प्रकाशित मिति : आइतवार, कार्तिक २८, २०७३
५१ वर्षीया महेश रेग्मी नेकपा एमाले मोरङ जिल्लाका अध्यक्ष हुन् । २०६४ सालमा मोरङ क्षेत्र नं. ६ बाट संविधानसभा चुनावमा पराजित भएका उनी दोस्रो सविधानसभा चुनाव लडेनन् तर पार्टीका जिल्ला सचिव ऋषिकेश पोखरेललाई जिताए । विद्यार्थी राजनीतिकमा स्थापित भएका उनी मोरङ जिल्लाका चिनिएका नेतामध्येमा पर्छन् । मधेस आन्दोलन तथा मधेस प्रदेशमा तीन जिल्ला मिलाउनुपर्ने विषयमा विराटनगर पुग्नुभएका एसके यादवले गरेको कुराकानीको मुख्य अंश :

झापा, मोरङ र सुनसरीलाई मधेस प्रदेशमा राख्नुपर्ने विवाद प्रमुख रुपमा अगाडि आएको छ, तपार्इंले यसलाई कसरी लिनुभएको छ ?
–पहिलो कुरा यो विवादको विषय नै होइन । यो विषय जनतामा छोड्दिनु पर्यो । कुन जिल्ला कहाँ राख्ने भने निर्णय गर्ने अधिकार जनताको हातमा दिनुपर्छ अर्थात अहिले यो तीन जिल्लाका लागि देखिएको विवाद सुल्झाउनका लागि जनमत सङ्ग्रह गराइदिनुपर्छ । कोशीभन्दा पूर्वको सिङ्गो जनमत एक नम्बरकै प्रदेशमा बस्न चाहन्छ, चाहे त्यो जुनसुकै समुदाय, भाषा, संस्कृति र वर्गका मानिस किन नहोस् । समावेशीको कुरा गर्ने हो भने सबभन्दा बढी समावेशी क्षेत्र यही एक नम्बर प्रदेश नै हो । यहाँ सद्भाव र भाइचाराको सम्बन्धमा सबै समुदाय मिलेर बसेका छन् । यतिका आन्दोलन हुँदा पनि हामी बीच केही भएन । यो सद्भाव नै हो । हामी मिलेर बस्न चाहन्छौँ भने कुराको परिचय दिएको छ । यसरी मिलेर बसेका छन् कि खण्डित हुनै चाहँदैन । जनमतकै कुरा गर्ने हो भने जसले यी तीनबाट जिल्ला मधेस प्रदेशमा मिल्नुपर्छ भनेका छन् । त्यसको जनमत यहाँ छैन । उपेन्द्र यादवबाहेक अरु कसैले पनि जितेका छैनन् । अर्थात जनमतले के पनि भनिसकेका छन् भने हामी दुई नम्बर प्रदेशमा होइन, एक नम्बर प्रदेशमै बस्न चाहन्छौँ । सामथ्र्यको कुरा गर्दा पनि यो प्रदेश अरु प्रदेशभन्दा बलियो र सम्पन्न छ ।
मधेसवादी दलको मुख्य माग नै यी तीन जिल्ला मधेस प्रदेशमा जसरी पनि मिलाउनुपर्छ नै हो अनि विवाद कायमै रहन्छ नि ?
–यदि मधेसवादी दलले त्यस्तो भनिरहेका छन् भने त्यसले जनमत पनि स्वीकार गर्नुपर्छ । मैले पनि मोरङका अधिकांश मधेसी नेताहरुलाई भेटिसकेको छु । उहाँहरु पनि मधेस प्रदेशको राजधानी जनकपुरलाई स्वीकार गर्न चाहेका छैनन् । उहाँहरु भन्नुहुन्छ, विराटनगर छाडेर कहाँ जनकपुर जान्छु, बरु विराटनगरलाई नै राजधानी बनाउनुपर्छ ।’ मोरङका मात्र होइन, झापा र सुनसरीका मधेसीलाई पनि गएर सोध्नुस् उहाँहरुले मधेस प्रदेशमा जान चाहेका छैन । हुनसक्छ पार्टीको निर्देशनले उहाँहरुलाई अप्ठ्यारो पारेका होला तर म एक एक नेताहरुसँग भेटेको छु, सद्भावना पार्टीका दिलीप धाडेवालदेखि फोरमका राजकुमार यादवसम्मका नेताहरुलाई भेटेको छु, उहाँहरुले भन्नुहुन्छ, महेशजी यी तीन जिल्ला मधेस प्रदेशमा गाभिनु हुँदैन । यसका लागि तपाईंहरु आवाज उठाउनुस् हामी आन्तरिक रुपमा सहयोग गर्न तयार छौँ ।’ त्यसैले म दाबीका साथ के भन्छु भने यी तीन जिल्ला मधेस प्रदेशमा कुनै पनि हालतमा गाभिँदैन । माथिका नेताहरुको यी तीन जिल्ला मिलाउन वा फुटाउनका लागि जे इन्ट्रेस्टमा लागे पनि तलका नेता अर्थात कोशी पूर्वेलीका जनतालाई कुनै इन्ट्रेस्ट छैन । उहाँहरु यहीँको पहिचानमा बाँच्न चाहन्छन् । यहीँको पहिचानमा बस्न चाहन्छन् । यदि देशमा कसैले जातिको नाममा, धर्मको नाममा, लिङ्गको नाममा द्वन्द्व सिर्जना गर्न खोजेका छन् भने यसमा मलाई केही भन्नु छैन । भौगोलिक रुपमा को कहाँ रहने त्यसले विभेदको अन्त्य हुने कुरा हुँदैन । राज्यले गर्ने विभेद अन्त्य हुनुपर्छ त्यसका लागि सबै एकजुट भएर लड्नुपर्छ । एउटा दुईटा जिल्ला जोडिँदैमा समस्या समाधान हुन्छ भने होइन । नेताहरुले राजनीतिक गर्ने फन्डा हुनसक्छ तर जनताले हार्दिकताका साथ विचार गर्नुपर्ने कुरा हो । कि कहाँ बस्दा ठीक हुन्छ कहाँ बस्दा बेठीक हुन्छ ।
मधेसवादी दलको अडान र काङ्ग्रेस, माओवादी र एमालेको अडान कायमै रह्यो भने यो समस्या त कहिल्यै समाधान हुने जस्तो देखिएन त ?
–सबभन्दा पहिलो कुरा यी तीन जिल्लालाई दुई नम्बर प्रदेशमा किन जोड्ने यसको तथ्य कुरा बाहिर आउनुपर्यो । दुईतिरको जनता कन्भिन्स हुनुपर्यो । दुवै पक्षले दुवैतिरका जनताको कुरा सुन्नुपर्यो । काठमाडौँमा बसेर अडान लिएर मात्र हुँदैन । जनतामा आएर जनताको कुरा सुन्नुपर्यो अनि मात्र आआफ्नो अडानमा बस्नुपर्यो । अडान पनि जायज हुनुपर्छ । कुनै कुराको जबर्जस्ती अडान लिएर मात्र हुँदैन । हाम्रो देशको भूराजनीति कस्तो छ भने यहाँ उब्जाउ भएन भने हिमालका बाँच्दैनन्, हिमालको पानी यहाँसम्म आइदिएन भने यहाँको जनता बाँच्दैनन् । अर्थात हामी नेपाली एकअर्काप्रति आश्रित छौँ ।
सम्पूर्ण मधेसलाई एक ठाउँमा राख्नुपर्छ, मधेसलाई अरु कुनै पहाडका प्रदेशसँग गाँसिनु हुँदैन, त्यस्तो भयो भने हाम्रो पहिचान गुमिन्छ भनिन्छ नि ?
–त्यसो भए के म मधेसी होइन त ? म मधेसमा जन्मे हुर्केका, मधेसको भाषा, संस्कृति, रहनसहन सबै मान्दै आएका के म मधेसी होइन ? दुई नम्बर प्रदेशमा मिलाए भने मधेसी हुने नमिलाए मधेसी हुँदैन भने कुरा कहाँ लेखिएको छ ? राजनीतिको कुन फिलोसफी वा राजनीतिक शास्त्रमा यो कुरा उल्लेख छ म पनि हेर्न चाहन्छु । एउटा मान्छे भारतबाट आएको १० वर्ष पनि भएको छैन, त्यो खाँटी मधेसी भएको छ । म चाहिँ यही जन्मेको, यही हुर्केको, पुस्तौँ यही विताएको व्यक्ति मधेसी हुन नसक्ने किन ? मधेसका ठेकेदारलाई म सोध्न चाहन्छु । पहाडमा मेरो ठेगाना, ठाउँ केही छैन अनि म कहाँ जाने ? यहाँ त योजनाबद्ध तरिकाले द्वन्द्व सिर्जना गर्ने काम भइरहेको छ ।
केन्द्रमा यस विषयमा छलफल र वार्ता भइरहेको छ । यदि यी तीन जिल्लालाई मधेस प्रदेशमा राख्ने सहमति भयो भने तपाईंहरु के गर्नुहुन्छ ?
–पहिलो कुरा त यो हुनै सक्दैन, यदि भयो भने त्यसलाई हुन दिदैनौँ, त्यसविरुद्ध आन्दोलन गर्छौं र त्यसलाई रोक्छौं । म पहाडी मुलको मधेसी हुँ । मेरो आफ्नै पहिचान छ । म आफ्नो पहिचान जनकपुर वा सप्तरीमा गएर समाप्त गर्न चाहन्न । वा जनकपुर र सप्तरीका जनतालाई कहीँ गएर आफ्नो पहिचान समाप्त गरोस् पनि भन्दैनौँ । सबैको पहिचान कायम रहोस्, सबैको अस्तित्व कायम रहोस् भनी चाहेका हौं । आफ्नो पहिचानका लागि अर्काको पहिचानको पनि ख्याल गर्नुपर्छ ।
विवाद त ठूलै रहेछ, यसलाई समाधान गर्नका लागि विकल्प के हुनसक्छ ?
–सबभन्दा उत्तम विकल्प भनेको जनमत हो । जनमत जत्तिको विकल्प अरु हुनै सक्दैन । कही समस्या छ भने जनमत सङ्ग्रह गराऔँ र समस्याको निराकरण गरौं । त्यहाँ दूधको दूध र पानीको पानी छुटिन्छ । जुन दलले झापा, सुनसरी र मोरङलाई मधेसमा जोड्नुपर्ने भनिरहेका छन् भने ती दलका नेताहरुले यी तीनवटा जिल्लाबाट कति मत ल्याएका छन्, त्यसलाई पनि ख्याल गरौं । विकल्प खोजेर हुँदैन ।
यी तीन जिल्लामा सप्तरी र सिरहा मिलाइएर छुट्टै प्रदेश बनाउने कुरा पनि भइरहेको छ, यो विकल्प कतिको सम्भव छ ?
–यदि सप्तरी र सिरहाका जनता यता आएर मिलेर बस्न चाहन्छ भने त्यसमा हामीलाई कुनै आपत्ति छैन तर हामी उहाँहरुलाई बोलाउन जाँदैनौँ । पहिलादेखि नै उहाँहरु पूर्वाञ्चलको हिसाबले यता मिलेकै हो । पूर्वाञ्चल विकास क्षेत्रको कामका लागि कोशी पारि आउनै परेको छ । त्यसलै उहाँहरुलाई यता मिल्न समस्या छैन । बरु यताको मान्छेलाई उता मिल्न समस्या देखिएको छ । त्यो कुनै हिसाबले मिल्दैन किनभने सप्तरी र सिरहाका धेरै व्यक्ति यता विराटनगर, सुनसरी आएका छन् तर यताका मान्छे उता गएकै छैन । जान मान्दैनन् पनि ।
मधेसी र पहाडीको क्लस्टर छुट्याइ दिएर पनि समस्याको समाधान खोज्ने प्रयास भइरहेको छ, यसमा के भन्नुहुन्छ ?
–समस्या समाधानका लागि कुनै काम भइरहेको छ भने त्यो स्वागतयोग्य छ । तर समाधानका लागि भन्दै त्यसले झन् समस्या बनायो भने यसले समाधान निस्किँदैन । यो क्लस्टर छुट्याउने विकल्प पनि त्यस्तै हो । यसले समस्या समाधान गर्नुको सट्टा झन् बल्झाउन सक्छ । पार्टीको निर्णय मान्ने बेग्लै कुरा हो तर यसले झन् समस्या बल्झाउँछ ।
अब प्रसङ्ग बदलौँ, मधेस आन्दोलनमा एमाले पार्टी खासगरी एमालेका अध्यक्ष केपी शर्मा ओलीको निकै विरोध भयो । एमाले पार्टीले मधेसको के बिगारिदिएको छ ?
–केपी ओलीले बोलेको जवाफ म दिन सक्दिन । यो विषयमा उहाँसँग सोध्दा नै राम्रो तर कुनै कुरा बोल्दा कसैलाई चित्त दुख्छ, स्वाभिमानमा ठेस पुग्छ भने त्यस्ता कुरा बोल्नु हुँदैन । ओलीले बोलेका कतिपय कुरामा मलाई पनि चित्त बुझेको छैन । त्यस्ता कुरा, त्यस्ता शब्दहरु प्रयोग नगरी दिए हुन्थ्यो जस्तो लाग्छ मलाई । त्यसमा नेतृत्वले ख्याल गरिदिनुपर्छ । तर सिङ्गो एमाले पार्टी तराई र मधेसप्रति निकै उत्तरदायी रहेको छ । जनताको भावनालाई बुझेको छ । जनताको भावनालाई कदर गरेको छ ।
रङ्गेली घटना एमालेकै कारणले भयो भन्छन्, जहाँ तीन जनाको ज्यान गयो यसमा के भन्नुहुन्छ ?
–रङ्गेली घटना एमालेभित्रको अतिवादको कारणले भएको हो । त्यस्तै, एमालेलाई मन नपराउने अतिवादका कारण पनि भएको हो । त्यो बेला कार्यक्रम रङ्गेलीमा गर्नु हुँदैन्थ्यो । अरु ठाउँमा गर्दा पनि हुन्थ्यो । मैले रोकेको पनि हो तर रङ्गेलीमै जसरी पनि गर्ने यो पार्टीभित्रको अतिवाद हो । रङ्गेलीमा कार्यक्रम नै हुन नदिने, आए भने सबैलाई लखेटेर पठाउने भन्नु पनि अतिवाद हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij