प्रकाशित मिति : मङ्लबार, कार्तिक ३०, २०७३
काठमाडौ । भारत सरकारले भारतीय ५ सय र एक हजार दरका नोटमा लगाएको प्रतिवन्धले नेपालीलाई पनि पिरोली रहेको छ ।
एक बर्ष अघि मात्र भारत सरकारले नेपालमा ठूला दरका भारु चलाउन दिएको थियो । तर, अहिले नोटमा लगाइएको प्रतिवन्धले बैंकमा रहेको नोट मात्र नभई सर्वसाधारणसँग भएको लाखौ रकम पनि खोस्टामा परिणत हुने खतरा बढेको छ ।
खासगरि, भारतसँगको व्यापारमा रहेका ठूला व्यापारीक समुह, भारतमा मजदुरीमा रहेका व्यक्ति तथा तीनका परिवार र सिमा क्षेत्रका मासिन्दा यो मारमा परेका छन् ।
खुला सिमानाका कारण व्यापार व्यवसायदेखि दैनिक उपभोग्य वस्तु खरिदमा समेत भारु प्रयोग गरिरहेका सिमा क्षेत्रका वासिन्दा त न यता न उता भएका छन् ।
कालोधन लुकाएको, धनको आडमा अपराध बढेको लगायतका कारण देखाउँदै भारत सरकारले केहीदिन अघि यस्तो निर्णय गरेको थियो ।
भारतमा परिचयपत्रका आधारमा ५० दिनसम्म प्रतिव्यक्ति न्युन रकम साट्न पाइने व्यवस्था गरिएपनि नेपालमा अहिलेसम्म कुनै निर्णय भएको छैन । भारतको पैसा हो, भन्दै सरकारी निकायले पनि त्यति ठूलो चासो देखाएको छैन । केन्द्रिय बैंक (नेपाल राष्ट्र बैंक) ले रिजर्भ बैंक अफ इन्डिया (आरबीआइ) लाई नेपालमा रहेको ५ सय र एक हजार दरका नोटको सटहीका लागि आवश्यक जवाफ माग गर्दै पत्र भने पठाएको थियो । तर, अहिलेसम्म पत्रको जवाफ नआएपछि अन्योल भने बढ्दै गएको छ ।
राष्ट्र बैंकले पत्राचार गर्दै गभर्नर डा. चिरञ्जीवी नेपाललले आरबीआईका गभर्नरलाई आवश्यक गाइडलाइन माग गरेका थिए । त्यसपछि व्यवसायीले पनि भारतीय राजदुतलाई भेटेर नेपालमा रहेको भारु सटहीका लागि आवश्यक पहल गर्न आग्रह गरे । सोमबार अर्थमन्त्री कृष्णबहादुर महराले भारतीय अर्थमन्त्री र प्रधानमन्त्री पुष्पकमल दाहालले समकक्षी नरेन्द्र मोदीलाई फोन गरेर भारु व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गरेका छन् । तर, अहिलेसम्म सम्वन्धीत मुलुक र त्यहाँको केन्द्रिय बैंकले कुनै पनि जवाफ दिएको छैन ।
राष्ट्र बैंकका अधिकारी भने अहिलेसम्म कुनै गाइडलाइन नपठाएको भन्दै ‘फर्ख र हेरको’ अवस्थामा रहेको बताउँछन् । ‘भारतीय नोटको व्यवस्थापन, निस्कासन आरबीआइले नै गर्ने हो’, राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले रातोपाटीसँग भने, ‘उसको नोट हाम्रो नियन्त्रणमा रहने होइन, उसले गाइडलाइन नपठाइ केही गर्न सकिदैन ।’
पौडेलले सर्वसाधारणमा अन्योल रहेको स्वीकार गर्दै प्रधानमन्त्रीस्तरवाट नै कुरा भइसकेकाले अव सकारात्मक कुरा आउने विश्वास व्यक्त गरे । ‘अहिलेसम्म त केही आएकै छैन’, उनले भने, ‘सकारात्मक कुरा आउनेमा विश्वस्त छौ ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij