शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

साढे चार वर्षपछि शव, दोस्रो पटक किरिया

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २३, २०७३



  • काठमाडौं  । बाँकेको ए गाउँ सीतापुरबाट झन्डै १६ घण्टा लामो बसयात्रापछि सोमबार वीरबहादुर खत्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । सिट नपाएपछि उभिएरै गरेको यात्राका कारण उनी थाकेका त थिए नै त्योभन्दा ठूलो चिन्ता उनको मनमा थियो । साढे चार वर्षअघि साउदी अरबमा सडक दुर्घटनामा परी मृत्यु भएका छोरा हर्षमान खत्रीको शव बल्ल काठमाडौं आइपुगेको थियो । वीरबहादुर छोराको शव लिन आएका थिए ।

    शव अहिले आइपुगे पनि वीरबहादुरले दुई वर्षअघि नै विधिपूर्वक छोरा हर्षमानको किरिया गरिसकेका थिए । मृत्यु भएको दुई वर्षसम्म पनि शवको पत्तो नलागेपछि उनले घरछेवैको चिरनखोलामा कुशको शव बनाएर दाहसंस्कार सम्पन्न गरेका थिए । किरिया सकेको दुई वर्षपछि गत वैशाखमा जिल्ला प्रहरी कार्यालयले उनलाई खबर गर्‍यो, ‘तपाईंको छोराको शव साउदीको किङ फहाद होफुफ अस्पतालमा भेटिएको छ ।’

    काजकिरिया गरिसकेका छोराको शव नेपाल ल्याउने प्रक्रियाका लागि त्यसपछि वीरबहादुर पछिल्ला ६ महिनामा तीन पटक काठमाडौं धाए । परराष्ट्र मन्त्रालयदेखि, कन्सुलर शाखा, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डदेखि गृह मन्त्रालयसम्म धाए । उपराष्ट्रपति नन्दबहादुर पुन, अर्थमन्त्री कृष्णबहादुर महरादेखि परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसम्मलाई भेटेर सरकारले नै खर्च बेहोर्ने गरी शव ल्याउने प्रक्रिया सुरु भएको थियो । मन्त्रिपरिषदले शव ल्याउने खर्च बेहोर्ने निर्णय भएको झन्डै तीन महिनापछि हर्षको शव आइपुगेको हो ।

    विमानस्थलमा भेटिएका वीरबहादुरले भने, ‘दु:खी भनौं भने महिनौंको दौडधुपपछि छोराको शव आएको छ । खुसी भनौं भने, शव छोराको देख्दा केको खुसी लाग्छ र ?’

    कक्षा आठ पास गरेपछि झन्डै डेढ वर्ष माओवादी पार्टीमा प्रवेश गरी सशस्त्र द्वन्द्वमा लागेका हर्षमानपछि वैदेशिक रोजगारीमा साउदी अरब गएका थिए । छोरा माओवादी कार्यकर्ता रहेकाले गर्दा माओवादी सरकारले उनको शव छिटो ल्याउन पहल गरिदिन्छ भन्ने आस वीरबहादुरको थियो ।

    दुर्घटनाको चार वर्षपछि मात्रै गत वैशाखमा रियादस्थित नेपाली दूतावासले ठेगाना प्रस्ट नभएको भनिएको शव हर्षमानकै रहेको पत्तो पाएको थियो । उनको शव डेनिस खत्रीको नाममा दर्ता गरिएका कारण शवको पहिचान खुलेपछि पनि नेपाल पठाउन समस्या परेको थियो । फरक नाममा रहेको शव हर्षकै हो भनेर प्रमाणित गर्न दूतावासलाई लामो समय लागेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij