प्रकाशित मिति : बुधबार, मंसिर ८, २०७३
त्रिवेणी । हजारौँ हेक्टर क्षेत्रफलमा व्यवसायीक केरा खेती गरेका मध्य तथा पश्चिम तराइका किसान यतिवेला निक्कै चिन्तित छन् । भारतीय केराले आफ्नो उत्पादनलाई विस्थापन गर्न थालेपछि उनीहरुमा चिन्ता बढेको हो ।

खासगरि, यस क्षेत्रका केरा उत्पादक किसानहरु सस्तो मुल्यमा भारतवाट नेपाल भित्रने केराका कारण आफ्नो उत्पादनले मुल्य नपाएपछि समस्यामा परेका हुन् । उखु लगायतका अन्य नगदेवाली छाडेर व्यवसायीक रुपमा सयौं किसानले केरा खेती गरिरहेका छन् । तर, लागत खर्चको अनुपातमा उचित मुल्य नपाउँदा यतिखेर किसानमा नैरश्यता बढेको हो । भारतसँग सीमाना जोडिएको नवलपरासीको त्रिवेणी सुस्ता, पकलीहवा, गुठी लगायतका आधा दर्जन गाविसमा व्यवसायीक केरा खेती हुने गरेको छ । यी क्षेत्रका करिव २ सय किसान अहिले व्यवसायीक रुपमै केरा खेतीमा लागेका छन् ।
भारतको विहार क्षेत्रसँग जोडिएको नवलपरासीका यी क्षेत्रका किसान अहिले भारतका विभिन्न भूभागवाट आउने हाइव्रिड जातका केराले वजार लिदाँ समस्यामा परेको वताउँछन् । ‘भारतवाट आउने केरा प्रति दर्जन १२ रुपैयाँमा पाइन्छ’, त्रिवेणी सूस्ता ७ का केरा खेती गरिरहेका किसान अर्जुन प्रसाद सुवेदीले भने, ‘यो मुल्यमा हामी विक्रि गर्न सक्दैनौ, त्यसैले हाम्रो मेहनत अनुसार दाम पाउन सकेका छैनौ ।’ उनले सस्तो मुल्यमा पाउने भारतीय केराका कारण आफ्नो उत्पादनले वजार पाउन नसकेको वताए ।
उनी जस्तो व्यवसायीक रुपमा केरा खेतीमा लागेका सुस्ता ७ कै भीम प्रसाद सापकोटा पनि भारतीय केराका कारण त्यस क्षेत्रका सयौ केरा खेतीमा लागेका किसान मर्कामा परेको वताउँछन् । उचित बजारको अभावमा किसानको उत्पादन सस्तो मुल्यमा नै विक्रि गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । किसानले महिनौसम्म मेहनत गरेर केरा उत्पादन गरेपनि मुल्य नपाउदा व्यवसायीक रुपमा लागेका पनि निरुत्साहित हुन थालेको उनको भनाइ छ ।
किसानका अनुसार त्यस क्षेत्रका २ सय विगाहा भन्दा बढी क्षेत्रमा अहिले व्यशवसायीक रुपमा केरा खेती भैरहेको छ । हरेक बर्ष यस क्षेत्रवाट लाखौ घरी केरा उत्पादन हुने गरेको छ । किसानले उखु खेती छाडेर व्यवसायीक केरा खेतीमा लाग्नेक्रम पनि उत्तिकै रहेको छ । उनीहरुले हरेक बर्ष करोडौ मुल्यको केरा उत्पादन गर्ने गरेका छन् । तर, राज्यले आवश्यक सहयोग गरेमा नेपाली केराले बजार पाउने र भारतीय भन्दा वढी मुल्यमा विक्रि गर्न सकिने किसानहरुको भनाई छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij