प्रकाशित मिति : शुक्रबार, मंसिर १०, २०७३
पोखरा । कास्कीको सिल्दुजुरे गाविसस्थित थाक खानेपानी आयोजनाबाट ल्याइएको खानेपानी प्रभावकारी रुपमा वितरण हुन नसक्दा लेखनाथ नगरपालिका र आसपासका गाउँमा यतिबेला खानेपानीको हाहाकार भएको छ । वर्षौंदेखि उपभोक्ता समिति गठनमा ढिलाई हुँदा र आयोजनाको पानी समान वितरण नहुँदा खानेपानीको हाहाकार भएको हो ।
२०५१ सालमा नेपाल सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको थाक खानेपानी आयोजनाको पानीमा कास्कीका सााविकका ५ वटा गाविस हालको लेखनाथ नगरपालिका वडा नं ४, ५ र १० का नागरिकहरु सो पानीमा आश्रित रहेका छन् ।
कूल २ सय १ धारा मार्फत तत्कालिन समयका ५ गाविसका १९ हजार उपभोक्ता लाभान्वित हुने गरि निर्माण गरिएको योजना अहिले अस्तव्यस्त वनेको छ ।
थाक खानेपानीको मूल समिति नै समयमा गठन हुन नसक्दा पानीको प्रभावकारी वितरण नभएको उपभोक्ताको गुनासो छ । अर्को तिर उपभोक्ताभित्र पनि चरम राजनीति भएको आरोप लागेको छ ।
एक गाग्री पानी लिन धारोमा जाँदा दिन नै बित्ने गरेको उपभोक्ताको भनाई छ ।
‘पहिलो कुरा धारोमा पानी नै आउँदैन, आईहाले पनि एक गाग्री पानी थाप्दा नै दिन गएपछि अरु काम कसरी गर्ने ?’ –लेखनाथ ५ सिलिङ्गेका सागर अधिकारीले भने ।
सिल्दूजुरे गाविसको थाक भन्ने स्थानको कूल १५ किलोमिटर दुरीबाट ल्याईएको सो खानेपानी अहिले कतै पोखिएको त कतै हाहाकार भएको उपभोक्ताले गुनासो गरेका छन् । करिव १२ किलोमिटर पाँच इन्चीको स्टील पाईप र ३ किलोमिटर लामो प्लाष्टिक पाईपको माध्यमबाट सो पानी ल्याईएको छ ।
२०५८ सालदेखि २०७३ सालसम्म उपभोक्ता समिति गठन हुन नसक्दा पानीको वितरण अस्तव्यस्त र भद्रगोल भएको नागरिकको गुनासो छ ।
२०५८ सालदेखि हालसम्म नेकपा एमाले कास्कीका पूर्व–अध्यक्ष मानवहादुर जिसी अध्यक्ष रहेको सो समिति एकलौटी ढंगले चलाएको आरोप स्थानीय उपभोक्ताले लगाएका छन् ।
स्थानीय उपभोक्ताहरुका अनुसार जिसीले सो समितिमा तत्कालिन अवस्थामा सवै नेकपा एमाले निकटका सदस्य नियुक्त गरेका थिए । हाल ती सदस्यहरु सवै लाखापाखा भएका छन् । उनी अहिले पनि एमाले बाहेकको नेतृत्व अर्कालाई हस्तान्तरण गर्न तयार छैनन् । तर स्थानीय उपभोक्ताहरु भने एकै दलको उपभोक्ता समिति भन्दा विशुद्ध उपभोक्ताको मान्छे अध्यक्ष हुनुपर्ने अडानमा रहेको वताउँदै आएका छन् ।
यता समयमा उपभोक्ता समिति गठन हुन नसक्दा राज्यले दिने मर्मत सम्भार सुविधावाट पनि सो आयोजना वञ्चित भएको उपभोक्ताहरुले वताएका छन् । चार महिना अघि क्षेत्रीय सुपरीवेक्षण कार्यालय पोखराको अगुवाईमा नयाँ समिति गठन गर्न भेला डाकिएको थियो ।
सो भेलामा उपस्थित उपभोक्ताहरुले समितिको आर्थिक पारदर्शिताका कुरा उठाएपछि एकमहिना भित्र आर्थिक पारदर्शिता कायम गर्दै नयाँ समिति गठन गर्ने सहमति भएको राखी उपसमितिका अध्यक्ष चेतवहादुर रानाभाटले जानकारी दिएका छन् । तर चार महिना वितिसक्दा समेत अध्यक्ष जिसीले उपभोक्ता समिति गठन गर्ने र वर्षौदेखिको हिसाव किताव पारदर्शी गर्ने तर्फ ध्यान नदिएको उनले वताए ।
पटक पटक अनुरोध गर्दा समेत २०५८ सालदेखि अध्यक्ष रहँदै आएका जिसीले सो समितिको आम्दानी र खर्च सार्वजनिक गर्न अटेरी गर्दै आएको उपभोक्ताहरुको आरोप छ ।
तर उपभोक्ता समितिका अध्यक्ष जिसीले आफूले सो संस्थावाट केही नलिएकोले हिसाव किताव सार्वजनिक गर्न नपर्ने वताए । उनले आफूले अहिले स्थानीय पुरुषोत्तम ढुंगानालाई समितिको अध्यक्षको हैसियतमा काम गर्ने गरी खटाएको जानकारी दिएका छन् ।
विना भेला र विधान विपरित अध्यक्ष जिसीले अर्कै व्यक्तिलाई जिम्मा लगाएको भनेर उम्किन खोजेपछि स्थानीय उपभोक्ताहरु यतिवेला आक्रोशित भएका छन् । उनीहरुले अध्यक्ष जिसीले तत्काल हिसाव किताव सार्वजनिक गर्नै पर्ने वताएका छन् । यता अध्यक्ष जिसीले सो समिति पुस माघको पारिलो मौषम पारेर गठन गर्ने वताए ।
क्षेत्रीय सुपरीवेक्षण कार्यालय पोखराले पनि थाक खानेपानी आयोजनाको नयाँ समिति गठनवारे पटक पटक ताकेता गरेपनि स्वयं पुरानो समिति जागरुक नभएको वताएको छ । खानेपानी जस्तो संवेदनशील कुरामा राजनीति नगरौं भनेर पटक पटक ताकेता गर्दा समेत पुरानो समितिले अहिले सम्म वेवास्ता गरेको इन्जिनियर सुमन थापाले जानकारी दिएकी छन् ।
उनले नयाँ समिति गठन नभएसम्म कुनै पनि अन्य कार्य सो आयोजनामा अगाडि वढाउन नसकिने वताईन् । प्रति सेकेण्ड एक लिटर पानी झर्ने गरी निर्माण गरिएको सो आयोजनामा अहिले प्रतिमिनेट पाँच लिटर मात्रै पानी झर्ने गरेको छ ।
यता थाक खानेपानी आयोजनाका जानकार नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति एवं सभासद यज्ञवहादुर थापाले थाकखाने पानी आयोजनाको उपभोक्ता समिति ज्यादै पुरानो भएको र पुरानो समितिले हिसाव किताव पनि सार्वजनिक नगरेकोले तत्काल हिसाव किताव सार्वजनिक गरी नयाँ समिति गठन गरिनु पर्ने वताए ।
उनले प्रत्येक गाविस र वडावाट प्रतिनिधी छनौट गरी मूल समिति निर्माण गर्न अव ढिला भईसकेको वताए ।
आश्रित गाविसमा स्थानीय खानेपानी सरसफाई उपभोक्ता समिति अध्यक्ष सहितका पदाधिकारी गठन गरी प्रत्येक वडावाट ५ जना प्रतिनिधीको दरले २५ सदस्यीय मूल समिति गठन गरिनु पर्ने विधानमा प्रावधान रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij