आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भूपू लाहुरे जनकराज राईको योगदान : २५ लाख खर्चेर जीवित मानिसकै नाममा सडक नामकरण

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ३०, २०७३



  • २५ लाख रुपैयाँमा काठमाडौंको कुनाकानी चारआना जग्गा आउन सक्छ । त्यति नै रुपैयाँमा झन्डै–झन्डै एकतले घर पनि बन्न सक्छ । पैसा चिन्नेले २५ लाख रुपैयाँ खेलाएर राम्रै आयआर्जन गर्न सक्छन् । तर, समाजसेवी जनकराज राईले २५ लाख रुपैयाँ सडक निर्माणमा खर्चेका छन् ।

    खोटाङ दुर्छिमको छापडाँडादेखि सुनकोसी बतासेघाटसम्म १३.२७ किलोमिटर सडक निर्माण गर्न ५८ लाख रुपैयाँ लागेको थियो । कुल लागतमध्ये समाजसेवी राईले १८ लाख ४ हजार २ सय ३७ रुपैयाँ होलेसुङ–जनकराज राई मार्ग उपभोक्ता समितिलाई उपलब्ध गराएका थिए भने विविध शीर्षकमा ७ लाख खर्च गरेका थिए । जिल्ला विकास समिति खोटाङको अध्ययनअनुसार १७ किलोमिटर रहेको सडक अनावश्यक लम्बाइ र घुम्ती कटाएर १३.२७ किमिमा घटाइएको हो ।unnamed1

    भूतपूर्व बेलायती सेनासमेत रहेका उनले सडक निर्माणका लागि आफैंले सहयोग रसिद कटाएर १० लाख रुपैयाँ संकलन गरेका थिए । तीनवटै शीर्षकमा संकलित रुपैयाँ हिसाब गर्दा उनले सडक निर्माणका लागि ३५ लाख रुपैयाँ योगदान पुर्याएको देखिन्छ । २०६९ चैत ५ बाट सुरु सडक निर्माण सम्पन्न गर्न तीन महिना लागेको थियो । सडक निर्माण अवधिभरि उनी आफैं पनि खटिए । त्यसको हिसाब–बिताब गरिएको छैन ।

    दुर्छिम–४ चुमाखु खोटाङनिवासी उनी सातदोबाटो ललितपुर बस्छन् । २०४३ देखि गाउँ छाडेका उनी यतै रमाएका छन् । व्यापार, व्यवसाय यतै छ । परिवार पनि यतै । तर, घर कता भनेर सोध्नेलाई गौरवसाथ खोटाङ भन्छन् । आफ्नै नामसँग जोडिएर निर्मित सडकसँग उनको एकरत्ति स्वार्थ छैन । निःस्वार्थ निर्मित सडकले सडक उपभोक्ताको स्वार्थ फुल्दै गएको छ । ‘मेरो नामसँग जोडिएर निर्मित सडकले सडक उपभोक्ताको स्वार्थ फुल्दै गएको सुन्दा कम्ती खुसी लागेको छैन,’ उनी भन्छन्, ‘२०२७-०२८ मा म स्वयम् नुन, तेल, चामल, फलाम किन्न उदयपुरको कटारीसम्म झर्नुपथ्र्यो । सडक निर्माणपछि हिजोआज त्यस्तो अवस्था छैन । ढाकरमा बोकेर उल्लिखित सामान ढुवानी गर्नुपर्ने बाध्यता नभएपछि स्थानीय दंग परेका छन् ।’unnamed

    जान्नेले उनलाई लाहुरे भनेर चिन्छन् । अझै नजिकबाट संगत गरेकाले लाहुरेमात्रै होइन, जापान, जर्मनी पुगेरै राम्रै आर्थिक आर्जन गरेका व्यक्ति भन्छन् । पछिल्लो समय हाउजिङ व्यवसायी भनेर उनको परिचय विस्तार भएको छ । यति धेरै परिचय बनाएका उनले आफ्नै सालनाल गाडिएको गाउँठाउँमा सडक निर्माण गरेर धेरैलाई गुन लगाएका छन् । २७ वर्षदेखि पुख्र्यौली घर नटेकेका उनी सडक निर्माण शुभसाइत पारेर ०६९ मा गाउँ पुगे । त्यतिबेला स्थानीय तीनछक परे ।

    होलेसुङ–जनकराज राई मार्ग उपभोक्ता समितिले सडक निर्माणका लागि आर्थिक स्रोत जुटाउन ५ लाख सहयोग गर्नेलाई सम्बन्धित व्यक्तिको नाममा सडक नामकरण गर्ने आह्वान गर्यो । समितिले गरेको आह्वानप्रति कोही आकर्षिक भएनन् । अन्ततः समितिले जनकराज राईलाई उक्त प्रस्ताव सुनायो । भूतपूर्व शिक्षकसमेत रहेका राईले सहर्ष स्वीकारे । उनले सुनाए, ‘५ लाख रुपैयाँ कबोल गरेको थिएँ । सहयोग गर्दै जाँदा २५ लाख ४ हजार २ सय ३७ रुपैयाँ पुगेछ । उल्लिखित रुपैयाँ सडक निर्माणका लागि मैले पुर्याएको आर्थिक योगदानमात्रै हो ।’

    महेन्द्र राजमार्ग, त्रिभुवन राजपथ र बीपी राजमार्ग सुनिरहेकाले जनकराज राईको नाममा सडक नामकरण हुने पक्का भएपछि कतिलाई मन परेन । कतिले जीवित मानिसका नामबाट सडक नामकरण गर्न हुँदैन भनेर भाँजो हाल्न खोजे । तर, उनी विचलित भएनन् । उनले गरेको सराहनीय कामको मूल्यांकन भएरै छाड्यो । अन्ततः ०७१ मा खोटाङको २२औं जिल्ला परिषद्ले उनको नाममा सडक नामकरण गर्यो । उनले खुसी बाँडे, ‘खोटाङ क्षेत्र नम्बर १ सांसद पाँचकर्ण राईलगायत जिल्लाका सबै दलसम्बद्ध नेताको सहयोग पाएँ । तात्कालिक प्रमुख जिल्ला अधिकारी गोविन्दराज सापकोटा र स्थानीय विकास अधिकारी महेन्द्र सापकोटाले लगाएको गुन बिर्सेको छैन ।’

    सडक नामकरणमा जनकराज राईअघि होलेसुङको नाम जोडिएको छ । आफ्नोअघि होलेसुङको नाम जोडिँदा उनलाई चित्त बुझेको थिएन । मुन्दुम अध्येता तथा लेखक भोगीराज चाम्लिङले होलेसुङ हलेसी क्षेत्रका प्रथम कविला प्रमुख (मुखिया) हुन् भनेर प्रस्ट्याएपछि आफ्नो नामअघि पुर्खाको नाम जोडिएर आउँदा उनी गौरवान्तिव भए । उनको भनाइ छ, ‘ऐतिहासिक व्यक्तित्व होलेसुङसँग मेरो नाम जोडिएर सडक नामकरण हुँदा म छायाँमा परेको छैन । मेरो उचाइ झन् बढेको छ ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दर्ता भइसकेकाले होलेसुङ–जनकराज राई मार्गले कानुनी मान्यतासमेत पाइसकेको छ ।
    यो सडक जिल्लाकै सबैभन्दा महत्वपूर्ण मानिन्छ । यसले स्थानीयभन्दा उदयपुर, ओखलढुंगा र सोलुखुम्बुवासी लाभान्वित हुनेछन् । सुनकोसीको बतासेघाटमा पक्की पुल निर्माणपछि होलेसुङ–जनकराज राई मार्ग सगरमाथा पुग्ने सबैभन्दा छोटो दूरीको सडक हुनेछ । पूर्वाञ्चलका अधिकांश जिल्लावासीलाई सोलुखुम्बु, ओखलढुंगा र खोटाङ पुग्न यही बाटो पायक पर्ने सुन्दा जनकराज राईलाई आनन्द लागेको छ ।

    unnamed2
    होलेसुङ–जनकराज राई मार्गमा यातायातसाधन गुड्दै आएको छ । यातायातसाधन गुडेपछि स्थानीयस्तरमा उत्पादित अन्न, नगदेबाली, तरकारी, फलफूल बजारसम्म पुर्याउन सजिलो भएको छ । तरकारी तथा फलफूल बजार अभावमा त्यत्तिकै खेर जाँदैन । सुनकोसीमा रहेको बालुवा, ढुंगा र पानी आवश्यक पर्दा ढुवानी गर्न उत्तिकै सहज भएको छ । जाँगर भए जंगलभरि पाइने आँटा (सरिफा) बजारसम्म पुर्याएर अर्थोपार्जन गर्न सकिन्छ । सडक बन्नुअघि बिरामी डोकोमा बोकेर स्वास्थ्यचौकीसम्म पुर्याउनुपर्ने बाध्यता थियो । अहिले एम्बुलेन्समार्फत पुर्याइन्छ । सडक निर्माणका लागि जनकराज राई अघि नसरेका भए उल्लिखित सुविधाबाट स्थानीय वञ्चित हुनुपथ्र्यो ।

    ‘धन बढी भएर सडक निर्माणमा लगानी गरेको होइन,’ राईको स्वीकारोक्ति छ, ‘मनदेखि सहयोग गरेको हुँ । छन त मभन्दा सम्पत्तिवाल पनि छन् । म त सामान्य व्यवसायीमात्रै हुँ । तर, सडक निर्माणका लागि सहयोग गर्दा ऋण परेको छैन । यस्तो अवसर सबैले पाउँदैनन् । मैले त्यो अवसर पाएँ ।’

    श्रीमान्को नामसँग जोडिएर सडक नामकरण हुँदा मीना राई त्यत्तिकै खुसी छिन् । श्रीमती मीनाले उत्साहित गरिरहँदा सडक निर्माणमा तीन महिनासम्म खटिन जनकराजलाई ऊर्जा थपेको थियो ।

    सडक उद्घाटनमा राजनीतिक विश्लेषक झलक सुवेदी, साहित्कारद्वय भूपाल राई र युग पाठक, सांसद पाँचकर्ण राई, काठमाडौं र जिल्लाका सञ्चारकर्मीलाई सहभागी गराएर आफ्नो योगदान र नामसँग जोडिएर निर्मित सडकमा सपरिवार गुड्दाको आनन्द अरू केहीसँग तुलना गर्न नसकिने जनकराजको ठम्याइ छ । भन्छन्, ‘सबैले धेर–थोर योगदान पुर्याउन सके आफ्नो गाउँ, आफैं बनाउन कत्ति लाग्दैन ।

    क्षेत्रीय सडक मान्यता पाइसकेको होलेसुङ–जनकराज राई मार्ग भएर काठमाडौं आउँदा आफन्तले स्थानीय तरकारी, फलफूल नदगेबाली मेन्छ्यायाम पोपर्टी फिल्ड डाइरेक्टरसमेत रहेका जनकराज राईलाई कोसेलीस्वरूप ल्याइदिन्छन् । ललितपुर बसेर गाउँको अर्गानिक उत्पादन खान पाउँदा राईले पुण्य कमाएको अनुभव गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij