प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३
संसारमा समय, परिश्रम र शिक्षाभन्दा ठूलो अरु केही छैन । तर पनि पछिल्लो समय नेपालमा मात्र होइन, विश्वमै पुँजीवादले वर्चश्व जमाउँदै आएको छ । पुँजीवादले गाँज्नु भनेको व्यक्ति, समाज, देश र विश्वलाई नै नकारात्मक कुरा हो । पुँजी अर्थात् धनवादले नै मान्छेलाई निर्दयी, निष्ठुरी र स्वार्थी पनि बनाउँछ । किनभने पुँजी लगानी गरेर पुँजीपतिले गरिबलाई शोषणमात्र गर्छन् । पुँजीवादले शिक्षालाई महत्व दिँदैन, खालि पुँजीलाई मात्र प्राथमिकता दिन्छ । पुँजीपतिले गरिबलाई मान्छे नै मान्दैनन् र भन्दैनन् । उनीहरु गरिबलाई नोकर, तल्लो दर्जा र हेपिएका वर्ग ठान्छन् । अहिले जताततै यसकै राज छ । तर, यो पनि धेरै वर्षसम्म टिक्दैन किनभने समय र प्रकृतिले त्यस्तो सधँै रहन दिँदैन । मैले यहाँ भन्न खोजेको पुँजी अर्थात् धनको कुरा गर्न खोजेको हो ।
पुँजीवादले गर्दा अहिले अल्पविकसित मुलुकलाई विकसित मुलुकले अपांगजस्तै बनाउन खोजिरहेका छन् । किनभने सबै परनिर्भरताको बानी हामीलाई बसालिरहेका छन् । त्यसको पछिल्लो उदाहरण नेपालको शिक्षा प्रणाली र त्यससँग वैदेशिक रोजगारीलाई लिन सकिन्छ । नेपालमा गतिलो शिक्षा नीति अभावका कारण बेरोजगारी बढिरहेको छ । थुप्रै पढेलेखेका पनि उचित रोजगारी नपाएकाले रोजगारी र कमाउनका लागि बिदेसिनु पर्ने बाध्यता छ । त्यसैले धन कमाउन अहिले विदेशी पुँजीपति र स्वदेशी पुँजीपतिले दोहोरो मारमा जनतालाई पारिरहेका छन् । स्वदेशी पुँजीपतिले चर्को ब्याजमा विदेश जानेलाई रकम लगाइरहेका छन् भने विदेशी पुँजीपतिले श्रम शोषण गरेर लुटिरहेका छन् । हो यहाँनेर एकपटक मनन गर्नैपर्ने कुरा के छ भने पुँजीपति पुँजी वा धन लगानी गरेर अर्बांै धन थुपारिरहेका छन् । उनीहरु समाज, देश र विश्वमा राज गर्न चाहन्छन् । पुँजीपतिहरु गरिबलाई तलको तलै पार्न पुँजीकै बीउ रोप्ने, पुँजीकै खेती गर्छन् । तर, त्यो हामी थाहा पाउँदैनाँै । त्यो अदृश्य हुन्छ । आज लाखौँ नेपाली विदेशीको दासका रुपमा काम गर्न बाध्य छन् ।
आज स्वदेशमै पनि लाखौँ मानिस एकछाक टार्न पुँजीपतिको हातपाउ गर्नुपर्ने अवस्था छ । आज लाखौँ नेपाली धन कमाउन बिदेसिनुपर्ने बाध्यता छ । यस्तो बाध्यता पनि ती पुँजीपतिले नै सिर्जना गरिदिएका हुन् । किनभने वर्तमान जीवनस्थिति पुँजीपतिले जिउने अवस्थाको छ । गरिबले त्यो धान्न सकिरहेका छैनन् र बिदेसिन बाध्य छन् । आज लाखौँ नेपाली धन कमाउनकै लागि विदेश जान बाध्य छन भन्नुको अर्थ पुँजीपतितिर लाग्दै छन् भनेको होइन । बरु पुँजीपतिले पुँजी वा धनप्रति लालायित छन् । गरिब नेपालीलाई सपनाको संसार देखाएर धन कमाउन आश्वासन दिइरहेका छन् । मैले भन्न खोजेको कुरा हामी आफ्नै घरनजिकैको पुँजी वा धनलाई चिन्दैनौँ, हामी विदेशमा जानुका कारण पनि कतै आफ्नै परिश्रम वा गाउँघरको धन नचिनेर बिदेसिएका त होइनौ ? भन्ने प्रश्न मात्र खडा गर्न खोजेको हो ।
त्यसैले अब तपार्इं हामी बेरोजगार भयौँ भन्दै धन खोज्दै बाहिर जानेभन्दा पनि नेपालमै केही गरेर वा सिर्जनशील काम गरेर पो बस्ने हो कि ? एकपटक सोचौँ त ? के अमेरिकाका बिल गेट्सले विश्वका अन्य देशमा गएर पैसा कमाएका हुन् त ? पक्कै पनि होइन, बिल गेट्सले अमेरिकामा बसेर नै विश्वको पैसा तानिरहेका छन् । विश्वको पैसा खिचिरहेका छन् । के विश्वका ठुल्ठूला बहुराष्ट्रिय कम्पनीले पैसा कमाउन धेरै देशमा जानुपरेको छ र ? अहँ जानुपरेको छैन । विश्वका थुप्रै धनी व्यक्तिले के अरुका देशमा धन कमाउन गएर नम्बरीवाला धनी बनेका हुन् त ? पक्कै पनि होइन । पैसा कमाउन अरुको ठाउँमा, अरुको देशमा जानुपर्दैन । सानो भए पनि फरक काम गर्न सके धन यहीँ हाम्रै हातमा आउँछ । धन टिप्न विदेश जानु पर्दैन । नयाँ होइन, फरक तरिकाले काम गरौँ । धन नेपालमा जति पनि कमाउन सकिन्छ । नेपालकै उदाहरण लिने हो भने पनि के जुम्ला, मुगु र डोल्पाको स्याउले भारतीय र चिनियाँको पैसा खिचेको छैन र ? के कास्कीको कोदोले विदेशी रकम तानेको छैन र ? के नेपालको गलैँचाले अमेरिकी पैसा तानेको छैन र ? के मुसिकोट रुकुमको बीउविजनले बंगाली वा विदेशी रकम तानेको छैन र ? पक्कै पनि तान्न सफल भएको छ ।
स–साना कामबाटै हामीले विदेशी रकम नेपालमै बसी–बसी तान्न सक्नुपर्छ । हामीले अरु गर्न नसके पनि के नेपालमा ठूला विद्युत् निकालेर विश्वलाई बेच्न सक्दैनौँ र ? के हिमाली जिल्लामा स्याउ, अलैँची, चिया, कफी, आलु, अदुवा, जडीबुटी र पशुपालन गरेर विश्वको पैसा तान्न सक्दैनौँ त ? के नेपालको मनमोहक पर्यटकीय क्षेत्रलाई व्यापक प्रचार गरेर पर्यटन भित्र्याई विदेशी रकम खिच्न सक्दैनौ र ? के नेपालका सांस्कृतिक सम्पदा संरक्षण गरी संग्रहालयमार्फत विदेशी रकम तान्न सक्दैनौँ र ? अनि यतिधेरै पर्यटक नेपालमा आए भने के हामीले स–साना व्यवसाय चलाउन सक्दैनौँ र ? के यति भएपछि विदेशी रकम ल्याउन वा कमाउन विदेशमै जानुपर्ला त ? एकपटक सोचाँै त ? के यस्ता काम गर्न नसकिएला त ? पक्कै पनि सकिन्छ । तर, हामीले आफ्नै बारीको आलु, अलैँची, अदुवा, मुला, यार्चागुम्बा, जलस्रोत, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदालाई चिनेनौँ वा देखेनौँ । हामीले देख्यौँ त मात्र विदेशको धन देख्यौँ । आज अमेरिकी पर्यटक नेपालमा घुम्दै गर्दा हिमालदेखि तराई जोड्ने केबलकार देख्छन् रे । हाम्रै नेपालमा आउने हजारौँ चिनियाँले पहाड खोलेर रेल चलाएको सपना दिउँसै देख्छन् रे । नेपाल घुम्न आएका जापानी यहाँका नदीनालाबाट विजुली निकालेर यहाँका रुखका पात–पातमा बिजुली बालिदिने सपना देख्छन् रे । कोरियाली नेपाल आए भने नदीमा र्याफ्टिङ गरेको सपना देख्छन् रे । दक्षिणी भारतीयहरु नेपाललाई एक बगैँचाजस्तो सुन्दर बनाउने सपना देख्छन् रे ।
तर, खै हामीले देखेको ? खालि हामी नेपालीले अरुको मात्र देख्छौँ । तर, यसका लागि नेपालमा गतिलो व्यक्ति सरकारमा जानुपर्छ । अहिलेसम्म यस्तो गर्ने व्यक्ति नेपालमा जन्मेको छैन । तर, कहिले जन्मेला ? आशा गरौँ, एक दिन अवश्य जन्मिनेछ र जन्माउनुपर्छ । यस्तो व्यक्तिको नेपालमा जन्म भयो भने नेपालको स्रोत र साधन अधिकतम प्रयोग गरी विश्वको पैसा नेपालीले नेपालमै बसेर कमाउने छन् र नेपाललाई समृद्ध बनाउनेछ । तपार्इं आफैं सोच्नुहोस् के नेपालमै पनि पानीपुरी बेच्नेले धन कमाउँदैन र ? के ठेलागाडा चलाउने कुनै व्यापारी पैसा कमाउँदैन र ? के नेपालगन्जका साना व्यापारीले नाङ्लोमा पनि सामान बेचेर पैसा कमाएका छैनन् ? के स्याउ बेचेर पैसा कमाएका छैनन् र ? के समोसा बेचेर पैसा कमाएका छैनन् ? के चाउचाउ, बिस्कृट बेचेर पैसा कमाएका छैनन् ? के तरकारी बेचेर पैसा कमाएका छैनन् ? के जुत्ता सिलाएर पैसा कमाएका छैनन् ? के मकै पोलेर पैसा कमाएका छैनन् ? के चाउमिन पसल गरेर पैसा कमाएका छैनन् ? के फलाम बेचेर पैसा कमाएका छैनन् ? के कपडा बेचेर पैसा कमाएका छैनन् ? के कापी, कलम बेचेर पैसा कमाएका छैनन् ? के गाडी चलाएर पैसा कमाएका छैनन् ? के दूध, दही बेचेर पैसा कमाएका छैनन् ? आखिर पैसा कमाउने अरु के नै नयाँ छ र ? जुनसुकै तरिकाले पैसा कमाए पनि आखिर काम त गर्नैपर्छ । हेर्नुहोस् आज हामीले हेर्दाहेर्दै दुनियाँले केरा बेचेर, पानीपुरी बेचेर, ठेला चलाएर, तरकारी बेचेर होस् या यस्तै–यस्तै अनेकौँ स–साना व्यवसाय गरेर पैसा कमाएका छन् ।
हामी खालि कर्मचारी हुन चाहन्छौँ । कर्मचारी हुँदैमा पैसा कमाइँदैन । सबै कर्मचारीले पैसा कमाएका छैनन् । अहिलेको कर्मचारीको तलबले केही पुग्दैन । कसैलाई त पुगेको पनि छैन । नपत्याए कुनै सरकारी कर्मचारीलाई तपार्इंले त जागिर खाएर धेरै प्रगति गर्नुभयो रे, धेरै हुन्छ रे है तलब ? बैंकमा पनि टन्नै जम्मा गर्नुभएको छ रे है वा कत्तिको सन्तुष्टि हुनुहुन्छ ? भनेर सोध्नुहोला त । तपाईंले जवाफ तुरून्तै पाउनुहुनेछ । हामी खालि अरुलाई मात्र हेर्छांै । पैसा कमाउन भन्दै विदेश जानेको पनि कमी छैन नेपालमा । के विदेशमा धनपैसा फलेको देखेरै हो त गएको ? के साँच्चिकै विदेशमा धन फल्छ त ? धन त जहाँ कर्म गरिन्छ, त्यहीँ फल्छ । जहाँ जोश, जाँगरसहित काम गरिन्छ, त्यहीँ धन फल्छ । हामी विदेशमा धन फलेको छ कि भन्दै विदेशमा छिटो–छिटो जान पुग्छौँ । तर, विदेशमा सोचेभन्दा धेरै गुणा फरक परिवेश हुन्छ । आज नबुझेरै विदेश जाँदा हाम्रा लाखौँ नेपालीले दुःख पाएका छन् । के विदेशमा बसी–बसी पैसा कमाइन्छ ? अहँ त्यहाँ सोचेभन्दा धेरै गुणा बढी परिश्रम र काम गर्नुपर्छ ।
विदेश गएका नेपालीले प्रशस्तै धन कमाएका छन् त ? के त्यो धन आजीवन हो त ? पक्कै पनि होइन । एकपटक कमाएको धनले कहिल्यै पुग्दैन । दुईपटक कमाएको वा तीनपटक कमाएको धनले कहिलेसम्म पुग्छ र ? त्यसैले दिगो धन कमाउने पेसा त नेपालमै सानोबाट सुुरु गर्न सक्छाँै । आज विदेशमा पनि हजारौँ दाजुभाइ तथा दिदीबहीनीले ज्यानलाई बाजी राखेर, ज्यानको जोखिम मोलेर काम गरेको साँच्चिकै हामीले बुझेका छैनौँ । धन कमाउन सजिलो पनि छ, गाह्रो पनि । तपाइंले नै विदेशमा गएकालाई विदेशमा कत्तिको सुख पाइन्छ ? वा कामको के–कस्तो चाप हुन्छ ? भनेर सोध्नुहोला त ? तपाईंले अहिलेसम्म विदेशमा गएकाले भन्ने गर्छन्, ‘यो विदेश जानु नपरोस् ।’ हो, साँच्चिकै विदेशमा कसैले जानु नपरोस् तर हाम्रो देशमा राजनीतिक अस्थिरताले देश विकास हुन नसक्दा र शान्ति अमनचैन हुन नसक्दा हामी बेरोजगार छौँ र विदेश जान बाध्य बनाइन्छाँै ।
आउनुहोस् अब धन कमाउन वा धन फलाउन विदेश होइन, स्वदेशमै काम गर्नु सिकाँै । विदेशमा गएर भाँडा माझ्न लाज नमान्ने, स्वदेशमा लाज किन मान्ने ? हो– यही छ हाम्रो गलत धारणा । काम त जहाँ गरे पनि गर्न सक्नुपर्यो नि त । हुन सक्ला नेपालमा कुनै कामको सम्मान छैन । तर, तपाईं हामीले एउटाले होइन, हजारौँले सबै कामलाई समान दृष्टिकोणले हेर्दै काम गरौँ त । हामीले दुई÷चार वर्षमै ठूलो प्रगति गर्नेछौँ । हाम्रो प्रगति देखेर साथीभाइ, घरपरिवार, छरछिमेक, सरकार लोभिनेछन् । हामीले गरेको जस्तै काम सबैले निर्धक्कसाथ गर्नेछन् । हामीले जुन काम गरे पनि लगातार गर्नुपर्छ । त्यसैबाट प्रगति गरेर देखाउने हो । हामीले प्रगति गर्दै गयौँ भने जिन्दगीभरि भाँडा माझ्नै पर्दैन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij