आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्रीलाई संसद्बाट ओलीका नौ प्रश्न

  • प्रकाशित मिति : बुधबार, अशोज १२, २०७३



  • काठमाडौं   ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबाट फर्केपछि संसद्लाई जानकारी नदिएको भन्दै प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले आलोचना गरेका छन् । संसद्मा मंगलबार विशेष समय लिएर बोल्दै ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे धेरै प्रश्न उठाएका छन् ।

    १. संसद्लाई जानकारी गराउनुपर्दैन ?
    प्रधानमन्त्रीले आफू भारत भ्रमणबाट फर्केपछि संसद्लाई जानकारी दिनु नपर्ने होर ? बाहिर–बाहिर त सम्बन्ध सुध्रिएको भन्दै हिँड्नुभएको छ, के सप्रिएको हो ? संसद्लाई जानकारी दिनुपर्दैन ?’

    २. सम्बन्धमा सप्रिएको के हो ?
    नेपाल र भारतबीचको सम्बन्ध कहाँ बिग्रेको थियो ? अहिले के सप्रियो ? प्रधानमन्त्री हट्नु वा नयाँ प्रधानमन्त्री बन्नु सप्रनु हो ? के कुनै नाकाबन्दी थियो वा व्यवधान थियो र हट्यो कि ? के संविधानमा भारतीय चासो बढाउनु भ्रमणको उपलब्धि हो ? सार्वभौम नेपालको संविधानबारे साझा चासोका विषयझैँ अनावश्यक चासो र भूमिका किन दिन खोजियो ?

    ३. विदेश गएर प्रतिपक्षीको धज्जी उठाउँछन् ?
    अहिलेका प्रधानमन्त्री मात्र होइन, अरू पनि प्रधानमन्त्री विदेश भ्रमणमा जान्छन् । तर, अरूले विदेशमा गएर प्रतिपक्षको धज्जी उडाउँदैनन् । सबैको मर्यादालाई ख्याल गर्नुपर्ने हुन्छ । भारतमा गएर नेपालमा फलानो–फलानो पार्टी र नेता भारतविरोधी छन् भनेर कूटनीतिक मर्यादाविपरीत कुरा गर्ने ? अन्तर्राष्ट्रिय मामिलामा भारतसँग निकट सहकार्य गर्ने भन्ने संयुक्त वक्तव्यमा उल्लेख गराएर नेपालको पञ्चशीलका सिद्धान्त, पारस्परिक लाभ, असंलग्न परराष्ट्र नीतिविपरीत काम कसैले पनि गर्दैनन् । नेपालको परराष्ट्र नीति भारत वा कुनै मुलुकसँग बाँधिँदैन । त्यसरी बाँधिने कुराले सार्वभौम राष्ट्रको भूराजनीतिमा प्रतिकूल असर पार्छ ।

    ४. जेमा पनि हस्ताक्षर गर्ने ?
    दुई देशका प्रधानमन्त्रीको संयुक्त वक्तव्यमा उल्लेखित केही बुँदामा कूटनीतिक सन्तुलन नमिल्ने गरी अपमानजनक बुँदा रहेको छ । दुवै देशका परियोजनाबारे नेपाल सरकार र काठमाडौंस्थित भारतीय दूतावासले समन्वय गर्ने भनेर असन्तुलित र अपमानजनक बुँदामा प्रधानमन्त्रीले हस्ताक्षर गर्नुभएको छ । यसले नेपाल सरकारको प्रोटोकलको ख्याल गरेको देखिएन, मर्यादा पनि भएन ।

    ५. विशेष दूत पनि पठाउनुभयो, त्यो केका लागि ?
    केका लागि विशेष दूत ? नयाँ सरकार बनेकामा धन्यवाद दिन ? अरू विशेष अवस्था के परेको थियो नेपालमा र विशेष दूत पठाउनुपर्ने बाध्यता आइलाग्यो प्रधानमन्त्रीज्यूलाई ?

    ६. संविधान संशोधन किन ?
    संविधान संशोधनका विषयमा बाहिर प्रचार गरिएको छ, दलहरूका बीचमा यो विषयमा छलफल गर्नुपर्दैन ? के विषयमा किन संविधान संशोधन गर्ने हो प्रस्ट्याउनुपर्दैन ? प्रतिपक्षले नमाने पनि दुईतिहाइ पुर्‍याउने र पेलेर संविधान संशोधन गर्ने रे भन्ने सुनिन्छ, यो के भनेको ? प्रतिपक्षीविना संविधान संशोधन कसरी सम्भव छ ? प्रतिपक्षको सहमतिविना सर्वस्वीकार्यताको अर्थ त मैले शब्दकोशमा पनि देखेको छैन ।

    ७. कसरी चुनाव हुन्छ ?
    संविधान कार्यान्वयनमा यो सरकार गम्भीर छैन । अबको १३ महिनाभित्र तीनवटा निर्वाचन गर्नुपर्ने भए पनि सरकार मौन छ, दंग छ र मस्त छ । उसले चुनाव गराइन्छ त भनेको छ । तर, न कार्यतालिका छ, न कानुन नै निर्माण भएका छन् । अनि कसरी हुन्छ निर्वाचन ?

    ८. फरार अभियुक्त भेट्न राजकीय प्रबन्ध मिलाउनुपर्छ ?
    विनातयारी र योजना त्यस्तो भेटघाट हुन सक्दैन । त्यस्तो भेटघाटका लागि राजकीय भ्रमणको प्रबन्ध मिलाउनुपर्छ, प्रधानमन्त्रीज्यू ?

    ९. कुरा मिलाएको भनेको के हो ?
    एमालेले कसैलाई उक्साइरहनु आवश्यक छैन । एमाले आफ्नै गतिमा हिँड्ने पार्टी हो, कसको कोसँग कनेक्सन छ, कुरा मिल्छ भन्नेमा एमालेलाई चासो छैन । लडाकु प्रकरणमा सर्वोच्च अदालत, अख्तियारजस्ता निकायसँग कुरा मिलाएको भन्ने बाहिर आएको छ । यो कानुनी राज्य र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत कुरा हो । यस विषयमा पनि प्रधानमन्त्रीले संसद्मा भन्नुपर्छ, कुरा मिलाएको भनेको के हो ?

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij