शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

बैङ्कका एटीएम काउन्टरहरू विदेशी चोरको निशानामा

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २३, २०७३



  • काठमाडौँ । बैङ्कका एटीएम काउन्टरहरू विदेशी चोरको निशानामा पर्न थालेका छन् । राजधानीमा एटीएम काउन्टरभित्र गोप्य रूपमा क्यामरा जडान गरी डाटा तथा पिन कोड नम्बर चोरेर अनाधिकृत रूपमा रकम निकाल्ने तीन विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग क्षेत्रका एटीएम काउन्टरबाट रकम झिक्न सक्रिय रोमानियाका नागरिक घाइता हुजुम, आइसिफ मोरारु र एलेक्स क्रिष्टियन बुगाइर्लानलाई पक्राउ गरेको छ । ब्युरोले यसअघि पनि बुल्गेरियाका नागरिक डिमो एटान्सोभ स्टेफानोभलाई समेत एटीएमको डाटा चोरी गरिरहेको बेला गत साता पक्राउ गरेको थियो ।

    पक्राउ परेका रोमानियाली नागरिकको समूहले सुरक्षागार्ड नभएका एटीएम मेसिनभित्र कार्ड स्क्यानिङ डिभाइस राख्नुका साथै हिडेन क्यामेरा राखी एटीएमको पिनकोड चोरी गर्ने गरेका थिए । ब्युरोले सोमबार पत्रकार सम्मेलन गरी उनीहरूले पूर्वी युरोपेली मुलुकबाट खाली कार्ड बोकेर आउने र ती कार्ड नेपालमा रहेका एटीएम काउन्टरमा गोप्य रूपमा स्क्यानिङ मेसिन जडान गरी कपी गर्ने गरेको जानकारी दिएको छ ।

    स्क्यानिङ कार्ड पैसा झिक्न प्रयोग गर्ने र पिन नम्बर हिडेन क्यामेराको सहयोगमा चोर्ने गरेको जानकारी पत्रकार सम्मेलनमा दिइयो । विशेष गरी नेपाल इन्भेस्टमेन्ट बैङ्कको एटीएम काउन्टरबाट यस्तो गतिविधि भएको जानकारी पाएपछि प्रहरीले बैङ्कको सहयोगमा उनीहरूलाई पक्राउ गरेको हो ।

    एटीएम काउन्टरमा स्क्यानिङ मेसिन डिभाइस जोड्न, खाली कार्ड राख्न र क्यामेरा जडान गर्न उनीहरूले घन्टौँ समय बिताउने गरेका थिए । पैसा झिक्न गएको बहाना बनाई काउन्टरभित्र छिर्ने तर घन्टौँ समय लगाएको दृश्य काउन्टरबाहिर जडान गरिएका सीसी क्यामेरामा पनि देखिएको प्रहरीले जनाएको छ ।

    ब्युरो प्रहरीले उनीहरूको साथबाट क्यामेरा, खाली एटीएम कार्ड, स्क्यानिङ डिभाइस लगायत उपकरणका अतिरिक्त तीन लाखभन्दा बढी नेपाली नगद, विभिन्न देशका मुद्रा बरामद गरेको छ ।

    कतिपय एटीएम विदेशमा समेत प्रयोग गर्न सकिने भएकाले उनीहरूले त्यस्ता बैङ्कका एटीएम कार्डको पिन नम्बर युरोपमा रहेका आफ्ना साथीलाई उपलब्ध गराई युरो तथा डलर झिक्न लगाउने गरेको जानकारी पनि प्रहरीले दिएको छ । ब्युरो प्रहरीले यसअघि पनि टर्की, बुल्गेरिया र रोमानियाका नागरिकलाई अबैध रूपमा एटीएमबाट रकम झिक्दै गरेको अभियोगमा पक्राउ गरेको थियो ।

    बैङ्कमा रकम राख्दा वा झिक्दा एसएमएसबाट सूचना पाउने व्यवस्था नहुँदा अन्तर्राष्ट्रिय अपराधी नेपालमा सक्रिय रहेको भनाइ प्रहरीको छ । कतिपय नेपाली एटीएमको प्रयोगप्रति सचेत नहुँदा यस्तो समस्या देखिएको ब्युरो प्रवक्ता दिवस लोहनीले बताउनुभयो । आजको गोरखापत्र दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij