प्रकाशित मिति : मङ्लबार, कार्तिक ३०, २०७३
२५ लाख रुपैयाँमा काठमाडौंको कुनाकानी चारआना जग्गा आउन सक्छ । त्यति नै रुपैयाँमा झन्डै–झन्डै एकतले घर पनि बन्न सक्छ । पैसा चिन्नेले २५ लाख रुपैयाँ खेलाएर राम्रै आयआर्जन गर्न सक्छन् । तर, समाजसेवी जनकराज राईले २५ लाख रुपैयाँ सडक निर्माणमा खर्चेका छन् ।
खोटाङ दुर्छिमको छापडाँडादेखि सुनकोसी बतासेघाटसम्म १३.२७ किलोमिटर सडक निर्माण गर्न ५८ लाख रुपैयाँ लागेको थियो । कुल लागतमध्ये समाजसेवी राईले १८ लाख ४ हजार २ सय ३७ रुपैयाँ होलेसुङ–जनकराज राई मार्ग उपभोक्ता समितिलाई उपलब्ध गराएका थिए भने विविध शीर्षकमा ७ लाख खर्च गरेका थिए । जिल्ला विकास समिति खोटाङको अध्ययनअनुसार १७ किलोमिटर रहेको सडक अनावश्यक लम्बाइ र घुम्ती कटाएर १३.२७ किमिमा घटाइएको हो ।
भूतपूर्व बेलायती सेनासमेत रहेका उनले सडक निर्माणका लागि आफैंले सहयोग रसिद कटाएर १० लाख रुपैयाँ संकलन गरेका थिए । तीनवटै शीर्षकमा संकलित रुपैयाँ हिसाब गर्दा उनले सडक निर्माणका लागि ३५ लाख रुपैयाँ योगदान पुर्याएको देखिन्छ । २०६९ चैत ५ बाट सुरु सडक निर्माण सम्पन्न गर्न तीन महिना लागेको थियो । सडक निर्माण अवधिभरि उनी आफैं पनि खटिए । त्यसको हिसाब–बिताब गरिएको छैन ।
दुर्छिम–४ चुमाखु खोटाङनिवासी उनी सातदोबाटो ललितपुर बस्छन् । २०४३ देखि गाउँ छाडेका उनी यतै रमाएका छन् । व्यापार, व्यवसाय यतै छ । परिवार पनि यतै । तर, घर कता भनेर सोध्नेलाई गौरवसाथ खोटाङ भन्छन् । आफ्नै नामसँग जोडिएर निर्मित सडकसँग उनको एकरत्ति स्वार्थ छैन । निःस्वार्थ निर्मित सडकले सडक उपभोक्ताको स्वार्थ फुल्दै गएको छ । ‘मेरो नामसँग जोडिएर निर्मित सडकले सडक उपभोक्ताको स्वार्थ फुल्दै गएको सुन्दा कम्ती खुसी लागेको छैन,’ उनी भन्छन्, ‘२०२७-०२८ मा म स्वयम् नुन, तेल, चामल, फलाम किन्न उदयपुरको कटारीसम्म झर्नुपथ्र्यो । सडक निर्माणपछि हिजोआज त्यस्तो अवस्था छैन । ढाकरमा बोकेर उल्लिखित सामान ढुवानी गर्नुपर्ने बाध्यता नभएपछि स्थानीय दंग परेका छन् ।’
जान्नेले उनलाई लाहुरे भनेर चिन्छन् । अझै नजिकबाट संगत गरेकाले लाहुरेमात्रै होइन, जापान, जर्मनी पुगेरै राम्रै आर्थिक आर्जन गरेका व्यक्ति भन्छन् । पछिल्लो समय हाउजिङ व्यवसायी भनेर उनको परिचय विस्तार भएको छ । यति धेरै परिचय बनाएका उनले आफ्नै सालनाल गाडिएको गाउँठाउँमा सडक निर्माण गरेर धेरैलाई गुन लगाएका छन् । २७ वर्षदेखि पुख्र्यौली घर नटेकेका उनी सडक निर्माण शुभसाइत पारेर ०६९ मा गाउँ पुगे । त्यतिबेला स्थानीय तीनछक परे ।
होलेसुङ–जनकराज राई मार्ग उपभोक्ता समितिले सडक निर्माणका लागि आर्थिक स्रोत जुटाउन ५ लाख सहयोग गर्नेलाई सम्बन्धित व्यक्तिको नाममा सडक नामकरण गर्ने आह्वान गर्यो । समितिले गरेको आह्वानप्रति कोही आकर्षिक भएनन् । अन्ततः समितिले जनकराज राईलाई उक्त प्रस्ताव सुनायो । भूतपूर्व शिक्षकसमेत रहेका राईले सहर्ष स्वीकारे । उनले सुनाए, ‘५ लाख रुपैयाँ कबोल गरेको थिएँ । सहयोग गर्दै जाँदा २५ लाख ४ हजार २ सय ३७ रुपैयाँ पुगेछ । उल्लिखित रुपैयाँ सडक निर्माणका लागि मैले पुर्याएको आर्थिक योगदानमात्रै हो ।’
महेन्द्र राजमार्ग, त्रिभुवन राजपथ र बीपी राजमार्ग सुनिरहेकाले जनकराज राईको नाममा सडक नामकरण हुने पक्का भएपछि कतिलाई मन परेन । कतिले जीवित मानिसका नामबाट सडक नामकरण गर्न हुँदैन भनेर भाँजो हाल्न खोजे । तर, उनी विचलित भएनन् । उनले गरेको सराहनीय कामको मूल्यांकन भएरै छाड्यो । अन्ततः ०७१ मा खोटाङको २२औं जिल्ला परिषद्ले उनको नाममा सडक नामकरण गर्यो । उनले खुसी बाँडे, ‘खोटाङ क्षेत्र नम्बर १ सांसद पाँचकर्ण राईलगायत जिल्लाका सबै दलसम्बद्ध नेताको सहयोग पाएँ । तात्कालिक प्रमुख जिल्ला अधिकारी गोविन्दराज सापकोटा र स्थानीय विकास अधिकारी महेन्द्र सापकोटाले लगाएको गुन बिर्सेको छैन ।’
सडक नामकरणमा जनकराज राईअघि होलेसुङको नाम जोडिएको छ । आफ्नोअघि होलेसुङको नाम जोडिँदा उनलाई चित्त बुझेको थिएन । मुन्दुम अध्येता तथा लेखक भोगीराज चाम्लिङले होलेसुङ हलेसी क्षेत्रका प्रथम कविला प्रमुख (मुखिया) हुन् भनेर प्रस्ट्याएपछि आफ्नो नामअघि पुर्खाको नाम जोडिएर आउँदा उनी गौरवान्तिव भए । उनको भनाइ छ, ‘ऐतिहासिक व्यक्तित्व होलेसुङसँग मेरो नाम जोडिएर सडक नामकरण हुँदा म छायाँमा परेको छैन । मेरो उचाइ झन् बढेको छ ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दर्ता भइसकेकाले होलेसुङ–जनकराज राई मार्गले कानुनी मान्यतासमेत पाइसकेको छ ।
यो सडक जिल्लाकै सबैभन्दा महत्वपूर्ण मानिन्छ । यसले स्थानीयभन्दा उदयपुर, ओखलढुंगा र सोलुखुम्बुवासी लाभान्वित हुनेछन् । सुनकोसीको बतासेघाटमा पक्की पुल निर्माणपछि होलेसुङ–जनकराज राई मार्ग सगरमाथा पुग्ने सबैभन्दा छोटो दूरीको सडक हुनेछ । पूर्वाञ्चलका अधिकांश जिल्लावासीलाई सोलुखुम्बु, ओखलढुंगा र खोटाङ पुग्न यही बाटो पायक पर्ने सुन्दा जनकराज राईलाई आनन्द लागेको छ ।

होलेसुङ–जनकराज राई मार्गमा यातायातसाधन गुड्दै आएको छ । यातायातसाधन गुडेपछि स्थानीयस्तरमा उत्पादित अन्न, नगदेबाली, तरकारी, फलफूल बजारसम्म पुर्याउन सजिलो भएको छ । तरकारी तथा फलफूल बजार अभावमा त्यत्तिकै खेर जाँदैन । सुनकोसीमा रहेको बालुवा, ढुंगा र पानी आवश्यक पर्दा ढुवानी गर्न उत्तिकै सहज भएको छ । जाँगर भए जंगलभरि पाइने आँटा (सरिफा) बजारसम्म पुर्याएर अर्थोपार्जन गर्न सकिन्छ । सडक बन्नुअघि बिरामी डोकोमा बोकेर स्वास्थ्यचौकीसम्म पुर्याउनुपर्ने बाध्यता थियो । अहिले एम्बुलेन्समार्फत पुर्याइन्छ । सडक निर्माणका लागि जनकराज राई अघि नसरेका भए उल्लिखित सुविधाबाट स्थानीय वञ्चित हुनुपथ्र्यो ।
‘धन बढी भएर सडक निर्माणमा लगानी गरेको होइन,’ राईको स्वीकारोक्ति छ, ‘मनदेखि सहयोग गरेको हुँ । छन त मभन्दा सम्पत्तिवाल पनि छन् । म त सामान्य व्यवसायीमात्रै हुँ । तर, सडक निर्माणका लागि सहयोग गर्दा ऋण परेको छैन । यस्तो अवसर सबैले पाउँदैनन् । मैले त्यो अवसर पाएँ ।’
श्रीमान्को नामसँग जोडिएर सडक नामकरण हुँदा मीना राई त्यत्तिकै खुसी छिन् । श्रीमती मीनाले उत्साहित गरिरहँदा सडक निर्माणमा तीन महिनासम्म खटिन जनकराजलाई ऊर्जा थपेको थियो ।
सडक उद्घाटनमा राजनीतिक विश्लेषक झलक सुवेदी, साहित्कारद्वय भूपाल राई र युग पाठक, सांसद पाँचकर्ण राई, काठमाडौं र जिल्लाका सञ्चारकर्मीलाई सहभागी गराएर आफ्नो योगदान र नामसँग जोडिएर निर्मित सडकमा सपरिवार गुड्दाको आनन्द अरू केहीसँग तुलना गर्न नसकिने जनकराजको ठम्याइ छ । भन्छन्, ‘सबैले धेर–थोर योगदान पुर्याउन सके आफ्नो गाउँ, आफैं बनाउन कत्ति लाग्दैन ।
क्षेत्रीय सडक मान्यता पाइसकेको होलेसुङ–जनकराज राई मार्ग भएर काठमाडौं आउँदा आफन्तले स्थानीय तरकारी, फलफूल नदगेबाली मेन्छ्यायाम पोपर्टी फिल्ड डाइरेक्टरसमेत रहेका जनकराज राईलाई कोसेलीस्वरूप ल्याइदिन्छन् । ललितपुर बसेर गाउँको अर्गानिक उत्पादन खान पाउँदा राईले पुण्य कमाएको अनुभव गरिरहेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij