प्रकाशित मिति : शुक्रबार, मंसिर १०, २०७३
परासी । लामो समयदेखि नवलपरासीमा हुँदै आएको विद्युत चुहावट अझैपनि घट्न सकेको छैन ।
लुज तार र विद्युत चोरीले विद्युत चुहावट अहिले १३.६ मेगवाट पुगेको छ । डाँडावारी यता परासी, बर्दघाट, महेसपुर त्रिवणी लगायतका क्षेत्रहरुमा ५ देखि ६ मेगावाट प्राविधिक र अरु अप्राविधि गरि कुल १३.६ मेगावाट विद्युत चुहावट हुदै आएको नेपाल विद्युत प्राधिकरण शाखा परासीले बताएको छ ।
प्राविधिक चुहावटमा लुज तार, छोटो तार र कम क्षमतावानका ट्रान्सफर्मर, मिटरहरु पर्ने गर्दछन् भने घर तथा उद्योग कलकारखानामा जडित मिटरबाट विद्युत चोरी, पोलमा हुकिङ्ग र पोलपोलमा बल्ब झुण्डिाएर हुने विद्युत चोरी जस्ता विद्युत चुहावट अप्राविधिक चुहावटमा पर्ने विद्युत कार्यालयका ईन्जिनियर अर्जुन पोख्रेलले बताए ।
खास गरि जिल्लाको सीमावर्ती क्षेत्रहरुमा हुकिङ्ग गरि बढि विद्युत चोरी हुने गरेको छ भने जिल्लाको राजमार्ग क्षेत्रमा मिटरहरुबाट बढि विद्युत चोरी हुने गरेको पाइएको छ । सीमावर्ती क्षेत्र पाल्ही, गेरमी, सनई, हरपुर, रमपुरवा, भुजहवा, बैदौली, गुठीसूर्यपुरा, गुठीपर्साैनी र त्रिवेणी लगायतको सीमावर्ती क्षेत्रमा बढी हुकिङ्ग र पोलपोलमा बल्ब झुण्डाएर विद्युत चोरी हुँदै आएको कार्यालयका ईन्जिनियर पोख्रेलले जानकारी दिए ।
विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७३/०७४ को साउनदेखि कार्तिक मसान्तसम्म विभिन्न क्षेत्रको विद्युत कटौतीबाट करिब १ करोड ४० हजार विद्युत महसुल राजस्व असुल गरेको छ । प्राधिकरणले ५ सय ४६ जनाको पुर्न विद्युत जडानबाट जरिवाना र बक्यौता गरि सो राजस्व असुल गरेको बताएको छ । यस ७ महिनाको अवधि ४ सय ७९ जनाको लाइन काटिएको थियो । ५ हजारभन्दा बढि बक्यौता राखी विद्युत प्रयोग गर्दै आएका ति व्यक्तिहरुको विद्युत कटौती गरि सो रकम असुल गर्न सफल भइएको विद्युत कार्यालयले बताउदै केहि समय अगाडी ११ जनालाई विद्युत चोरी गर्दा पक्राउ समेत गरिएको जानकारी दिएको छ ।
कार्यालयका अनुसार डाँडावारीका सम्पूर्ण क्षेत्रमा विद्युत आपूर्ति गर्ने जिम्मा परासी विद्युत वितरण केन्द्रको छ । परासी, बर्दघाट, त्रिवेणी, महेसपुर र खैरेनी लगायतका क्षेत्रमा गरि हाल २३.५ मेगावाट विद्युत खपत हुदै आएको छ । परासी वितरण केन्द्रले बर्दघाटबाट, १७.५, गण्डक पावर हाउसबाट ५ र रुपन्देहिको शितलनगरबाट १ मेगावाट गरि कुल २३.५ मेगवाट विद्युत संकलन गरि यस क्षेत्रमा आपुर्ति गर्ने गरेको कार्यालयले बताएको छ ।
कार्यालयका अनुसार यस क्षेत्रलाई लोडसेडिङ्ग मुक्त बनाउन ठुलाठुला उद्योगलाई विद्युत आपूर्ति बाहेक ३० मेगावाट विद्युतको आवश्यता रहेको बताएको छ ।
जिल्लामा यसरी व्यापक रुपमा भैरहेको प्राविधिक तथा अप्राविधिक विद्युत चुहावट नियन्त्रण भए यस क्षेत्रलाई लोडसेडिङ्ग मुक्त क्षेत्र घोष्णा गर्न सकिने कार्यालयले जनाएको छ ।
त्यसैगरि बढ्दो विद्युत चुहावट र विद्युत चोरी नियन्त्रण गर्न विद्युत कार्यालयले विभिन्न विधि अपनाएको छ । चुहावट नियन्त्रणका लागि ठाउँठाउँमा रहेको लुज कनेक्शनलाई टाईट गर्ने, नियमित अनुगमन, रातीराती गस्ती, दिउसो छडके निगरानी, र सुचनाको आधारमा चोरी स्थलममा पुगी चोर समेत समात्ने गरेको कार्यालयले जनाएको छ साथै समातिएको व्यक्तिलाई क्षतिपुर्ति र जरिवाना समेत भराउन कार्यालयले अभियान थालेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij