प्रकाशित मिति : बिहिबार, मंसिर २, २०७३
भैरहवा । बिश्व बन्धुत्वको भावना एवम लोक जागरणको कल्याणको कामना सहित भैरहवामा ४ दिवसीय लोक १ सय ८ कुण्डिय गायत्री महायज्ञको आयोजना हुँदैछ ।
भैरहवाका पत्रकार सम्मेलनको आयोजना गरि महायज्ञबारे आयोजकले जानकारी गराएका छन । शान्तिकुञ्ज हरिद्धारको तत्वाधान तथा गायत्री परिवार भैरहवाका आयोजनामा मंसीर ४,५,६ र ७ गते भैरहवाको गल्लामण्डी स्थित हनुमान मन्दिर प्राङ्गणमा महायज्ञ हुने आयोजकले बताए ।
महायज्ञको पहिलो दिन ११११ कलश यात्राबाट नगर परिक्रमा गरिने, दास्रो, तेस्रो र चौथो दिन महायज्ञ बिहान ६ बजे देखि ८ बजेसम्म जप, ध्यान प्रयायोग, व्यायाम र ८ः३० बजे देखि ११ः३० बजे सम्म गायत्री महायज्ञ हवन र ३ बजे देखि ४ बजे सम्म आयोजक एवं स्वयंसेवक गोष्टी तथा ६ बजे देखि ९ बजे सम्म संगीत प्रवचन हुने गायत्री परिवारका अध्यक्ष जगरनाथ अग्रहरीले बताए । उनले महायज्ञको पूर्व संध्यामा मंसिर ३ गते बिहान ७ बजे दखि हनुमान मन्दिर देखि गल्लामण्डी हुँदै मिलन चोक नारायण पथ हुँदै लुम्बिनी गेटसम्म नगर सरसफाई तथा जनचेतना कार्यक्रमको आयोजना गरिएको बताए । महायज्ञमा काठमाडौं, पोखरा, गुल्मी, नवलपरासी, कपिलवस्तु गरी ६० जिल्लाबाट तथा भारतको गोरखपुर, महाराजगंज लगायत विभिन्न स्थानबाट भक्तजनहरु सहभागी हुने अग्रहरीले जानकारी दिए ।
नेपाल सरकारका आपूर्तिमन्त्री तथा रुपन्देही क्षेत्र नं. २ का सांसद दीपक बोहराबाट महायज्ञको समुदघाटन हुने गायत्री परिवारका सचिव श्रीराम गुप्ताले जानकारी दिए । महायज्ञ रकम संकलन गर्नको लागि नभई विश्व शान्ति मानव कल्याण्को लागि मात्र आयोजना गरिएको गुप्ताले बताए । उनले गायत्री महायज्ञ सम्पन्न गर्नको लागि करिब ४० लाख १४ हजार अनुमानित खर्च लाग्ने जानकारी दिए । महायज्ञमा हुने यज्ञ सामाग्री लगायत अन्य कुनै पनि सामाग्रीमा मूल्य नतोकी निशुल्क रुपमा प्रदान गरिने गुप्ताले बताए ।
त्यसै गरी महायज्ञमा बाहिरबाट आउने अतिथि तथा भक्तजनहरुलाई खान तथा बस्न निःशुल्क व्यवस्था गरिएको आयोजकले जनाएका छन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij