प्रकाशित मिति : मङ्लबार, कार्तिक ३०, २०७३
भक्तपुर । भूकम्प पुनर्निर्माण प्राधिकरणले आफ्नो नाम फरक पारिदिँदा कार्ड प्राप्त गरेर नम्बर मिल्दा अनुदान सम्झौतामा समस्या परेको भक्तपुरका भूकम्प पीडितले गुनासो गरेका छन् ।

अनन्तलिङ्गेश्वर नगरपालिकाको आयोजना तथा सूचना अधिकार समाज भक्तपुर र ग्रामिण पूर्वाधार तथा वातावरण विकास केन्द्रको सहजीकरणमा सञ्चालन भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरुले यस्तो गुनासो राखेका छन् ।
अनन्तलिङ्गेश्वर नगरपालिका–१४ की मञ्जु थापाले सरकारले भूकम्प पीडितको कार्ड दिएर सोही अनुरुप कार्ड नम्बर समेत मिलेको अवस्थामा नाम मात्र फरक पारिदिँदा अनुदान सम्झौता गर्न समस्या परेको बताइन् ।
उनले भूकम्प पीडित परिचयपत्रका आधारमा १० हजार र १५ हजार प्राप्त गरिसकेको र पछिल्लो पटक प्रदान गरिएको भूकम्प प्रभावित लाभग्राही सेतो परिचयपत्र प्राप्त गर्दा आफ्नो नाम फरक परेको गुनासो गरिन् ।
अनन्तलिङ्गेश्वर नगरपालिका–१३ का धर्मराज थापाले पीडितले उपभोग गरिरहेको जग्गा गुठी संस्थानको नाममा तलसिंङ्ग रहेको र मोही अनुदान सम्झौता गरि घर बनाउने सिफारिस गुठी संस्थानले दिँदा पनि अनुदान सम्झौता नभएको गुनासो गरे ।
उनले भने, ‘नगरपालिका क्षेत्रका ५० जना भन्दा बढिको जग्गा गुठीको नाममा छ, गुठी कार्यालयले पनि राहत सम्झौताका लागि सम्बन्धित व्यक्तिको नाममा सिफारिस प्रदान गरेको छ । यस्तो अवस्थामा राहत सम्झौता हुन्छ कि हुँदैन ?’
कार्यक्रममा अनन्तलिङ्गेश्वर नपा–१३ की कविता बस्नेतले ससुराको नाममा भूकम्प पीडित परिचयपत्र बनेको र हाल सासु–ससुरा दुवैको देहवसान भइसकेको अवस्थामा छोराको नाममा अनुदान सम्झौता नभएको गुनासो गरिन् ।
उनले भनिन्, ‘हामीसँग ससुराको नामको सक्कली लालपुर्जा छ, भूकम्प पीडितको परिचय पत्र पनि छ । पछिल्लो विवरणमा ससुराको नाममा सूचि प्रकाशित भएपनि ससुरा नहुँदा छोराले सम्झौता गर्न मिल्दैन भने, यस्तो पनि हुन्छ र ?’
सुनुवाई कार्यक्रममा अनन्तलिङ्गेश्वर–१५ की सरिता कुँवरले वडाका पुरै गाउँको पीडितको सूचि छुटेको भन्दै छुटेका भूकम्प पीडितको सूचि समावेश गर्न माग गरिन् । अनन्तलिङ्गेश्वरकै नन्दु नगरकोटीले पछिल्लो पटक आएको सूचिमा भूकम्प पीडितको नाम हटाएर विवरण पठाएकोले नाम छुटेको पीडितको थप विवरण नआएसम्म १५ नं. वडामा राहत वितरण हुन नदिने भन्दै आक्रोस पोखे ।
कार्यक्रममा स्थानीय मदन श्रेष्ठ, लच्छुराम न्यौपाने, कमला खत्री, इश्वर तामाङ्ग, सुजाता खत्री, रामेश्वर ढुंगेललगायतले नगरपालिकाले सडक बत्ति राखे पनि सहि सदुपयोग नभएको, सडकको मापदण्ड मिचिएको, सडक मर्मतमा नगरपालिकाले चासो नदिएको, यातायात समस्या बढेको गुनासो गरे ।
कार्यक्रममा अनन्तलिङ्गेश्वर नगरपालिकाका कार्यकारी अधिकृत होत्तराज लम्साल र योजना तथा प्रशासन शाखाका लेखनाथ सुवेदीले जनताको माझबाट उठेका साझा समस्या समाधान गर्ने प्रतिवद्धता जनाए । सो अवसरमा सूचना अधिकार समाज भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईंले वास्तविक भूकम्प पीडितको समस्या समाधानका लागि सम्बन्धित निकायले प्रयास र चासो बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा भूकम्पिय आवास पुनर्निर्माण परियोजना जिल्ला आयोजना कार्यान्वयन इकाईका उपसंयोजक दिपक पाठकले वास्तविक भूकम्प पीडितका जग्गाका समस्या तथा विवरण छुटको सम्बन्धमा भूकम्प प्रभावित ११ जिल्लाको गुनासो प्राप्त भइसकेको र भक्तपुर, काठमाडौ, ललितपुरको गुनासो प्राप्त हुनासाथ पुनर्निर्माण प्राधिकरणमा पठाउने बताउर्दै प्राप्त गुनासाहरुको समाधान पनि छिट्टै हुने विश्वास व्यक्त गरे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij