आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सीमाङ्कन विवाद : विवादित पूर्वका तीन जिल्ला मिलाउने यी हुन सक्छन् चार विकल्प

  • प्रकाशित मिति : शनिबार, कार्तिक २७, २०७३



  • सुनसरी  ।  अहिले राजनीतिको मुख्य विवाद सङ्घीय राज्यका लागि सीमाङ्कन नै हो । त्यसमा पनि मधेसवादी दलले मधेस प्रदेश (दुई नम्बर) मा राख्नुपर्ने मुख्य माग राख्दै आएको पश्चिमका कैलाली, कञ्चनपुर र पूर्वका झापा, मोरङ, सुनसरी हुन् ।

    यी पाँचवटा जिल्ला पनि मधेस प्रदेशमै राख्नुपर्ने मागसहित मधेसी मोर्चाले आन्दोलन गरिरहेको छ । तर यहाँका जनताको विचार फरक पाइएको छ । यसै विषयलाई लिएर झापा, मोरङ, सुनसरी जुन एक नम्बर प्रदेशमा पर्छ, ती जिल्लाहरुमा रातोपाटीको टिमले स्थानीयसँग कुराकानी गर्दा अधिकांश जनताको चाहना दुई नम्बर प्रदेश अर्थात मधेस प्रदेशमा नजाने देखियो ।

    बरु उनीहरु मधेस प्रदेशमा जानुभन्दा नयाँ–नयाँ विकल्प दिन तयार छन् । तर तीन जिल्लासहित सिङ्गै मधेस प्रदेशमा जान तयार छैनन् । यी तीन जिल्लाको अनुगमनको क्रममा हामीले राजनीतिक दल, पत्रकार, बुद्धिजीवी, नागरिक समाज तथा सर्वसाधरणसँग कुरा गरेका थियौं । राजनीतिक दलका नेताहरुले आआफ्नो दलको धारणा सुनाए भने अन्यहरुले स्वतन्त्र धारणा राखे ।

    के छ धारणा ?
    एमालेका नेताहरुले ‘यी तीन जिल्ला मधेस प्रदेशमा कुनै पनि हालतमा मिलाउन सकिँदैन र मिलाउन पनि दिइन्नँ’ भनिरहेका छन् । काङ्ग्रेसका नेताहरुले ‘यही अवस्थामा मिलाउन गाह्रो छ, विकल्पको बारेमा छलफल गर्न सकिन्छ’ भनिरहेका छन् । माओवादी केन्द्रले ‘यही हुनुपर्छ भन्ने छैन, विभिन्न विकल्पमा कुराकानी गर्न सकिन्छ’ भनिरहेका छन् ।

    त्यस्तै मधेसवादी दलका नेताहरुले ‘तीन जिल्लालाई दुई नम्बर प्रदेशमा मिलाउनै पर्छ’ भन्ने अडान छाडेका छैनन् । तर विकल्पको बारेमा छलफल पनि गर्न सकिने उनीहरुको बताएका छन् ।

    यहाँ घतलाग्दो कुरा के छ भने यी तीन जिल्लाका मधेसवादी दलका नेताहरुसँग औपचारिक र अनौपचारिक कुराकानीमा दुईथरी कुरा गरिरहेका छन् । औपचारिक कुराकानीमा उनीहरु पार्टीको लाइन (तीन जिल्लालाई मधेस प्रदेशमा मिलाउने) भन्नेमा अडिग छन् भने अनौपचारिक कुराकानीमा यो अडान राख्दैनन् । ‘हामीलाई पनि मधेस प्रदेशमा जाने इच्छा छैन । तर, के गर्ने पार्टीले जसरी पनि जानैपर्छ भनेको छ ।’ मधेसी दलका एक नेताले सुनाए ।

    मधेस प्रदेशमा जान नसकिने कारण
    पूर्वका तीन जिल्ला झापा, मोरङ र सुनसरीलाई मधेस प्रदेशमा मिलाउन नसकिने विभिन्न कारणमा उनीहरुले प्रदेशको राजधानीलाई लिएका छन् । मधेस प्रदेश अर्थात दुई नम्बर प्रदेशको राजधानी जनकपुर तथा एक नम्बरको राजधानी विराटनगर राख्ने लगभग पक्का–पक्की नै छ तर औपचारिक निर्णय भएको छैन ।

    उच्च अदालत यी ठाउँहरुमा राखेका कारणले धेरैले राजधानी बनाउने पूर्वाधार र सङ्केतका रुपमा लिएका छन् ।

    यद्यपि झपालीले ‘विराटनगर नै हुनुपर्छ भनेका छैनन्, विकल्पका रुपमा झापाको विर्तामोडलाई लिएका’ छन् तर सुनसरी र मोरङका विराटनगरका लागि एकमत देखिन्छन् ।

    ‘यी तीन जिल्ला मधेस प्रदेशमा मिसाएर जनकपुर, वीरगञ्ज वा राजविराजलाई राजधानीका रुपमा कदापि स्वीकार गर्न सकिँदैन ।’ विराटनगर (मोरङ) का सहप्रध्यापक डा. उद्धव पोखरेलले भन्छन्, ‘सबै हिसाबले मधेसको केन्द्रविन्दु विराटनगर भएको छ ।

    एक नम्बर प्रदेशका झापा, मोरङ, सुनसरीमा दुई नम्बर प्रदेशका सिरहा र सप्तरीलाई मिलाएर एउटा प्रदेश बनाई विराटनगरलाई राजधानी बनाउन सकिन्छ । तर, जनकपुरलाई राजधानी स्वीकार गरेर मधेस प्रदेशमा कदापि जान सकिँदैन ।’

    सङ्घीय समाजवादी फोरम नेपाल सुनसरीका सह–इन्चार्ज एवं केन्द्रीय सदस्य एसएन मेहताले तीन जिल्लालाई मधेस प्रदेशमा मिलाउनुपर्ने भन्दै आफूहरुले आन्दोलन गरिरहेको तर जनकपुर राजधानी भए गाह्रो हुने बताए ।

    तर सुनसरीकै सद्भावना पार्टीका जिल्ला अध्यक्ष महिचन्द्र साहले मधेस प्रदेशको राजधानी जनकपुर हुने कुराको भ्रम छरिएको दाबी गरे । प्रदेश कायम भएपछि मात्र राजधानीको टुङ्गो लाग्ने भएकाले राजधानीको विवादमा अल्झन नहुने उनी बताउँछन् ।

    उनले राजधानीका कारण जनतामा कुन प्रदेशमा बस्ने कुरामा अन्योल रहेको स्वीकार गर्दै भने, ‘मधेस प्रदेशको राजधानी विराटनगर, जनकपुर वा अन्य ठाउँ पनि हुनसक्छ ।’

    मेची बहुमुखी क्याम्पस झापाका मानव शास्त्रका प्रध्यापक सुशीलकुमार खनालले एक नम्बर प्रदेशबाट झापा, मोरङ र सुनसरीलाई टुक्र्याउन नसकिने अवस्थामा यी तीन जिल्लालाई मधेस प्रदेशमा लैजाने कुरा नमिल्ने बताए । उनले विराटनगर राजधानी बनाउनेमा खासै आपत्ति नभए पनि जनकपुरलाई राजधानी स्वीकार गरी मधेस प्रदेशमा जान नसकिने बताए ।

    गोरखपत्रका पूर्व प्रधान सम्पादक सीताराम अग्रहरी (सुनसरी) को धारणा पनि उस्तैउस्तै रहेको छ । उनले पनि मधेस प्रदेशको राजधानी जनकपुर वा वीरगञ्जभन्दा विराटनगर राम्रो हुने बताए ।

    उनले भने, ‘झापा, मोरङ र सुनसरीलाई मधेस प्रदेशमा मिलाउन गाह्रो छ । तर यी जिल्लाका केही भाग मिलाउन सकिन्छ । तर, राजधानी विराटनगर नै हुनुपर्ने हुन्छ ।’

    मधेसवादी दलले झापादेखि कञ्चनपुरसम्मको भाषा, संस्कृति, धर्मकर्म, भेषभुषा एउटै भएका कारणले एउटै प्रदेश वा दुईटा प्रदेशको दाबी गरेका छन् । झापा, सुनसरी र मोरङवासी कोशी पारिका भन्दा आफूहरु अलि फरक रहेको भन्न थालेका छन् ।

    सुनसरीको इनरुवामा भेटिएका वर्णमाला दैनिकका सम्पादक शशी कोइराला कोशी वारिपारिको मनोविज्ञान सुनाए । ‘कोशी पारिवालाको छोरीसँग वारिकाहरुले बिहे गरे पनि, यताकाले कोशी पारिलाई आफ्नो छोरी दिन मान्दैनन् । किनभने कोशी पारिको संस्कृति, रहनसहन अलि फरक हुनुको साथै विकासको मामलामा निकै कमजोर छ ।’

    उनी मात्र होइन पत्रकार अवधेश झाले पनि कोशी पारि सप्तरी, सिरहालगायतका जिल्लाहरु धेरै नै अस्तव्यस्तको साथै अविकसित जस्तो देखिने भएकाले कोशी वारिका व्यक्ति कोशी पारि जान हिचकिचाउने गरेको सुनाए ।

    के छ त विकल्प ?
    झापा, सुनसरी र मोरङलाई मधेस प्रदेशमा नमिलाए पनि त्यहाँका जनताहरुले विकल्प दिन थालेका छन् ।
    –एक नम्बरको विकल्पमा यी तीन जिल्लालाई मिलाएर एउटै प्रदेश बनाउन सकिन्छ ।
    –दोस्रो विकल्प, यी तीन जिल्लामा दुई नम्बर प्रदेशका सप्तरी, सिरहा र उदयपुरलाई मिलाएर एउटा प्रदेश बनाउन सकिन्छ ।
    –तेस्रो विकल्पमा झापा, मोरङ र सुनसरीका मधेसी बाहुल्य भएको भागलाई छुट्याएर मधेस प्रदेशमा राखेर पनि प्रदेश बनाउन सकिन्छ ।
    –चौथो विकल्पमा विवादित यी तीन जिल्लालाई केन्द्र शासित वा विशेष प्रदेशका रुपमा राख्न सकिन्छ ।

    यी चार विकल्पमध्ये एक र दुई नम्बरको विकल्पमा लगभग सबैको सहमति रहेको छ । दलका नेतादेखि नागरिक समाज, पत्रकार, बुद्धिजीवी लगायतकाहरुले यसमा सहमत देखिन्छ ।

    थारुहरु यसमा सहमत भए पनि नामाङ्कनमा उनीहरुले थारु शब्द खोजेका छन् । यी विकल्पहरुमध्ये जे बनाए पनि हुने तर थरुहट–मधेस प्रदेश हुनुपर्ने धारणा थारुहरुको छ ।

    सुनसरीको दुहवीमा भेट भएका कानुन व्यवसायी एवं थारु कल्याणकारी सभा सुनसरी जिल्लाका पूर्वसचिव गवन चौधरीले आफूहरुले पहिचान खोजेको बताउँदै विकल्पमा जान सकिने तर थारुको पहिचान उल्लेख हुनुपर्ने अडान रहेको बताए ।

    मोरङ सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य जयराम यादवले आफूहरुको अडान तीनवटै जिल्लालाई मधेस प्रदेशमा मिलाउने रहेको बताए । उनले त्यसका लागि आफूहरु सङ्घर्ष पनि गरिरहेको तर विकल्पहरुमा छलफल गर्न सकिने बताए ।

    ‘तीनटा जिल्लालाई एउटा प्रदेश बनाए पनि हुने वा यी तीन जिल्लाका मधेसी भूभाग मधेस प्रदेशमा मिलाए पनि हुने भयो । तर सिरहा, सप्तरी र उदयपुरलाई काटेर झापा, सुनसरी र मोरङ मिलाएर प्रदेश बनाउने कुरा कदापि स्वीकार छैन ।’ उनले आफ्नो पार्टीको अडान सुनाए ।
    समग्र मधेस एक स्वायत्त प्रदेशको माग लिएर पहिलो मधेस आन्दोलन गरेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तेस्रो आन्दोलनसम्म आइपुग्दा मधेसमा दुई प्रदेश हुनुपर्ने माग गरेको छ । तर सीमाङ्कन हुँदा मधेसलाई पाँच टुक्रामा विभाजित गरेको गुनासो मधेसी मोर्चाका नेताको छ ।
    अहिले आएर झापादेखि कञ्चनपुरसम्मको मधेसलाई दुई प्रदेश बनाउनुपर्ने माग गर्दै आन्दोलनमा छन् ।
    उता सरकारका तर्फबाट यी सात प्रदेशमै सहमति जुटाउने प्रयास भइरहेको छ । यिनै सात प्रदेशलाई तलमाथि गरेर मिलाउने र मिल्न नसकिने विवादित ठाउँका लागि आयोग बनाएर टुङ्गो लगाउने तयारीमा सरकार पक्ष रहेको बुझिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij