प्रकाशित मिति : आइतवार, अशोज ३०, २०७३
काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो पहिलो राष्ट्रिय भेला मंसिर २ र ३ गते भृकुटीमण्डपमा गर्ने भएको छ ।
स्थानिय तह पुर्नसंरचना आयोगको प्रतिवेदन ढिलो भइरहेको र संविधान कार्यान्वयन प्रक्रियाले मूर्त रुप लिइ नसकेको कुरालाइ मध्यनजर गर्दै गत शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा वसेको केन्द्रिय कार्यालय वैठकले राष्ट्रिय भेलाको मिति परिवर्तन गरेको थियो ।
कार्तिक ११ र १२ गते गर्ने भनिएको भेलाको तयारी पुरा हुन नसकेका कारण पनि मंसिर २ र ३ गतेको लागि मिति सार्नुपरेको हेडक्वाटर सदस्य तथा १ नम्वर प्रदेशका संयोजक गोपाल किरातीले बताए ।
भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा हुन लागेको राष्ट्रिय भेलामा देशैभरीका २ हजार ५ सय महाधिवेशन आयोजक समितीका सदस्य सहभागी हुनेछन् ।
असोज दोश्रो हप्ता पार्टी कार्यालय पेरिसडाँडामा वसेको सचिवालय वैठकका अनुसार आयोजक समिती सदस्य संख्या २ हजार ५ सयलाइ मानेर जाने सहमती भएको नेता किराँतीले जानकारी दिए ।
भेलामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साँगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । सोही प्रतिवेदनमा संगठनको आकार कस्तो वनाउने, पार्टीको आगामी नीति तथा कार्यक्रम कस्तो हुने भन्ने कुरा समेटिनेछ । भेलामा सहभागी विभिन्न प्रदेश र जिल्लाका प्रतिनिधीले प्रतिवेदन उपर छलफल गर्नेछन् ।
भेलामा पार्टीको राष्ट्रिय महाधिवेशनसम्मको लागि २ हजार ५ सयकै संख्यालाई अन्तिम मान्यता दिने या जेठ ६ गते पार्टी एकता हुनेवेलाको ६ सय ९९ को कमिटीलाइ मान्यता दिएर जाने भन्ने विषयमा व्यापक छलफल गरिनेछ । २ दिन सम्म छलफल गरेपछि निस्कने निचोड नै अन्तिम हुने नेता किराँतीले बताएका छन् ।
हेडक्वाटरले राष्ट्रिय भेलामा सहभागी हुनको लागि मंसिर १ गते नै सबै प्रतिनिधीहरु सम्पर्कमा आइसक्नुपर्ने र २ र ३ गतेको भेलामा सहभागी हुने सवैले आफ्नो खाने, वस्ने कुराको व्यवस्थापन आफै गर्नुपर्ने नियम वनाएको छ ।
भेला भनिएपनि अन्ततः यो वैठक नै भएकोले व्यवस्थापनको जिम्मेवारी सम्वन्धित जिल्ला वा प्रदेशले गर्नुपर्ने नियम वनाइएको नेता किराँतीले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij