्र्धनमा केन्द्रित हुनुपर्दछ ।
संविधान कार्यान्वयनमा तीव्रता दिन उपराष्ट्रपतिको आग्रह
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको संविधान कार्यान्वयनलाई गति दिन सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराएका छन् ।
उपराष्ट्रपति पुनले संविधान दिवसका अवसरमा आज शुभकामना दिनुहुँदै संविधान कार्यान्वयन प्रक्रिया अगाडि बढिरहेको भए तापनि संविधानको तीव्र कार्यान्वयनतर्फ सबै नेपालीको ध्यान केन्द्रित हुनुपर्ने र कार्यान्वयनको विषय सबैको साझा एजेन्डा बन्नुपर्नेमा जोड दिएका हुन् ।
उपराष्ट्रपति पुनले भनेका छन् “आफ्नो संविधान आफँै जारी गर्ने नेपाली जनताको एजेन्डा पूरा हुनेगरी संविधानसभाबाट संविधान जारी भएको एक वर्ष पूरा भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत विभिन्न कालखण्डका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धि संस्थागत भएको स्वर्णीम दिन संविधान दिवस हो ।”
नेपालीले सात दशक लामो समय राजनीतिक सङ्घर्षमा बिताएको र संविधानसभाबाट संविधान जारी भएसँगै राजनीतिक सङ्घर्ष मूलभूत रुपमा पूरा भएको उल्लेख गर्दै उनले संविधान दिवसका अवसरमा संविधानको तीव्र कार्यान्वयन तथा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अझै बलियो बनाउन नेपालका सम्पूर्ण जातजाति, भाषाभाषी, धर्म संस्कृति र भूगोलका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने अपेक्षा लिएको स्पष्ट पारेका छन् ।
संविधान कार्यान्वयनका क्रममा देखिएका केहीँ असन्तुष्टिसमेत चाँडै सम्बोधन हुने विश्वास उपराष्ट्रपतिले लिएका छन् ।
संविधान दिवसले अहिलेको हाम्रो प्रमुख कार्यभार संविधान कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरणसहितको समृद्ध राष्ट्र निर्माण र बलियो राष्ट्रिय एकताका लागि सहमति, सहयोग र सहकार्यको बाटोमा अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास लिएका छन् ।
प्रधानमन्त्रीकाृ सनदेश यस्तो
नेपालको संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना सन्देश जारी गर्दै संविधानको स्वीकार्यता बढाएर संविधान कार्यान्वयनमा सफलता मिल्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले सोमबार जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको संविधान पनि गतिशील र जीवन्त दस्तावेज भएकाले हाम्रो मुलुकको वस्तुगत परिस्थिति अनुसार यसलाई संशोधन गर्नुपर्ने हुन्छ ।
र, एकचोटि यसका महत्वपूर्ण अंशमा संशोधन भइसकेको छ भने सरकार अर्को संशोधनका लागि गम्भीरतापूर्वक लागि परेको यहाँहरुलाई विदितै छ । गरिन लागेको संशोधनबाट मधेशी, थारु आदिवासी लगायत समुदायका गुनासाहरुको यथोचित सम्बोधन भई संविधानको स्वीकार्यता अझ फराकिलो हुन गई यसको पूर्ण कार्यान्वयनले गति लिने विश्वास लिएको छु ।’
प्रधानमन्त्रीले ‘सरकारले सबै राजनीतिक दल र सरोकारवालाहरुको परामर्शका आधारमा एउटा सुविचारित तथा बृहत तर कार्यान्ययनयोग्य दृष्टिपत्र र कार्ययोजना ल्याउने सोच बनाएको’ पनि सन्देशमा उल्लेख गरेका छन् ।
काँग्रेस सभापति देउवाद्वारा शुभकामना
नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताका निर्वाचित प्रतिनिधिद्वारा संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान नेपाली इतिहासको एउटा महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
संविधान दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा सभापति देउवाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त नेपाली समाजलाई संविधानले पारस्परिक एकता र सहकार्यतर्फ डो¥याउन बलियो आधार प्रदान गरेको उल्लेख गरेका छन् ।
यस संविधानले नेपाली जनतालाई सार्वभौमसत्ता र राजकीयसत्ता सम्पन्न बनाएकाले नेपाली जनताको लोकतन्त्रप्रतिको अटुट निष्ठालाई नेपाली काँग्रेसले हृदयदेखि नै सम्मान गरेको सभापति देउवाले बताएका छन् ।
यस्तै सभापति देउवाले संविधानको कार्यान्वयन अहिलेको महत्वपूर्ण दायित्व र जिम्मेवारी रहेको भन्दै संविधानको कार्यान्वयन र मुलुकको समग्र विकासमा सबै राजनीतिक दललाई इमान्दार रहन संविधान जारी भएको यस ऐतिहासिक दिनले प्रेरणा र मार्गदर्शन प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेका छन् ।
यसैबीच नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता, सामाजिक न्यायजस्ता कुराको मूलभूत विशेषता रहेको यस संविधानले खासगरी उपेक्षित र उत्पीडित जनताका अधिकार सुरक्षित गर्न सफल रहेको बताएका छन् ।
संविधानबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत एवम् सुरक्षित गर्दै यसैका माध्यमबाट जनताका हक अधिकार सुनिश्चित गरी आर्थिकरुपमा समृद्ध नयाँ नेपाल निर्माणको बाटोमा अग्रसर हुन उहाँले सबैमा आग्रह गरेका छन् ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले संविधानको सफल कार्यान्वयनका लागि मुलुकमा स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन अपरिहार्य भएको र यसका लागि सरकार, राजनीतिक दल र सम्बद्ध पक्ष जागरुक रुपमा तयार रहनु आवश्यक भएको बताएका छन् ।
असन्तुष्ट पक्षका भावना र विचारलाई समेट्दै संविधान संशोधनको माध्यमद्वारा उनीहरूको माग सम्बोधन गर्न जोड दिएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij